फोहोर गर्नेलाई कारवाही गर्ने नेपालगन्ज नगरप्रमुखको चेतावनी

दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनका लागि घरको फोहोर घरमै व्यवस्थापन अभियान सुरु गर्ने भएको छ । गत शनिबार सरसफाई महाअभियान आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिकाले नगरलाई सफा राख्न घरघरको फोहोर घरमै व्यवस्थापन अभियान ल्याउन लागेको हो ।

 
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नगरबासीलाई सरारफाई अनि विकास निर्माणमा हातेमालो गर्न आव्हान गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकालाई नगरको फोहोर व्यवस्थापन चुनौति बन्दै गैरहेको अवस्थामा नगर प्रमुख डा. राणाले ‘म फोहोर गर्दिन, फोहोर हुन पनि दिन्न’ भन्ने सोच र संस्कृतिको विकास गर्न आग्रह गरेका छन् ।

 
नेपालगन्ज उपमहानगरपालिकाले शनिबार गरिने सरसफाई अभियानलाई राख्दै अबदेखि घरको फोहोर घरमै व्यवस्थापन गर्नुपर्ने सचेतनासहिका कार्यक्रम र सरसफाई अभियान सुरु गर्ने तयारी गरेको हो । उपमहानगरपालिकाले फोहोर गर्ने प्रवृत्तिलाई दण्डनीय बनाउने समेत तयारी गरेको छ । ‘सरसफाईको निरन्तरतासँगै फोहोर गर्ने व्यक्तिलाई पनि कानुन अनुसार कारवाहीको दायरामा ल्याइने सम्बद्ध सबैमा जानकारी गराइन्छ’, नगर प्रमुख डा. राणाले प्रेस विज्ञप्तिमा भनेका छन् ।

 
नगरलाई सफा राख्न हरसम्भव प्रयासहरु गरिरहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताएका छन् । ‘नगरसँग सरफाईका योजनाहरु छन् , जुन कार्यान्वयनमा क्रमशः लगिनेछ’, नेपालगन्ज वडा नं. १ का अध्यक्ष समेत रहेका रिजालले भने ।

 
नगर सफा राख्न समुदायलाई पनि अग्रसर बनाउने उपमहानगरपालिकाले योजना बनाइरहेको प्रवक्ता रिजालले बताए । ‘नगरको मात्रै प्रयासले नगर सफा राख्न सम्भव हुँदैन, यसका लागि समुदाय पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ’, प्रवक्ता रिजाल भन्छन्, ‘त्यसैले निजी क्षेत्र, समुदाय, स्थानीय तहको समन्वयमा सफा नेपालगन्जका लागि अग्रसर बन्नुपर्छ ।’ नगर सफा बनाउने उद्देश्यले गत शनिबारदेखि सरसफाई महाअभियान सुरु गरिएको थियो । जसका कारण दशकौं पछि नेपालगन्ज सफा भएको स्थानीय स्तरमा चर्चा समेत गरिएको छ । ‘नियमित रुपमा सरसफाईका अभियान गरिरहनु आवश्यक छ’, स्थानीयबासी भन्छन् ।

 
नगर प्रमुख डा. राणाले शनिबार भएको हाम्रो नेपालगन्ज सफा नेपालगन्ज नारा सहितको अभियानमा सहभागिता जनाएर फोहोर संकलन गर्ने र थप हौसला प्रदान गर्नेहरु प्रति आभार समेत व्यक्त गरेका छन् ।

 
वडाध्यक्ष रिजाल टोल, टोलबाट फोहोर व्यवस्थापनका काम हुनुपर्ने धारणा राख्छन् । उनले वडा नं. १ मा १२ वटा टोल विकास समिति बनाएर फोहोर व्यवस्थापन सम्बन्धि तालिम दिन लागेको जानकारी दिए । उनी आफ्नो टोल सफा गर्नेलाई वडा नं. १ ले पुरस्कृत गर्ने योजना समेत बनाइरहेको बताउँछन् । वडा नं. १ ले मलको रुपमा प्रयोग गर्ने र नसड्ने फोहोरलाई अलग अलग जम्मा गर्न वडाबासीलाई आग्रह समेत गरेको छ । ‘वडाबाट फोहोर संकलनका लागि ट्याक्टर खरिद गर्ने प्रक्रियामा छौं’, वडाध्यक्ष रिजालले भने, ‘सबै वडाले आ–आफ्नो वडा सफा राख्ने योजना बनाउन आवश्यक छ ।’

प्रतिक्रिया

प्रतिक्रिया