नेपालगन्जमा हर्न बजाउने तिरे ६ हजार ५ सय जरिवाना

जिल्ला ट्राफिक कार्यालय बाँकेले ‘नो हर्न’को अटेरी गर्नेलाई कारवाही गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले गत मंसिर १ गते नेपालगन्ज उपमहानगर क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गर्दै महिनाभरी त्यसबारे सचेतनामूलक कार्यक्रमहरु गरेको थियो ।
एक महिना सचेतना अभियान गरेको ट्राफिक प्रहरीले आइतबारदेखि कारवाही सुरु गरेको हो । ‘एक महिने सचेतनापछि पनि अटेरी गर्नेलाई कारवाही गर्ने तयारी थियो’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भने, ‘अब अटेरी गर्नेलाई सम्झाउने र कारवाही गर्ने दुवै काम हुनेछ ।’
ध्वनि प्रदुषण नियन्त्रणको उद्देश्यले ट्राफिक प्रहरीले नगरलाई हर्न निषेधित घोषणा गरेको हो । नो हर्न अटेरी गर्नेलाई कारवाही गर्ने जानकारी दिएको प्रहरीले पहिलो दिन नै १२ वटा यातायातका सवारी साधनलाई जरिवाना गरेको छ ।
ट्राफिक प्रहरीले नियम नमान्नेलाई कारवाही गरेको जानकारी दिएको छ । ‘नगरका विभिन्न क्षेत्रबाट १२ सवारी साधनलाई कारवाही गरेका हौं’, जिल्ला ट्राफिक कार्यालय बाँकेका सई भीम राज ओलीले भने, ‘उनीहरुबाट ६ हजार ५ सय रुपैयाँ जरिवाना असुल समेत गरिएको छ ।’ जसमा दुई वटा बस, दुई वटा ट्रक, ३ वटा कार जिप र ५ वटा मोटरसाइकल कारवाहीमा परेका हुन् । ‘कारवाही हाम्रो उद्देश्य होइन’, महिनाभरी जानकारी दिंदा समेत अटेरी गरेकाले कारवाही गरिएको जानकारी दिंदै ट्राफिक प्रहरीले भनेको छ ।
प्रचारात्मक अभियानका क्रममा नगर क्षेत्रमा ट्राफिक प्रहरीले चोकचोकमा नो हर्न संकेत राखेको छ भने ३० हजार बढी पम्प्लेट वितरण र ३ हजार बढी स्टिकर यातायातका साधनमा टाँसेको छ । हर्न निषेधित क्षेत्रमा हर्न बजाएमा ट्राफिक प्रहरीले ५ सय १ हजार ५ सयसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ । ‘कारवाही निरन्तर जारी रहनेछ’, सई ओलीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया