‘सचेतनामा लगानी गर’
बाल विवाहका लागि जोखिमपूर्ण मानिएको बाँकेमा ‘बाल विवाह रोकथाम’ परियोजना सञ्चालन गरिने भएको छ । बाँकेका आठ वटै तहमा आगामी साढे २ बर्षका लागि प्लान इन्टरनेशनलले परियोजना सञ्चालन गर्न लागेको हो ।
सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँके मार्फत प्लान जापानको आर्थिक सहयोगमा उक्त परियोजनाले ४ करोड २२ लाख १७ हजार रुपैयाँ लगानीमा बालिका सशक्तिकरणमै केन्द्रित हुने गरी अभियान सञ्चालन गर्न लागेको हो । ‘यसले बालिकाको सशक्तिकरणदेखि प्रदेश तथा स्थानीय सरकारले कानुन कार्यान्वयनका लागि आ–आफ्ना संरचना स्थापित गर्दै स्रोत समेतको सुनिश्चितता गर्नेछन् भन्ने हाम्रो विश्वास हो’, प्लान इन्टरनेशन नेपालगन्जका एरिया म्यानेजर मिना पराजुलीले सरोकारवालाहरु बीच भनिन् ।
मंगलबार बाँकेका आठ वटै तहका प्रमुख तथा उपप्रमुख, स्थानीय प्रशासन, साझेदार संस्था, सञ्चारकर्मीहरु बीच परियोजनाबारे जानकारी दिन गरिएको अन्तरक्रिया अन्तरक्रियामा प्लान इन्टरनेशनल नेपालका संरक्षण संयोजक श्रृष्टि ढकालले १८ बर्षमूनिका बालबालिका र किशोर किशोरी तथा तिनका अभिभावक, धार्मिक अगुवा तथा सामाजिक नेताहरु बीच परियोजनाले लक्षित कार्यक्रम पुर्याउने जानकारी दिइन् । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरुले विभिन्न संस्कार र सचेतना अभावले बाल विवाहले जरो गाडेको भन्दै त्यसको न्यूनिकरणका सचेतना अभियानलाई तिव्रता दिन जोड दिए ।
‘संस्कारले नै बाल विवाहलाई प्रोत्साहन गरेकाले सामाजिक सचेतना नै न्यूनीकरणको पहिलो प्रयास हुनसक्छ’, परियोजनाले सचेतनामा जोड दिने कुरामा विश्वास गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले भने, ‘बाल विवाह रोकथाम हाम्रो पनि प्राथमिकतामा छ ।’ खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले आफुहरु नीति तथा कार्यक्रम नै बनाएर बालविवाह मुक्त गाउँपालिका बनाउने तर्फ केन्द्रित भएको बताए । ‘आउनुस् परियोजनासँग हामी साझेदारी गर्न तयार छौं’, गाउँपालिका प्रमुख कक्षपतिले सञ्चारमाध्यम, धर्म गुरु र सांस्कृतिक अगुवाहरुलाई साथमा लिएर अगाडि बढ्न सुझाव दिए ।
जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले वैवाहिक वातावरण नै सिर्जना हुन नदिने तर्फ सामाजिक सचेतनाको आवश्यकता औंल्याए । ‘अन्तिममा प्रहरी, प्रशासनिक हस्तक्षेप भन्दा विवाहसम्मको वातावरण नै नबनोस् भन्नका लागि सामुदायिक सचेतनामा लगानी गर्नुस्’, प्रजिअ भुजेलले भने ।
जिल्ला संयोजक श्रीवास्तवले संस्कारका कारण हुने गरेको बाल विवाह सुधारोन्मुख भैरहेको बताए । ‘तर पनि समस्या गम्भीर छ’, श्रीवास्तवले जनप्रतिनिधिहरुले संस्कारको सकारात्मक सुधारमा बढावा दिंदै अगाडि बढ्नु पर्ने औंल्याए । उनले पनि बालविवाहको अवस्थालाई शुन्यमा झार्न सामाजिक सचेतना आवश्यक भएको बताए । बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचाल, राप्तीसोनारी गाउँपालिका प्रमुख लाहुराम थारु, डुडुवा उपप्रमुख साहिदा बानो, राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत टंक खनाल, धर्मगुरु जुनेद खान, सिविन प्रमुख सिद्धराज पनेरु लगायतले बाल विवाहको उत्थानका लागि गर्नुपर्ने विभिन्न प्रयासहरु बारे धारणा राखेका थिए ।
‘हामी बाल विवाह भएको ठाउँमा जनप्रतिनिधिहरुलाई जान पूर्णत निषेध गरेका छौं’, राप्तीसोनारीका प्रमुख थारुले भने, ‘गएको पाइए जरिवाना गर्ने सम्मको विधि बनाएका छौं ।’ उनले गाउँपालिकालाई बालविवाह मुक्त कसरी बनाउने भन्नेमा परियोजनासँग साझेदार गर्न तयार रहेको प्रष्ट पारे । आयोगका अधिकृत खनालले सामूदायिक सचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने सुझाव दिए । स्याकका अध्यक्ष शिवलाल पाण्डेले परियोजना मार्फत जिल्लामा सकारात्मक परिणाम आउनेमा आफुहरु विश्वस्त रहेको बताए ।