नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं साधारणसभा
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक उत्पादनसँग जोडिंदै गएको बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं साधारणसभामा बोल्दै अर्थमन्त्री डा. खतिवडाले पछिल्ला तथ्यांकले नेपालमा उत्पादनमूलक उद्योग बढ्दै गएको पाइएको बताएका हुन् । उनले उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात बढेको तथ्य जानकारी दिंदै भने, ‘मुलुकको आर्थिक वृद्धिदर सन्तोषजनक छ ।’
नेपालगन्जको भविष्य प्रति चिन्तित नहुन आग्रह गर्दै अर्थमन्त्री खतिवडाले नेपालगन्जको विकास दर औसत भन्दा बढी पाएको बताए । नेपालगन्ज प्रदेश ५ को राजधानी नबन्ने देखिएको प्रति टिप्पणी गर्दै अर्थमन्त्री खतिवडाले कर्णाली प्रदेशको प्रवेशद्वार र आर्थिक गतिविधिको केन्द्र रहेकाले नेपालगन्ज आर्थिक रुपमा अगाडि बढ्दै जाने धारणा राखे । नेपालगन्ज प्रदेश ५ को राजधानी बन्न नसक्ने र औद्योगिक नगरका रुपमा पनि स्थापित हुन नसक्ने हो भने कर्णाली प्रदेशमा जाने भन्ने व्यवसायीहरुको तर्कमा अर्थमन्त्री खतिवडाले त्यो नेपालगन्जबासी, यहाँका राजनीतिक दल र उद्योगी, व्यवसायीहरुको निर्णय हुने बताए ।
नेपालगन्ज जुन प्रदेशमा रहेपनि यसको विकास नरोकिने धारणा राख्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘यो पश्चिम नेपालको व्यवसायिक केन्द्र हो ।’ ‘पश्चिम नेपालका जुनसुकै वस्तु निकासी गर्ने ट्रान्जिट प्वाइन्ट, प्रशोधन गर्ने स्थल बाँके हो,’, अर्थमन्त्री खतिवडाले भने, ‘कुनै पनि प्रदेशको विकासका लागि अन्तर्राष्ट्रिय नाकामा जोड्नु पर्छ र प्रदेशका लागि त्यो स्थान भनेको बाँके नै हो ।’
अर्थमख्त्री डा. खतिवडाले बाँकेमा बन्न लागेको सुख्खा बन्दरगाहले छिट्टै गति लिने आश्वस्त पारे । ‘सुख्खा बन्दरगाह बिरगन्जमा बनेको छ, विराटनगरमा बन्ने क्रममा छ र नेपालगन्जमा पनि बन्छ’, उनले भने । नेपालगन्ज–दिल्ली उडानका लागि सरकारले भारतसँग छलफल गरिरहेको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए । ‘भारतसँग सहमति कायम गरिसकेका छौं, तर त्यसलाई सम्झौताका रुपमा कार्यान्वयन गर्न सकिएको छैन’, उनले सरकार त्यसका लागि प्रयासरत रहेको बताउँदै भने ।
अर्थमन्त्री डा. खतिवडाले औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने नीति रहेकाले उद्योगी, व्यवसायीका समस्याहरु क्रमशः हल हुँदै जाने बताएका थिए । उनले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने बताए । भारतीय ठूला दरका नोट प्रतिबन्धन जनताको धनको सुरक्षाको लागि गर्नुपरेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भारतले नेपालमा ठूला नोट प्रयोगका लागि अनुमति दिए सुचारु गर्न सकिने बताए । अर्थमन्त्री डा. खतिवडाले दोहोरो, तेहोरो कर अन्त्यका लागि सरकार योजना अनुसार अघि बढेको बताए । ‘दोहोरो कर अन्त्यका लागि मन्त्रीपरिषद्ले कानुन नै बनाएर अघि बढ्ने निर्णय गरिसकेको छ’, उनले भने ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले पहुँचका आधारमा विकास हुने गरेको प्रवृत्ति औंल्याउँदै जिल्लाको राजनीतिक पहुँच, दबाब कम भएमा विकासमा पछि पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘बाँके पश्चिमको प्रवेशद्वार हो तर यसको बर्चश्व कायम रहन्छ कि रहँदैन भन्ने बाँकेबासीको चिन्ता हो’, नेता गहतराजले भने । उनले बाँकेमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै पर्यटनलाई लक्षित गर्दै जिल्लामा प्रशस्त भौतिक पूर्वाधारहरु निर्माण भैरहेको बताए । प्रतिनिधिसभा सदस्य गहतराजले सुख्खा बन्दरगाहजस्तै नौबस्तामा स्थापित हुन लागेको औद्योगिक क्षेत्र पनि सुस्त नहोस् भन्नका लागि आफुले निरन्तरत पहल गरिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले देश समृद्धिको बाटोमा अघि बढिरहेकाले उद्योगी, व्यवसायीलाई धैर्य गर्न आग्रह गरिन् । ‘सरकारबाट उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, रोजगारी सिर्जना लगायतका काम भैरहेका छन्’, अध्यक्ष राणाले भनिन्, ‘निजी क्षेत्रसँग पनि सहकार्य गरिरहेकाले त्यसको प्रतिफल पक्कै पनि आउँछ ।’
अध्यक्ष राणाले अर्थमन्त्रीले ब्याज घटाउन गरेको पहललाई सकारात्मक रुपमा लिएको बताइन् । उनले बैंकहरुको मुद्दती, निक्षेप तथा बचतको ब्याज दर घटाउन पहल सरकारले गरेपनि ऋणको ब्याज नघटाएको भन्दै अनुगमन गर्न आग्रह गरिन् । अध्यक्ष राणाले कर प्रणालीलाई एकीकृत गर्नुपर्ने धारणा राखिन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाद प्रसाईले बुटवल प्रदेश ५ को राजधानी बनाइए त्यो बाँकेका लागि अपायक पर्ने धारणा राखे । ‘४÷५ घण्टा लगाएर राजधानी धाउनु पर्ने अवस्था बाँकेले स्वीकार्ने छैन’, उनले बाँकेलाई वेवास्ता गरिए कर्णाली प्रदेश तर्फ लाग्नुपर्ने धारणा राख्दै भने ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले अर्थमन्त्री डा. खतिवडालाई २१ बुंदै ज्ञापनपत्र बुझाउँदै बहुउद्देश्यीय सभा गृह निर्माण, सुख्खा बन्दरगाहको काम दु्रत गतिमा अगाडि बढ्नुपर्ने, नेपालगन्जलाई औद्योगिक महानगरका रुपमा विकास गरिनुपर्ने माग गरे । भन्सार मूल्यांकनमा भएको मनपरीले व्यवसायीहरु समस्यामा परेको भन्दै त्यसको उचित व्यवस्थापन गर्न अध्यक्ष वैश्यले माग गरेका थिए ।
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसन बाँकेका अध्यक्ष चिरञ्जीवि ओलीले अण्डर बिलिङ्गको समस्या समाधान गर्न सरकार उदासिन रहेको आरोप लगाए । उनले हुण्डिको कारोबार नरोकिंदासम्म अण्डर बिलिङ्गको समस्या भैरहने भन्दै समाधानका लागि आग्रह गरे । अध्यक्ष ओलीले कर प्रशासनबाट व्यवसायीहरुलाई आतंकित गर्ने काम बन्द गरिनुपर्ने धारणा राख्दै इलेक्ट्रोनिक्स व्यवसाय अनिवार्य भ्याटमा जानुपर्ने व्यवस्थाका कारण साना व्यवसायी मर्कामा परेको बताए । राज्यले कर लिने तर व्यवसायिक सुरक्षाका लागि नसोच्ने गरेकोले व्यवसायी चिन्तित रहेको ओलीको भनाइ थियो ।
संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले कार्यक्रममा स्वागत गर्दै कर र बैंकको ब्याजमा मनपरी गरिंदा व्यवसायीहरुले काम गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको बताए । उनले बाँकले औद्योगिक नगरी बनाउने हो भने सरकारले उद्योग स्थापनाका लागि उत्प्रेरित गर्न कर छुटको व्यवस्था गर्नुपर्ने बताए । उनले दुई ठूलो देशहरु बीच रहेको नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सरकारले सहुलियतको व्यवस्था गर्नुपर्ने माग गरे ।
संघका महासचिव अजय टण्डले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा बाँकेका उत्कृष्ट उद्योग, उद्यमी लगायतलाई सम्मान गरिएको थियो । आर्थिक क्षेत्रमा टेवा पुग्ने गरी समाचार सम्प्रेषण गरेकामा संघले दैनिक नेपालगन्जलाई पनि सम्मान गरेको थियो । दैनिक नेपालगन्जले महानगरमार्फत साप्ताहिक विशेष आर्थिक पत्रकारितालाई प्राथमिकतामा राखेको छ । सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको साधारणसभामा उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको थियो । साधारणसभा समापनकै क्रममा प्रमुख अतिथि, अर्थमन्त्री डा. खतिवडा, विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायतले भारतीय दुतावासले सहयोग स्वरुप प्रदान गरेको सुविधा सम्पन्न एम्बुलेन्स संघका अध्यक्ष नन्दलाल वैश्य, उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, दुर्गा भण्डारी लगायतलाई हस्तान्तरण गरेका थिए ।
‘समानान्तर सदस्यता खारेज’
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज उद्योग वाणिज्य संघको २७औं बार्षिक साधारणसभाले निजी क्षेत्रको प्रतिनिधिमूलक आधिकारिक संस्था आफु भएको भन्दै समानान्तर संस्थाहरुको अस्तित्व अस्वीकार गर्ने नीतिगत बाटो अख्तियार गरेको छ ।
साधारणसभाले नेपाल च्याम्बर अफ कमर्शलाई समानान्तर भन्दै त्यसमा आबद्ध हुनेलाई संघमा स्थान नदिने नीति अख्तियार गरेको हो । ‘यसअघिको सरकारले च्याम्बर अफ कसर्शलाई समानान्तर हैसियत दिएर फुटाउ र राज गरको नीति अघि सारेकाले नेपालगन्ज उद्योग वाणिज्य संघ त्यस विरुद्ध एक ढिक्का भएको छ’, संघका अध्यक्ष नन्दलाल वैश्यले साधारणसभाको निर्णयबारे भने । अध्यक्ष वैश्यले संघमा आबद्धहरुलाई समानान्तर प्रकृतिका अन्य संघ, संस्थामा नजोडिन आव्हान पनि गरेको बताए ।
संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले केन्द्रीय रुपमै समानान्तर संस्थामा सदस्यता स्वीकार गर्ने नीति नरहेको प्रष्ट पारे । ‘केन्द्रीय नीतिलाई नेपालगन्ज उद्योग वाणिज्य संघले अक्षरश पालना गरेकोमा खुशी लागेको छ’, केन्द्रीय सदस्य श्रेष्ठले साधारणसभा निर्णय स्वागत गर्दै भने ।
साधारणसभाको बन्द सत्रले महासचिव अजय कुमार टण्डनको सांगठनिक र कोषाध्यक्ष आदेश कुमार अग्रवालको झण्डै २ करोड बराबरको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभाले एक दशकदेखि संघको भौतिक पूर्वाधारका लागि सदस्यहरुबाट कारोबार वापत संकलन गर्दै आएको १० पैसा असुली रोक्ने निर्णय पनि गरेको छ । ‘भवन निर्माणका लागि सदस्यहरुको योगदान वापत अच्युत प्रसाई अध्यक्ष हुँदाखेरी गरिएको निर्णय अहिलेसम्म कायमै थियो’, अध्यक्ष वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘फेरि कुनै दिन भौतिक पूर्वाधारका लागि आवश्यक ठानिए नयाँ निर्णय गरौंला ।’
संघले गतबर्षको संशोधित विधानलाई अन्तिम रुप दिंदै शनिबारको साधारणसभाबाट पारित गरेको अध्यक्ष वैश्यले जानकारी दिए । त्यस्तै, व्यवसायिक विश्रामका नाममा हुने गरिएका बन्द आव्हानहरुलाई पनि तत्कालका लागि स्थगित गरिएको छ । ‘सबै वस्तुगत संस्थाहरुसँग बसेर एउटा दिन निश्चित गरेपछि मात्रै व्यवसायिक विश्रामबारे निर्णय गरिनेछ’, अध्यक्ष वैश्यले भने ।