हाम्रो होइन मेरो नेपालगन्ज भन्नुस्

सरसफाई अभियन्ता राजमान मानवले नेपालगन्ज उपमहानगरपालिकालाई सफा र सुग्घर बनाउन स्थानीयबासीलाई अग्रसर हुन आग्रह गरेका छन् । बुधबार नेपालगन्जमा आयोजना गरिएको दशौं मानव अधिकार राष्ट्रिय महाभेलामा पुगेमा अभियन्ता मानवले जथाभावी फोहोर फाल्ने बानीले नेपालगन्ज फोहोर हुँदै गएको बताए ।

 
मानव २०६७ सालदेखि नेपालका विभिन्न सहरहरु स्वस्फूर्त सफा गर्दै सफा सहर बनाउन सन्देश दिंदै आएका छन् । ‘विश्व सफा होस्, घर आँगन, टोल सफा गर्नुपर्छ भन्ने सन्देश दिन मैले नौ बर्षअघि स्वस्फूर्त अभियानको सुरु गरेको हुँ’, मानवले भने, ‘यो अभियान मैले सकिन्जेल जारी रहनेछ, सरसफाई गर्दै मेरो जीवन व्यतित होस् भन्ने मेरो चाहना हो ।’ उनी सरसफाईको सन्देश दिन बंगलादेश समेत पुगेको बताउँछन् ।

 
गत मंसिर १५ गते नेपालगन्ज आएका मानवले विभिन्न चोक, चौराह, मन्दिरहरुमा सरसफाई गर्दै आएका छन् । उनी एकल प्रयासले मात्रै कुनै पनि ठाउँ सफा हुन नसक्ने भन्दै त्यसका लागि सामूहिक रुपमा लाग्नुपर्ने धारणा राख्छन् । २३ घण्टा फोहोर गर्ने अनि एक घण्टा उपमहानगरपालिकाले गरेको सरसफाईले कसरी सहर सफा हुन नसक्ने मानवले बताए । साँच्दै सफा सहर बनाउने हो भने स्थानीय तह र नागरिक दुवैको सहकार्य हुन आवश्यक छ ।

 
‘हाम्रो नेपालगन्जको भावनामा सबैमा पाएँ तर त्यसलाई सफा राख्न तत्परता पाइन’, कार्यक्रममा मानवले भने, ‘जसरी मेरो घर, पसल भनेर सरसफाई गर्नुहुन्छ त्यसरी अब मेरो नेपालगन्जको भावनाले जुट्न आवश्यक छ ।’ मानवले बढारेर मात्र सहर सफा नहुने भन्दै अब फोहोर टिपेर जम्मा गर्नुपर्ने धारणा राखे । ‘त्यसैले नेपालगन्जमा उपमहानगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा शनिबार बृहत सरसफाई कार्यक्रम राखिएको छ’, सहभागिताको आव्हान गर्दै मानवले भने । उनले नेपालगन्जमा अत्याधिक फोहोर प्लाष्टिकले भएको पाएको उल्लेख गर्दै नियन्त्रणमा उपाय अपनाउन आग्रह गरे ।

प्रतिक्रिया

प्रतिक्रिया