उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यथानले भने, ‘समृद्ध नेपालमा साथ’

नेपालसँगको सडक कनेक्टिभिटिका लागि मात्रै १४ सय करोड बजेट विनियोजन

लखनउ (भारत)/झलक गैरे

नेपालसँग जोडिएको छिमेकी राष्ट्र भारतको सबैभन्दा ठूलो प्रदेश, उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले समृद्ध नेपालका लागि आफ्नो प्रदेश सरकारले साथ दिने प्रतिबद्धता जनाएका छन् । भारत सरकारको ‘सबका साथ, सबका विकास’ अवधारणा अन्तर्गत नै उत्तर प्रदेश सरकारले नेपालसँग जोडिएको सीमा क्षेत्रमा विशेष ध्यान दिएको जानकारी गराए ।
नेपाली निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपाल उद्योग वाणिज्य महासंघको औपचारिक प्रतिनिधिमण्डलसँग पहिलो पटक सोमबार प्रदेश राजधानी लखनउ स्थित मुख्यमन्त्री भवनमा योगी आदित्यनाथले निकै महत्वका साथ भने, ‘छिमेकी कमजोर हुँदा त्यसको दुष्प्रभावबाट हामी जोगिन सक्दैनौं ।’ मुख्यमन्त्री योगीले समृद्ध नेपालको पक्षमा केन्द्र सरकार नै रहेको तर्क गर्दै भने, ‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदी पटकपटक नेपाल जानुको अर्थ नै छिमेकी राष्ट्रप्रतिको प्रेम, सम्मान र सकारात्मक दृष्टिकोण हो ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा उत्तर प्रदेशसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी थिए । उनीहरुसँग झण्डै डेढ घण्टा खुलेर सवाल, जवाफ गरेका मुख्यमन्त्री योगी आदित्यनाथले भने, ‘एक अर्काको प्रगति, समृद्धि र खुशियालीमा हामी सहयोगी बनौं ।’
सरकारले भन्दा मुलुकको समृद्धिमा निजी क्षेत्रले अझ बढी पहल लिन सक्ने उत्तर प्रदेशका मुख्यमन्त्री योगीको ठम्याइ थियो । ‘सरकारले नीति बनाइदिने हो’, उनले निजी क्षेत्रका प्रतिनिधिहरुसँग भने, ‘त्यस नीतिका आधारमा चल्ने निजी क्षेत्रलाई काम गर्ने वातावरण र सुरक्षा व्यवस्था सरकारले मिलाइ दिने हो ।’ मुख्यमन्त्री योगीले खाद्य उत्पादनमा भारतकै एक नम्बर प्रदेशका रुपमा रहेको उत्तर प्रदेशलाई लगानीका दृष्टिले पनि मुलुककै पहिलो बनाउन लागि परेको सुनाए ।
‘हामी पनि प्रदेशहरु बीच पहिलो नम्बरमा आउने दौडमा प्रतिस्पर्धात्मक ढंगले अगाडि बढेका छौं’, आफ्नो डेढ बर्षे कार्यकालको समिक्षा गर्दै मुख्यमन्त्री योगीले नेपालसँग सहकार्यमा अगाडि बढ्न सक्ने तमाम परियोजना आफुसँग रहेको खुलासा गरे ।
प्रदेशभित्र ९ वटा नयाँ विमानस्थल बनाइरहेका मुख्यमन्त्री य ोगीले त्यसमध्ये एउटा कुशी नगरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागेका छन् । ‘उत्तरप्रदेशलाई सडक, हवाई र रेलले कनेक्टिभिटीमा बृहत योजना बनाएका छौं’, मुख्यमन्त्री योगीले नेपालसँग सीमाना जोडिएका सडकहरुको स्तरोन्नतीका लागि मात्रै १ हजार ४ सय करोड बजेट विनियोजन गरी पठाइसकेको जानकारी दिए । ‘त्यसको प्रत्यक्ष फाइदा सीमावर्ती नेपालीहरुले लिन सक्छन्’, उनले भने, ‘नेपाल सरकारले तिनै सडकसँग आफ्नो कनेक्टिभिटि जोडेर भारतीय पर्यटकहरुलाई सहज रुपमा आफ्नो देश बोलाउन सक्छन् ।’
नेपालको बारेमा निकै बेर सकारात्मक र उत्साहजनक प्रतिक्रिया दिएका मुख्यमन्त्री योगीले नेपालमा ठूलो सम्भावना देखेको बताए । ‘दुनियाँमा सबैभन्दा बढी पर्यटक जाने मुलुक स्वीटजरल्याण्ड भन्दा नेपालमा राम्रो पर्यटकीय सम्भावना छ’, मुख्यमन्त्री योगीले निजी क्षेत्रका प्रतिनिधिहरुलाई उत्साहित बनाउँदै भने, ‘आवश्यक पूर्वाधारको निर्माण गरेर अगाडि बढ्न सके भारतीय पर्यटकबाट नेपाल स्वीटजरल्याण्ड भन्दा अगाडि बढ्न सक्छ ।’ उनले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने धारणा राख्दै भने, ‘नेपाल–भारत एक परम्परा एक सांस्कृतिक विरासतमा चल्ने मुलुक भएकाले यो सबै सम्भव छ ।’
निजी क्षेत्रबाट व्यक्त कतिपय धारणालाई प्रदेश सरकारबाटै सम्बोधनको प्रतिबद्धता व्यक्त गरेका मुख्यमन्त्री योगीले कैलाश मानसरोवर जाने भारतीय श्रद्धालुहरुका लागि नेपालगन्ज ‘गेटवे’ बन्न सक्ने कुरामा सहमति जनाए । त्यसका लागि मुख्यमन्त्री योगी नेपालगन्ज आउने प्रतिबद्धता पनि जनाएका छन् ।
प्रतिनिधिमण्डलको नेतृत्व गरेर लखनउ पुगेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मुलुक राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले भारत सरकारको सहयोग अपेक्षा गरिन् । खासगरी लखनउ–नेपालगन्ज हुँदै कैलाशमान सरोवरका लागि उत्तर प्रदेश सरकारले नेपालगन्जलाई गेटवेका रुपमा विकास गर्न आवश्यक रहेको जोड राणाको थियो । ‘यस क्षेत्रमा आयुर्वेदिक औषधी उद्योगका लागि लगानीमा प्रदेश सरकारबाट सहयोग सम्भव छ’, राणाले मुख्यमन्त्री योगीसँग अपेक्षा गर्दै भनिन् । राणाले जडिबुटी र पर्यटनसँग जोेडिएर प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारतीय लगानीको वातावरण बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् ।
सीमावर्ती जिल्लासँग जोडिएका उद्योग, वाणिज्य संघका प्रतिनिधिहरुले सीमा नाकासँग जोडिएका समस्याहरु सुनाएका थिए । उनीहरुले प्रदेश सरकारको कनेक्टिभिटि योजनामा नेपालका सीमावर्ती जिल्लालाई पनि प्राथमिकतामा राख्न ध्यानाकर्षण गराए । ‘बागेश्वरी मन्दिरको ऐतिहासिकतालाई उत्तर प्रदेशका नागरिक माझ पुर्याइदिनु पर्यो’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले त्यसो भनिरहँदा मुख्यमन्त्री योगीले प्रचारप्रसारमा आउन आमन्त्रण गरे ।
अध्यक्ष राणा नेतृत्वको प्रतिनिधि मण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, होटल एशोसिएसन नेपालका केन्द्रीय सदस्य समेत रहेका प्रदेश ५ का अध्यक्ष अशित समशेर राणा, महासंघ प्रदेश ७ का अध्यक्ष शंकर बोगटी, सिद्धार्थनगर चेम्बरका अध्यक्ष कुल प्रसाद न्यौपाने, तौलिहवा चेम्बरका अध्यक्ष गयादिन कुर्मीलगायत सहभागी थिए ।

‘छिट्टै दुवैदेशका सीमावर्ती जिल्लाका च्याम्बरहरु बीच संयुक्त सम्मेलन पनि गर्दैछौं’, पूर्वमा त्यसखालको कार्यक्रम गरिसकेको जानकारी दिंदै महासंघ अध्यक्ष राणाले भनिन् ।

 

प्रतिक्रिया

प्रतिक्रिया