दशौं मानव अधिकार राष्ट्रिय महाभेला
आफ्ना अधिकारहरुको माग गरिरहँदा आफुले निर्वाह गर्नुपर्ने दायित्व बिर्सन नहुने धारणा राखिएको छ । बुधबार नेपालगन्जमा आयोजना गरिएको दशौं मानव अधिकार राष्ट्रिय महाभेलाका वक्ताहरुले मानवअधिकारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै अधिकारको माग गरिरहँदा कर्तव्य पनि बोध गर्नुपर्ने धारणा राखेका हुन् । बोलीमा मात्रै मानवअधिकारप्रति प्रतिबद्धता जनाउने प्रवृत्ति प्रति चिन्ता व्यक्त गर्दै कार्यक्रमका सहभागीहरुले बोलेका कुरा व्यवहारमा लागु गर्न, गराउन सबैको भूमिका केन्द्रित हुनुपर्ने बताएका थिए ।
फातिमा फाउण्डेशन नेपालको आयोजना र सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र(आईएचआरसी)को सहआयोजना तथा विभिन्न संघ, संस्थाहरुको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै नेपालगन्ज उच्च अदालत तुुलसीपुुरका माननीय न्यायाधिश प्रेमराज कार्कीले मानव अधिकारको प्रत्याभुुतको लागि अधिकार मात्र नभई कतब्र्यबोध हुुनु पर्नेमा बताए । ‘हरेक नागरिकले कानुुनी शासनमा रहेर मानवअधिकारको संरक्षण गर्नुपर्छ’, न्यायाधीश कार्कीले भने ।
फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मोहम्मदी सिद्धिकीको सभापतित्वमा भएको कार्यक्रममा अधिवक्ता वसन्त गौतमले मानवअधिकार र दिगो विकासमा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । अधिवक्ता गौतमले विकास र मानवअधिकार एकआपसमा गाँसिएको उल्लेख गर्दै वातावरण नबिगारी विकास गरेर दिगो विकासको लक्ष्य हासिल गर्नुपर्ने बताए । अधिवक्ता गौतमले शिक्षा, स्वास्थ्य, खाद्य जस्ता नागरिकका अधिकार सुनिश्चित हुन नसकेको उल्लेख गर्दै भने, ‘अस्पताल छन् चिकित्सक छैनन्, विद्यालय छन् शिक्षक छैनन्, गुणस्तरीय शिक्षा छैन, बजारमा अखाद्य वस्तुको बिगबिगी छ ।’ उनले राज्यको ध्यान मानवअधिकार सुनिश्चित गर्ने दिशातर्फ अग्रसर हुुनुपर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नबोलेसम्म अधिकार प्राप्त हुन नसक्ने भन्दै मानवअधिकार हननका घटनामा पीडित स्वयंले मुख खोल्नु पर्ने बताइन् । ‘नमागे सम्म अधिकार पाइन्न, पीडा नपोखे न्याय पाउन गाह्रो हुन्छ’, उपप्रमुख थापाले कुनैपनि किसिमका हिंसाका घटनामा चुप लागेर नबस्न आग्रह गर्दै भनिन् ।
खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले नागरिकले अधिकार खोज्ने मात्रै नभई कर्तव्य पनि बोध गर्नुपर्ने बताइन् । ‘आफ्ना अधिकार माग्दै गर्दा अर्काको हनन हुने काम कसैबाट हुनुहुँदैन’, उपप्रमुख विकले भनिन्, ‘अधिकार र कर्तव्य सँगै बुझ्ने हो भने मानवअधिकारको सुनिश्चित हुनसक्छ ।’
कार्यक्रममा आफ्ना धारणा राख्दै बाल अधिकारकर्मी साहिल अन्सारीले स्थानीय सरकारहरुले बालबालिकाको संरक्षण, सम्वद्र्धनमा ध्यान दिन आग्रह गरे । ‘चिसो मौसम सुरु भयो, स्रोतको अभावमा बालबालिका कठाग्रिएर बस्नुपर्ने अवस्था छ’, स्थानीय सरकारको ध्यानाकर्षण गर्दै साहिलले भने, ‘सहर भन्दा गाउँमा बालबालिकाको अवस्था चिन्ताजनक छ ।’ उनले सामाजिक क्षेत्रमा क्रियाशिल संघ, संस्थाहरुलाई गाउँ केन्द्रित हुन आग्रह गर्दै भने, ‘विकट गाउँहरुमा गएर त्यहाँको अवस्था सुधार्न लाग्नुपर्छ ।’
शिक्षिका कृष्णा पाण्डेले महिला हिंसाका घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले मानवअधिकारकर्मी, सामाजिक क्षेत्रमा क्रियाशिल संघ, संस्थालाई पीडित महिलाको अधिकारका लागि आवाज उठाउन आग्रह गरिन् । ‘दबाब र प्रभावमा पीडितले महिला हिंसाका घटनामा पीडितले न्याय पाउन नसक्ने अवस्था छ’, पाण्डेको भनाइ थियो ।
आईएचआरसीका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले स्वागत गरेको कार्यक्रममा बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता शालिकराम सापकोटाले अबको बहस अधिकारको प्रत्याभूति कसरी गर्ने भन्ने तर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । ‘अधिकार छन् तर तिनलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने बहस आवश्यक छ’, सापकोटाले भने ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले मानवअधिकारवादी संस्थाहरु भएपनि तिनले अझैपनि गाउँमा मानवअधिकार के हो ? भन्ने बुझाउन नसकेको धारणा राखे । ‘आफ्ना अधिकारबारे नागरिक अझैपनि जानकार भैसकेका छैनन्’, अध्यक्ष थारुले भने, ‘त्यसैले नागरिकलाई पहिले अधिकारबारे सूसुचित गर्नुपर्छ ।’
कार्यक्रममा नेपाली नागरिकतामा आप्mनो आमा र श्रीमतीको नाम लेखाई समानताको लागि पैरवी गरेको भन्दै सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र(आईएचआरसी) का अध्यक्ष अधिवक्ता तिवारीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा सय बढी मानवअधिकारकर्मीको उपस्थिति रहेको फातिमा फाउण्डेशन नेपालका मैमुुना सिद्धिकीले जानकारी दिइन् ।