बाँके : हुलाकी सडक धमाधम कालोपत्रे

पुष्पलालचोक–बसपार्क सडक यसै महिनाभित्र कालोपत्रे गरिने
सवारीसाधानको चाप हुने गरेको पुष्पलालचोक–बसपार्क सडकखण्ड यसै महिना कालोपत्रे गरिने भएको छ । गत साता आइतबारदेखि निर्माण कम्पनी गणपति गु्रप अफ कन्स्ट्रक्सन प्रा.लि.ले पुरैनीबाट बाँकेको हुलाकी सडकखण्ड कालोपत्रे सुरु गरेको हो ।

 
गणपतिका सहायक व्यवस्थापक इन्द्र बहादुर केसीले हुलाकी सडकको कालोपत्रे निरन्तर रुपमा अघि बढेकाले राप्तीदेखि पुष्पलाल चोकसम्म यसै महिना कालोपत्रे हुन सक्ने बताएका छन् । ‘मौसमले साथ दियो भने काम नरोकिई अगाडि बढ्छ’, उनले भने ।

 
पुष्पलाल चोक–बसपार्क क्षेत्रमा स्थानीय घरधनीले सडकमा निर्माण सामाग्री राखेकाले कालोपत्रेका लागि त्यसलाई हटाउन अनुरोध गरिसकेको सहायक व्यवस्थापक केसीले जानकारी दिए । नाला निर्माण कार्य सकिएको छ । सडक छेउमा रेलिङ्ग पनि निर्माण कम्पनीले बनाइसकेको छ । ‘बसपार्क क्षेत्र व्यस्त रहेकाले त्यसको व्यवस्थापन गरेर काम अघि बढाउने छौं’, सहायक व्यवस्थापक केसीले भने ।

 
आइतबारसम्म पुरैनादेखि डुडुवा–४ सम्म कालोपत्रको काम भैरहेको निर्माण कम्पनी गणपतिले जानकारी दिएको छ । ‘दुई किलोमिटर कालोपत्रे अन्तिम चरणमा छ’, व्यवस्थापक केसीले भने । मुआब्जा र विद्युत पोलका कारण अवरोध रहेका ठाउँमा हाल छाडेर अन्य काम जारी राख्ने गणपतिले जानकार दिएको छ ।

 
नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर रहेको हुलाकी सडकको बाँके खण्ड निर्माणका लागि २०७३ फाल्गुन ४ गते सम्झौता भई काम अगाडि बढेको थियो । ३० महिनामा उक्त सडक खण्ड पूरा गर्ने गरी निर्माण सम्झौता भएको हो ।

 
हुलाकी सडक निर्माण सम्पन्न गर्न समय सीमा अब आठ महिना बाँकी छ । तर, कतिपय ठाउँमा सडक क्षेत्रका लगत कट्टा, मुआब्जा वितरण र विद्युत पोल सार्ने काम भएको छैन । यसले हुलाकी सडकलाई समयमै सक्न समस्या हुन सक्छ । ‘समयमै काम सक्ने गरी कम्पनीले काम गरिरहेको छ’, सहायक व्यवस्थापक केसीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया