‘जोखिममा दुई अर्ब लगानी’

५ औं राष्ट्रिय पोल्ट्री दिवस मनाउँदै बाँके र बर्दियाका कुखुरा व्यवसायी

सिराज खान


पहिलो पटक बाँके– बर्दियाका व्यवसायीहरुले राष्ट्रिय पोल्ट्री दिवस औपचारिक रुपले मनाउने भएका छन् । ५ औं राष्ट्रिय पोल्ट्री दिवसको सन्दर्भ पारेर सोमवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि बाँके र बर्दियाका व्यवसायीहरुले संगठित रुपमा अगाडी बढ्ने घोषणा गरेका हुन् । ‘त्यसको सुरुवात पोल्ट्री दिवस भव्य रुपमा मनाएर गर्दैछौं,’ कुखुरा पालक व्यवसायी संघको नेतृत्वले भनेको छ । आज मंगलवार दुबै जिल्लाका व्यवसायीहरु पोल्ट्री दिवस मनाउँदैछन् ।

 
पत्रकारहरुसँग पहिलो पटक औपचारिक रुपमा प्रस्तुत भएका उनीहरुले कखुरा व्यवसायीको समस्यालाई तत्काल समाधान गर्न सरकारसंग आग्रह गर्दै सरकारी बेवास्ता र उदासिनताका कारण बाँके र बर्दियाका १ हजार ४ सय बढी कुखुरा पालक व्यवसायीको दुई अर्ब भन्दा बढी लगानी जोखिममा परेको गुनासो गरे ।

 
‘व्यवसायीहरुको समस्यामा ध्यान नदिने हो भने दुई अर्ब बढीको लगानी डुब्ने अवस्था देखिएको छ,’ उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै भने । कुखुरा पालक व्यावसायी संघ बाँकेका अध्यक्ष लाल बहादुर खत्रीले सरकारले कुखुराको लागत मूल्य र मासुको मूल्य निर्धारण नगर्दा समस्या आएको बताए । ‘भारतबाट निरन्तर भैरहेको अवैध आयातलाई रोक्न नसक्दा झनै गम्भीर समस्या देखिएको छ,’ अध्यक्ष खत्रीले पत्रकारहरुसँग भने, ‘सरकारी तवरबाट लागत मूल्य निर्धारण गर्नुका साथै नेपालकै अन्य जिल्लाबाट भैरहेको कुखुराको आयातलाई पनि नियन्त्रण गर्नु पर्छ ।’ अध्यक्ष खत्रीले त्यसो नगरिएसम्म बाँकेको व्यवसाय फस्टाउन नसक्ने बताए ।

 
बाँकेमा कुखुरा पालन गर्दा नेपालकै चितवन र दांग लगायतका जिल्लाभन्दा लागत बढी लाग्ने भएकोले व्यवसायीले बढी मूल्यमा विक्री गर्नु पर्ने बाध्यता रहेकोले खत्रीको भनाइ छ । ‘भारतबाट मात्र होइन, अन्य जिल्लाबाट आयात गरिएका कुखुराको बिक्री पनि जिल्लाको उत्पादकत्वमा बढी छ,’ मौषमका आधारमा लागत र लागतका आधारमा मुल्य फरक पर्ने दावी कृषकको छ ।

 
कुखुरा पालक व्यवसायी किसान संघ बर्दियाका अध्यक्ष महेश कुमार शाहले भारतबाट कुखुराको आयातलाई नियन्त्रण गर्ने हो भने बर्दियामा उत्पादन भएको कुखुरा जिल्लामै खपत हुने बताए । भारतबाट हुने गरेको अवैध आयात पहिलेको तुलनामा घट्दै गएपनि पूर्णरुपमा रोक्न नसक्दा जिल्लाका उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ । ‘नेपालकै अन्य जिल्लाबाट भित्रिने कुखुराहरुको आयातको मापदण्ड बनाइनुपर्छ,’ बर्दिया अध्यक्ष शाहले पत्रकारसँग भने ।

 
बाँके र बर्दियामा कुखुरापालनमा लागत बढी लाग्ने, कुखुराको मृत्युदर समेत अन्य जिल्लाको तुलनामा धेरै रहेको उनीहरुको तर्क छ । भारतबाट अवैध रुपमा ल्याइएका कुखुरा र नेपालकै अन्य जिल्लाबाट भित्र्याइएका कुखुरासंग मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको अध्यक्ष शाहले प्रष्ट पारे ।

 
बाँकेका वरिष्ठ कुखुरा व्यवसायी समेत रहेका पोल्ट्री दिवसका संयोजक यज्ञ प्रसाद सुवेदीले पत्रकार सम्मेलनमा विभिन्न कारणले डुब्न लागेको यो व्यवसायलाई माथि उकास्नका लागि सरकारले तत्काल पहल गर्नु पर्ने माग गरे । उनले अन्य किसानजस्तै कुखुरा पालक किसानलाई पनि विद्युत लगायत सबै क्षेत्रमा सहुलियत प्रदान गर्नु पर्ने प्रस्ताव अघि सारे । कुखुरा पालक किसान, दाना व्यवसायी र मासु व्यावसायी सबैलाई एकै छाता मुनि ल्याएर कुखुरापालन व्यवसायलाई अगाडी बढाउने प्रयत्न आफुहरुले गरिरहेको सुवेदीले जानकारी दिए ।

 
बाँकेमा कुखुराको मासुको माग अनुसार अझै पनि उत्पादन गर्न नसकिएको कुखुरा व्यवसायी इश्वर सुवेदीले बताए । ‘भारतबाट अवैध रुपमा आउने कुखुराले समग्र व्यवसायलाई धरापमा पारेको छ,’ सुवेदीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया