आत्महत्या गर्न खोजेको जोगाउन जाँदा एक महिलाको हत्या भएको छ । नारायण नगरपालिका–३ भूर्तीकी ४७ वर्षीया पार्वती नेपालीलाई उनका छोरा २६ वर्षीय बालाराम नेपालीले कोदालो हिकाई हत्या गरेको प्रहरीले जनाएको छ ।
नाम्लोले पासो लगाउछु भन्दै हिंडेका बालारामलाई त्यसो नगर्न रोइकराई गरिरहेकी आमालाई लखेटेपछि भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला कोदालोले टाउकोमा प्रहार गरेपछि पार्वतीको घटनास्थलमै प्राण गएको प्रारम्भिक सूचनामा बताइएको छ ।
आमाको हत्या गरिसकेपछि बज्यै ७० वर्षीया जुवारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली, २४ वर्षीया कौशिला नेपाली लगायतका छिमेकीहरुलाई कुटपिट गरेको भन्ने सूचनाको आधारमा घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज ठाकुरप्रसाद पोखरेलको टोलीले आरोपितलाई नियन्त्रणमा लिएको छ ।
पार्वतीको हत्या गरिएको कोदालोले गरिएको प्रहारले जुवाराको टाउको फुटेको छ । अरु घाइतेहरुको सामान्य उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइते जुवाराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डा. अजित न्यौपानेले भने ‘सक्दो प्रयास गरिरहेका छौं ।’
मृतकको शव पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा राखिएको छ, हत्याका आरोपित बालारामलाई घटनास्थलबाटै गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको छ । आरोपित बालारामले गत वर्ष आफैले ब्लेटले घाँटी रेट्न खोज्दा घाइते हुँदा २ महिना अस्पतालमा राखी उपचार गरिएको थियो ।