९ बर्ष अघि शिलान्यास भएको पौडी पोखरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण यसैबर्ष सञ्चालनमा आउने निश्चित भएको हो
नेपालको विकास निर्माणको गति कसरी अगाडि बढिरहेको छ भन्ने कुराको एउटा गतिलो उदाहरण नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीलाई लिन सकिन्छ ।
मंगलबार पौडी पोखरीको प्याराफिट ढलान चलिरहँदा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई दैनिक नेपालगन्जले सोध्यो, अब त पक्कै सञ्चालनमा आउँछ नि ! ‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडी प्रतिस्पर्धा यही पोखरीमा हुन्छ’, अध्यक्ष ओलीले ढुक्कसँग भने, ‘अबको केही महिनामै पौडी पोखरी सञ्चालनमा आउँछ ।’
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा हुने निश्चित भएपछि १६ महिना अघि पौडी पोखरीका लागि १५ करोड बजेट छुट्यिो । क्रमागत योजनामा बजेट परेपछि पौडी पोखरी बन्ने आशा पलाएको थियो । ‘आठौं राष्ट्रिय खेलकुद नेपालगन्जमा हुने निश्चित नभएको भए पौडी पोखरी बन्ने कुरामा आशा गर्ने ठाउँ थिएन’, अध्यक्ष ओलीले भने, ‘पौडी पोखरी सञ्चालनमा आउने कुरा अब शंका गर्ने कुनै ठाउँ छैन ।’
हुनपनि काठमाडौं बाहिरको सबैभन्दा ठूलो पौडी पोखरीका रुपमा चर्चा गरिएको नेपालगन्ज रंगशाला परिसरमा २०६६ सालमा तत्कालीन खेलकुद मन्त्री गणेश नेपालीले शिलान्यास गरेको योजनाले पूर्णता पाउन झण्डै एक दशक लाग्यो । नेपाली पछि कमला रोका, हितराज पाण्डे, सत्यनारायण मण्डल, राजन केसी, पुरुषोत्तम पौडेल, दलजित श्रीपाली हुँदै जगत बहादुर विश्वकर्मा खेलकुद मन्त्री भए । आठ वटा खेलकुद मन्त्री भैसक्दा पनि पौडी पोखरीबारे चर्चा बाहेक केही भएन । हरि बाबु चौधरी, युवराज लामा, सकुन्तला नगरकोटी हुँदै केशव विष्ट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव भए । त्यसबीच केही समय मन्त्रालयका सहसचिव चुडामणि पौडेल समेत कामु सदस्य सचिवको जिम्मेवारीमा राखेप रहे ।
आठ बर्षसम्म अन्योल रहेको पौखरीमा सरकारले सवा २ करोड खन्याइसकेको थियो । बेचनलाल गुप्ता, अक्कल बहादुर बम हुँदै भीम ओली क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भैरहँदा पौडी पोखरीले अहिलेमात्र बन्ने निश्चित भएको हो । ‘बीचमा एक पटक दुई करोड रुपैयाँ बजेट छुट्याइएपनि काम हुन नसकेर फ्रिज भएको देखिन्छ’, अध्यक्ष ओलीले पौडी पोखरीको कथा सुनाउँदै भने, ‘यतिबेला पनि झण्डै एक अर्बको भौतिक पूर्वाधारहरु निर्माण भैरहँदा कसरी समयमै निर्माण सकिन्छ भन्ने कुरामा अहोरात्र खटेका छौं ।’
मंगलबार पौडी पोखरीको प्याराफिट ढलान कार्य सुरु भएको छ । ७ सय क्षमताको प्याराफिट निर्माण पछि पौडी पोखरीले अन्तिम स्वरुप ग्रहण गर्नेछ । ‘आठौंलाई मध्यनजर सबै खेलकुदका पूर्वाधारहरु धमाधम निर्माण कार्यहरु भैरहेका छन्’, अध्यक्ष ओलीले पौडी पोखरीको प्याराफिटसँगै पोखरीमा टायल बिछ्याउने काम अगाडि बढिसकेको जानकारी दिए ।
सकियो जिल्ला छनोट
प्रदेश ५ मा अर्घाखाँची बाहेक सबै जिल्लाले छनोट कार्य सम्पन्न गरिसकेका छन्
समाचारदाता
दैनिक नेपालगन्ज
आगामी माघको अन्तिम साता हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला स्तरीय छनोट खेलहरु सकिएका छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले प्रदेश ५ अन्तर्गतका जिल्लाहरु मध्ये अर्घाखाँची बाहेक सबैले जिल्लास्तरीय छनोट प्रतियोगिता सम्पन्न गरेको जानकारी दिए ।
‘अर्घाखाँचीले पनि आज बुधबारबाट जिल्ला स्तरीय छनोट प्रतियोगिता शुभारम्भ गर्दैछ’, समितिका उपाध्यक्ष नरेन्द्र थापाले दैनिक नेपालगन्जसँग भने, ‘छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा क्षेत्रबाट अध्यक्ष भीम ओली नै अर्घाखाँची पुग्दै हुनुहुन्छ ।’
प्रदेश ५ का जिल्लाहरुमा विभिन्न १६ वटा खेलको छनोट प्रतियोगिता गरिएका छन् । फुटबल, भलिबल, ब्याडमिन्टन, एथलेक्टिसलगायतका खेलहरु जिल्ला स्तरबाट छनोट भई प्रदेश स्तरीय प्रतियोगिताका लागि योग्य खेलाडीहरु छनोट गरिएका हुन् । ‘माघमा प्रदेश स्तरीय प्रतियोगिता हुनेछन्’, प्रदेशबाट छनोट भएका खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा सहभागी हुने क्षेत्रीय अध्यक्ष ओलीले जानकारी दिए ।