बाँकेमा ६८ प्रतिशत थुनुवा लागु औषधका

नेपालगन्ज/वसन्त गौतम

बाँकेमा लागु औषध मुद्दाको तथ्याङ्क अप्रत्याशित रुपमा बृद्धि हँुदै गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा जम्मा थुनुवा संख्याको झण्डै ६८ प्रतिशत थुनुवा लागु औषधकै रहेका छन् । यस्तै कारागार शाखा बाँकेमा पनि लागु औषध मुद्दाका उल्लेख्य कैदी बन्दी छन् ।

 
प्रहरीमा दर्ता भएका ५६ फौजदारी मुद्दामा ३८ वटा लागु औषधकै रहेको पाइएको छ । मुद्दा हेर्ने अधिकारीबाट म्यादथप गत सोमबारसम्म जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका ५६ थुनुवा मध्ये ३८ जना थुनुवा लागु औषध मुद्दाकै रहेको मुद्दा फाँटका प्रहरी निरिक्षक रण बहादुर बिष्टले जानकारी दिए ।

 
यो महिना मात्रै होइन प्रत्येक महिना लागु औषध मुद्दामा बढी जसो पक्राउ पर्ने गरेको प्रहरी निरीक्षक बिष्टले बताए । बालकदेखि बृद्धसम्म लागु औषध मुद्दामा पक्राउ पर्ने भएता पनि बढी मात्रामा ‘टिनएजर’ युवाहरु नै पक्राउ पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

 
ब्राउन सुगर, नाईट्रोजेपाम, नाईट्रोभ्याट लगायतका लागु औषध मुद्धामा अधिकांश टिनएजर युवा पक्राउ पर्ने गरेको बिष्टले जानकारी दिए । साथी भाइको लहै लहैमा लागेर मजा लिने नाममा युवाहरु लागु औषधको नसामा फस्दै गएको पाइएको छ ।

 
सीमावर्ती क्षेत्र भारतमा खुल्ला बिक्रि बितरण, खुल्ला नाकाका कारण पनि बाँकेमा लागु औषध मुद्दा बढी पर्ने गरेको प्रहरी निरीक्षक बिष्टले बताए । अभिभावको ब्यस्त जीवन शैली, आफ्ना बालबच्चालाई अभिभावले आवश्यक हेरचार पु¥याउन नसक्दा पनि १५ ,१६ बर्षका युवायुवतीहरु समेत लागु औषधको लतमा फस्दै गएको पाइएको छ ।
लागु औषध मुद्दामा प्रहरी हिरासतमा रहेका थुनुवाले साथी भाईको लहै लहैमा लागेर मजा लिनका लागी सुरुमा सेवन गरेको र पछि खानै पर्ने लत बसेका बताए । लागु औषध खाँदा रक्सी, चुरोट जस्तो गन्ध नआउने, नसा खाएको अभिभावकले झट्ट थाहा नपाउने भएकाले लागु औषध खाने बानी परेको लागु औषधको नसामा फसेका एक किशोरले बताए ।

 
लागु औषधका लतका कारण सेवनकर्ता पैसाको जोहो गर्न चोरीका घटना समेत घटाउने गरेको प्रहरी निरिक्षक बिष्टले बताए । लागु औषध सेवनका कारण पारिवारिक कलह र हिंसाका घटना बढ्ने र यसको सेवनले सेवनकर्ताको ब्यक्तित्व नै नष्ट गर्ने भएकाले लागु औषधको कुलतबाट आफ्ना छोराछोरीलाई बचाउन अभिभावकहरु सधै सचेत रहनु पर्ने उनको भनाइ छ ।

 
पछिल्लो समय लागु औषध एक बिकराल समस्या बन्दै गएकोले यस बिरुद्ध जनचेतना फैलाउनुका साथै अभिभावकले आफ्ना छोराछोरीको आनीबानी, संगत क्रियाकलापमा निगरानी राखी लागु औषधको कुलतमा फस्नबाट जोगाउन हरेर अभिभावक सचेत बन्नु पर्ने देखिएको सम्बद्धहरु बताउँछन् ।

 
नेपालगन्ज लागु औषध प्रयोगकर्ता र कारोबारी वर्षेनी बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको पक्राउ तथ्यांकले पनि हरेक वर्ष लागुऔषधको समस्या बढ्दै गएको देखाउँछ । विगत ३ वर्षको अवधिमा ब्राउनसुगर, चरेश, अफिम, गाँजा, कोरेक्स, नाइट्राजेपाम लगायतका अन्य लागुऔषध ओसारपोसारमा जिल्लामा ५ सय ४० जना पक्राउ गरी उनीहरु विरुद्ध मुद्दा चलाइएको छ ।

 
आर्थिक वर्ष २०७२÷०७३ मा ७८ वटा मुद्दामा १ सय ८ जना, २०७३÷०७४ मा १ सय ३७ मुद्दामा १ सय ८९ जना, २०७४÷०७५ मा १ सय ४७ मुद्दामा २ सय ४३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेको तत्थ्यांक छ । लागुपदार्थ ओसारपसारमा संलग्न पक्राउ पर्नेमा सबै पुरुषहरु नै छन् । गत वर्ष ८ जना महिला पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया