बजार अनुगमका क्रममा कोहलपुर क्षेत्रमा संचालनमा रहेका अधिकांश मासु पसलहरु मापदण्ड विपरित रहेको पाइएको छ । उपभोक्ता हित संरक्षण समिति अन्तरगतको बजार अनुगमन समितिद्वारा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको कोहलपुर नगरपालिका उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक सञ्जु कुमारी चौधरीले जानकारी दिइन् ।
कोहलपुर नगरपालिकामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले मापदण्ड बिपरित मासु र मिठाई पसल संचालन गर्ने ब्यवसायीलाई सचेत गराई कारवाही गर्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाले पटक–पटक नगर क्षेत्रका मासु व्यवसायिहरुलाई मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिएको निर्देशन पालना नभएपछि नगरपालिका कठोर रुपमा प्रस्तुत हुन लागेको जनाएको छ ।
उपभोक्ताको हित बिपरित पेशा ब्यवसाय गर्ने, उपभोक्ताको अधिकारलाई ध्यान नदिने र गुणस्तरिय बस्तु तथा सेवा बिक्री बितरण नगर्ने उपर कानूनी कारवाही गर्ने निर्णय गरिएको बैठकमा सहभागी उपभोक्ता हित संरक्षण समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
नगरपालिकाले प्रभावकारी अनुगमन गर्न थालेपछि कोहलपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका मासु पसलेहरु सरसफाई र मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्ने क्रम बढेको पाइएको र आगामी दिनमा अनुगमनको कार्यलाई निरन्तरता दिने निर्णय भएको पनि उपभोक्ता हित संरक्षण मञ्चका बाके अध्यक्ष समेत रहेका गौतमले बताए ।
मापदण्ड विना सञ्चालनमा आएका मासु पसलहरुले उपभोक्ताहरुको स्वास्थ्यमा चरम खेलवाड गर्ने गरेकाले नगरपालिका मापदण्ड विना सञ्चालनमा आएका मासु व्यवसायीहरुप्रति कठोर रुपमा प्रस्तुत हुन बाध्य भएको कोहलपुर नगरपालिका उप–प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक सञ्जु कुमारी चौधरीले बताइन् ।
नगरपालिकालेगरेको ३ पटकसम्मको आकस्मिक अनुगमन पछि केही व्यवसायीहरुले मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गरे पनि सबै ब्यवसायीहरुले मापदण्ड पुरा गरेका छैनन । पछिल्लो अनुगमनमा नगर क्षेत्रमा सञ्चालनमा रहेका मापदण्ड विपरितका मासु पसलहरु अहिले झण्डै ८० प्रतिशतले न्यूनतम मापदण्ड पुरा गरेको पाइएको अनुगमन समिति संयोजक तथा नगरपालिकाका प्रशासकीय अधिकृत कर्ण बहादुर थापाले बताए । थापाका अनुसार, केही व्यवसायीहरुले अझै पनि मापदण्ड पुरा नगरेर व्यवसाय सचालन गरिरहेको पाइएकाले त्यस्ता व्यवसायीहरुलाई तत्काल मापदण्ड पुरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न कडा निर्देशन दिइएको तथा न्यूनतम मापदण्ड पनि पुरा नगरेका व्यवसायीहरुको व्यवसाय तत्काल बन्द गराउन समितिले निर्देशन दिइसकेको छ । यस्ता व्यवसायीहरुले समितिले दिएको निर्देशन अटेर गरेमा कानूनी कारवाही गरिने नगर उपप्रमुख चौधरीले बताइन् ।
नगर क्षेत्रमा सञ्चालित अधिकांश मासु पसलहरुमा न्यूनतम मापदण्ड पनि पुरा नगरेर उपभोक्ताको हित विपरित सञ्चालन भइरहेका पसलमा जथाभावी र फोहर ठाउँमा खसी तथा कुखुरा वध गर्ने गरेको, खुल्ला रुपमा सडक छेउमै मासु बेच्न राख्ने गरेको, मासु काट्ने हतियार तथा अचानोलगायत समान सफा नरहेको र झिँगा भन्किएको मासु बिक्री भइरहेको उपभोक्ताहरुको गुनासो बढेसँगै नगरपालिकाले अव्यवस्थित र मापदण्ड पुरा नगरेर सञ्चालनमा आएका व्यवसायीहरुप्रति कठोर रुपमा प्रस्तुत भएको हो । यहाँसम्म की कतिपय व्यवसायीहरु त सम्बन्धित निकायमा दर्ता तथा अनुमति बिना नै सञ्चालनमा गरिरहेको अनुगमन समितिले बताएको छ ।
मापदण्डअनुसार मासु पसल सञ्चालन गर्दा छुट्टै सञ्चालन गर्नुपर्ने उल्लेख भएपनि कतिपय मासु पसलहरु किराना, होटल सँगै राखेर सञ्चालन गरेको पाईएको समितिले जनाएको छ । मासु पसललेले बधस्थल, प्रोसेसिङ र बिक्री कक्ष अलग राख्नुपर्ने, प्रोेसेसिङ रुमभित्र डर्टी एरिया र क्लिन एरिया फरक हुनुपर्ने, स्टिनलेस स्टिलको औजार र प्लास्टिक प्रयोग गर्नुपर्ने, लगाएतका १९ वटा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ तर कोहलपुर क्षेत्रका अधिकांश मासु पसलेहरुले न्यूनतम मापदण्ड समेत पुरा गरेको नपाइए पछि उपभोक्ता हित संरक्षण समितिको बैठकले अटेरी गर्ने उपर कारवाही गर्ने निर्णय गरेको जनाएको छ ।