३० करोड असुल्न बाँकी, सडक बत्तीको मात्रै ९ करोड बाँकी
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बक्यौता असुली प्रक्रियालाई तिव्रता दिएको छ । लामो समयदेखि विद्युत महसुल तिर्न अटेरी गर्नेको विद्युत लाइन काट्दै प्राधिकरणले कारवाही प्रक्रिया अगाडि बढाएको हो ।
गत कार्तिकसम्मको तथ्यांक अनुसार प्राधिकरणले ३० करोड बढी असुल्न बाँकी छ । ‘सबैभन्दा बढी सडक बत्तीको ९ करोड रुपैयाँ असुली हुन बाँकी देखिएको छ’, नेपालगन्ज वितरण केन्द्रका प्रमुख राम दुलार यादवले भने, ‘महसुल तिर्न वेवास्ता गर्नेहरुको विद्युत लाइन काट्न सुरु गरिएको हो ।’
प्राधिकरण विद्युत लाइन काटिएपछि जरिवाना सहित पूरा शुल्क भुक्तानी नगर्दा सम्म पुनः कनेक्सन नजोडिने जानकारी दिएको छ । ‘पहिले आधा बढी शुल्क र जरिवाना तिरेपछि पुनः कनेक्सन दिने गरेका थियौं’, केन्द्र प्रमुख यादव भन्छन्, ‘अब लाइन काटिएपछि पूरा शुल्क र जरिवाना नतिरेसम्म पुनः कनेक्सन दिइने छैन ।’ वितरण केन्द्रका अनुसार, पहिले आधा शुल्क तिरको लाइन जोडिदा पुनः शुल्क तिर्न अनाकानी गरेपछि कडाई गरिएको हो ।
प्राधिकरणले विद्युत महसुल नतिर्नेहरुको लाइन काट्नका लागि टोली खटाएको छ । वितरण केन्द्रका अनुसार, दैनिक ५० वटा लाइन काटिंदै आएको छ । ‘मंसिरदेखि कडाई गरिएको हो’, वितरण केन्द्र प्रमुख यादवले भने, ‘७ सय ९६ वटा लाइन काटि सकिएको छ ।’
गर्मीयाममा लाइन काट्दा मानवीय रुपमा पनि समस्या पर्ने भएकाले प्राधिकरणले चिसो मौसम पारेर महसुल नतिर्ने विरुद्ध कडाई गरेको हो । यस अवधीमा प्राधिकरणले पुरानो एक करोड बढी महसुल समेत असुल गर्न सफल भएको छ ।
विद्युत महसुल समयमै नतिर्नेमा व्यक्ति बाहेक मस्जिद, व्यक्ति, संघ, संस्था, मन्दिर पनि रहेका छन् । विगतमा गरिएको कडाईका कारण ठूलो परिणाममा बाँकी रहेका अस्पताल र मन्दिरले भने विद्युत महसुल बुझाएका छन् । तर, मस्जिदहरुबाट अपेक्षित रुपमा बक्यौता नउठेको प्राधिकरणको भनाइ छ । मस्जिदहरुलाई सात दिन भित्र महसुल बुझाउन सूचित गरेको वितरण केन्द्रले जानकारी दिएको छ ।
साना रकमका तर धेरै समयसम्म रकम नबुझाएका ग्राहकहरुको संख्या धेरै रहेको वितरण केन्द्रले जानकारी दिएको छ । ‘महसुल नतिर्नेहरु सबैको लाइन काटिंदै जानेछ’, वितरण केन्द्र प्रमुख यादवले समयमै शुल्क बुझाएर जरिवानाबाट जोगिन आग्रह गर्दै भने ।