समाचारदाता\वसन्त गौतम
बाँकेका अधिकांश दुग्ध ब्यवसायीहरुले अनुज्ञापन नलिइकनै दुग्ध ब्यवसाय संचालन गरेको पाइएको छ । बाँकेमा जम्मा ६२ दुग्ध ब्यवसायीले घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गरेर ब्यवसाय संचालन गरेको भएता पनि जम्मा १३ वटा डेरी उद्योगले मात्रै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय अनुज्ञापत्र लिएर डेरी उद्योग सञ्चालन गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज प्रमुख जोत्सना श्रेष्ठले जानकारी दिइन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ल्याव टेष्ट गरि उत्पादित दुध खान योग्य छ भनी अनुज्ञापत्र दिए पछि मात्र दुधको बिक्री वितरण गर्नु पर्ने ब्यवस्था भए पनि अधिकांश दुग्ध ब्यवसायीले अनुज्ञापत्र नलिइनै दुग्ध पदार्थको बिक्री वितरण गरिरहेका छन् ।
नेपालगन्जमा प्रशोधन नगरिकनै किराना पसलमा समेत खुल्ला रुपमा दुधको बिक्री वितरण भैरहे पनि त्यस उपर कुनै कारवाही भएको छैन । प्रशोधन गरेको लेवलयुक्त प्याकेटको दुध खानु पर्छ भन्ने कुरामा उपभोक्ता सचेत नभएका कारण खुल्ला दुध राम्रो हुन्छ भन्ने भ्रममा आमउपभोक्ताहरु रहेका कारण अनुज्ञापत्र लिएका डेरी ब्यवसायीले समेत प्रशोधन नगरि खुल्ला रुपमा दुध बेचिरहको पाइन्छ ।
भारतीय खुल्ला दुध नेपालगन्ज बजारमा निर्वाध रुपमा भित्रिएका कारण नेपाली डेली संचालकहरु मारमा परेको डेरी ब्यवशायी संघका कोषाध्यक्ष प्रभात ठकुरीले बताए । नेपालगन्ज बजारमा प्रशोधन नगरी लेबलिङ्ग बिनै दुध बिधि बितरण भैरहेको भन्दै नियम विपरित ब्यवसाय गर्ने उपर कडाई गर्नु पर्ने ठकुरीले बताए ।
गुणस्तर निर्देशिका लागु गरिने
दुध तथा दुग्धजन्य पदार्थको उत्पादन देखि उपभोगको चरणसम्म स्वच्छता एवं उचित स्तर कायम राख्न नेपाल सरकार खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले दुध र दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ कार्यान्वयनमा ल्याइएको छ । चैत्र मसान्त भित्र लागु भै सक्नु पर्ने गरि ल्याईएको निर्देशिकामा गोठ देखि ओठसम्म दुधको स्वच्छता र गुणस्तर कायम राख्न गर्नु पर्ने कार्यहरुको बारेमा उल्लेख गरिएको छ ।
बाँकेमा दुग्ध ब्यवसायीलाई अभिमूखिकरण
खाद्य प्रविधि तथा गुण नियन्त्रण नेपालगन्जले बाँकेका दुग्ध व्यवसायीलाई दुध र दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ बारे शनिबार अभिमूखिकरण गरेको छ ।
निर्देशिकाको बारेमा बिभागका महानिर्देशक सञ्जिव कुमार कर्ण, प्रवक्ता पुर्णचन्द्र वस्ती, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धिताल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण नेपालगन्जका प्रमुख जोत्सना श्रेष्ठले दुग्ध ब्यवसायीहरुलाई निर्देशिका बारे जानकारी गराएका थिए । निर्देशिका बने पनि धेरैलाई यस बारेमा जानकारी नभएको भन्दै प्रशोधन नगरि दुध बेच्नेलाई डेरी उद्योग भन्न नसकिने खाद्य प्रबिधि तथा गुण नियन्त्रण नेपालगन्जका प्रमुख जोत्सना श्रेष्ठले बताइन् । दुग्ध उत्पादकहरुले दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्नका लागि निर्देशिका पालना गर्नु पर्ने भन्दै बिभागमा महानिर्देशक संजिक कुमार कर्णले अनुज्ञापत्र लिएर मात्र ब्यवशाय सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
अनुपम डेरी संचालक सुनिल शाहले किराना पसलमा खुल्ला दुध बेच्ने, अनुज्ञापत्र नलिइन ब्यवसाय संचालन गर्ने र जथाभावी भारतीय दुध आयातमा रोक लगाउनु पर्ने बताए । अर्का दुग्ध ब्यवशायी सफि मोहम्मदले खाद्य अनुज्ञापत्र नलिई दुध बेच्ने, भारतबाट दुध ल्याएर चोक चोकमा बेच्ने कार्य बन्द गरिनु पर्नेमा जोड दिए ।
डेरी ब्यवशायी संघका कोषाध्यक्ष प्रभात ठकुरीले प्रशोधित दुध खाने कुरामा उपभोक्ता सचेत हुनु पर्ने भन्दै भारतबाट आउने दुधको गुणस्तर चेक गरि अबैध आयातमा नियन्त्रण गर्नु पर्नेमा जोड दिएका छन् ।