शनिबार नेपालगन्जबाट सिधै भारतको दिल्लीका लागि बस सेवा सुरु भएको छ । भेरी यातायात प्रा.लि.ले सञ्चालनमा ल्याएको बस सेवाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।
बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यात्रुहरुको सुरक्षित यात्रा सुनिश्चित गर्न व्यवसायीलाई निर्देशन दिएका छन् । उनले नेपाल तर्फ यात्रुहरुको सुरक्षाको ग्यारेन्टी गर्दै भारत तर्फ भारतले यात्रुहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने बताए ।
कार्यक्रममा नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले बस सेवाले दिल्लीजाने यात्रुहरुलाई सहज हुने धारणा राखे । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भारतमा नेपाली यात्रु ठगिने क्रम रोकिने विश्वास व्यक्त गरे ।
उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल तथा भारतका सञ्चारकर्मी, नेपालका लागि भारतीय राजदुतावासका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।