अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले बिहीबार घुस सहित जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले सेवाग्राहीसँग घुस माग्ने बर्दिया राजापुर नगरपालिकाका–१० का वडा सदस्य उत्तम चौधरीलाई नियन्त्रणमा लिएको हो ।
वडा सदस्य चौधरीले क्रसर उद्योगको दर्ता सिफारिस उपलब्ध गराउन सिफारिस तथा सहयोग गर्ने बहानामा २ लाख ५० हजार रुपैयाँ सेवाग्राही सँग माग गरेका थिए । उनलाई काठियाघाटको एउटा होटलबाट घुस लिइ रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । अख्तियारले चौधरीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको सम्पर्क कार्यालयका शाखा अधिकृत नारायण दत्त उपाध्यायले जानकारी दिए ।