नेपालगन्जमा आज आइतबारदेखि जथाभावी हर्न बनाउने यातायातका साधन कारवाहीको दायरामा आउने भएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेले गत मंसिर १ गतेदेखि नेपालगन्जलाई हर्न निषेधित क्षेत्र घोषणा गर्दै प्रभावकारी कार्यान्वयनका लागि एक महिने जनचेतनामूलक अभियान समेत सञ्चालन गरिसकेको छ ।
हर्न निषेधित क्षेत्र घोषणा गरिएपछि पनि ट्राफिक प्रहरीले पहिलो महिनालाई जनचेतनामूलक र प्रचारात्मक कार्य गर्दै कुनै कारवाही भने गरेको थिएन । ‘नेपालगन्ज हर्न निषेधित क्षेत्र हो भन्ने मंसिर भरी प्रचार गरिसकिएको छ’, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख हिरेन्द्र रोकायले भने, ‘प्रचारात्मक अभियान सकिएको छ, अब अटेरी गरेको पाइएमा कारवाहीको प्रक्रिया गइनेछ ।’ उनले चर्को ध्वनिले नकारात्मक असर पारिरहेकाले त्यसलाई नियन्त्रणको प्रयास ट्राफिक प्रहरीले गरिरहेको जानकारी दिए ।
नेपालगन्जमा हुने चर्को ध्वनि प्रदुषणलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले पनि धार्मिक, सांस्कृतिक कार्यक्रम, पर्व, मेला, महोत्सवमा हुने चर्को ध्वनि प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरुको बैठक राखेर पहल अगाडि बढाइसकेको छ । प्रशासनले धर्मका नाममा हुने ध्वनि प्रदुषण नियन्त्रण गर्न धर्मगुरुहरु मार्फत अपिल गरेको हो ।
नेपालगन्जमा चर्को ध्वनिका कारण स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै यसअघि अदालतमा रिट समेत परेको थियो । अदालतले समेत नेपालगन्जमा हुने ध्वनि प्रदुषण नियन्त्रण गर्न सरोकारवालाका नाममा आदेश गरिसकेको छ । ट्राफिक प्रहरीले नगर क्षेत्रमा गरेको हर्न निषेधबारे जानकारी दिन स्थानीयबासी, यातायात व्यवसायी, चालक, जिल्ला बाहिरबाट आउने यातायातका सवारी साधनलाई लक्षित गरी प्रचारात्मक काम मंसिर भरी गरिसकेको छ । त्यसक्रममा ध्वनि प्रदुषण नगर्न सन्देशमूलक ३ हजार स्टिकर जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा टाँसिसकेको छ ।
‘चोक चोकमा नो हर्नको संकेत राखिएको छ’, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख हिरेन्द्र रोकायले भने, ‘प्रचारात्मक अभियानका क्रममा ३० हजार बढी पम्प्लेट पनि वितरण गरेका छौं ।’ ट्राफिक प्रहरीको टार्गेटमा प्रेसर हर्न रहेको छ । रोकाय आजदेखि अटेरी गरेर चर्को हर्न बजाउनेलाई कानुन बमोजिम कारवाही गरिने बताउँछन् । हर्न निषेधित क्षेत्रमा हर्न बजाएमा ट्राफिक प्रहरीले ५ सय १ हजार ५ सयसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।
प्रहरीले सभ्य, व्यवस्थित र मर्यादित सहर बनाउनका लागि नो हर्न कार्यान्वयन आवश्यक रहेको बताएको छ । नो हर्नको नियम सबैले पालना गर्नुपर्ने प्रहरीको भनाइ छ । ‘ध्वनि प्रदुषण नगर्नु सबै नागरिकको दायित्व हो’, ट्राफिक प्रहरी प्रमुख रोकाय भन्छन्, ‘हाम्रो उद्देश्य हर्न निषेधित क्षेत्रलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनु हो ।’