सिक्टामा पस्यो अख्तियार, अर्बाैं माग दावी सहित विशेष अदालतमा मुद्दा

बाँकेको कृषि उन्नतीमा भाग्य र भविष्यको आयोजना मानिएको राष्ट्रिय गौरबको आयोजना सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । राष्ट्रसेवक कर्मचारीकै मिलेमतोमा अबौं भ्रष्टाचार भएको भन्दै अनुसन्धान थालेको आयोगले आयोजनाका तत्कालिन प्रमुखहरुसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 
शुक्रवार आयोगले सिक्टा सिंचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता गरेको अभियोगमा तत्कालिन आयोजना प्रमुखहरु सहित ठेकेदार कम्पनि सिटिसिइ कालिका कन्ट्रक्सन जेभीका प्रमुख विक्रम पाण्डेसमेत २१ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

 
लागत अनुमानको दोब्बरजसो खर्च भइसक्दा पनि आधा बढी निर्माण बाँकी रहँदै मूलनहरमै गम्भीर समस्या देखिएपछि भ्रष्टाचारको दलदलमा परिरहेको सिक्टाको भविष्य अन्योलमा पर्दै आएको छ । घुलनशील तथा गुणस्तरहीन माटोलाई अनादेखा गरी गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता गरी आर्थिक लाभ लिई भ्रष्टाचारजन्य कार्य गर्ने उद्देश्य राखिएको पाइएको अध्ययनमा पाइएपछि आयोगले आयोजनामा हात हालेको सम्बद्ध स्रोतले जनाएको छ ।

 
प्राविधिकसहितको आयोग टोलीले स्थलगत अध्ययन पछि तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्की रु एक अर्ब ५६ करोड ८२ लाख ८३ हजार १९९, रमेश बस्नेत रु दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२०, सरोज पण्डित रु ५९ करोड ३४ लाख ५२ हजार ५४९, सिडिइ सुइदेव थापा रु २७ करोड २२ लाख ५९ हजार ३२१, योगेन्द्र मिश्र रु २७ करोड २२ लाख ५९ हजार ३२१, श्यामबहादुर कार्की रु ५२ करोड ३६ लाख ६५ हजार १५० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

 
निर्माण कम्पनि कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेविरुद्ध पनि रु दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियरहरु सुशीलचन्द्र देवकोटा रु ५८ करोड ५९ लाख २४ हजार ७१९, कृष्णप्रसाद सुवेदी रु १७ करोड आठ लाख ४३ हजार ६०५, प्रेमराज घिमिरे रु १० करोड ४० लाख १५ हजार ३४३, प्रकाशबहादुर कार्की रु नौ करोड एक लाख ५२ हजार ७१३, वीरसिंह धामी रु ११ करोड ८५ लाख ५९ हजार ७४५ बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ ।
यस्तै सिंचाइ विभागका वरिष्ठ इञ्जिनीयर कमलप्रसाद रेग्मी, विभागका अर्का सिडिइ रविनाथबाबु श्रेष्ठ, विभागकै सिडिइ आषिशभद्र खनालविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । एमएस इआरएमसी आइटइसिओ नेपाल जेभीका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईलाई रु दुई करोड ४० लाख ५५ हजार ८७२ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ ।

 
एमएस इआरएमसी आइटिइसिओ नेपाल जेभीका आधिकारिक प्रतिनिधि हेमनिधि शर्मा र इञ्जिनीयर अरुणकुमार चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । आयोजना प्रमुखसमेत रहेका सर्वदेव प्रसादलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कसुरमा सजाय हुने गरी माग दाबी गरिएको छ ।
आयोजनाको मूल नहर भत्किएको, मूल नहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, परामर्शदाता निर्माण व्यवसायीले पर्याप्त अनुगमन नगरेको पाइएको आयोगको ठहर छ । गुणस्तरीय कार्य हुन नसकेको र एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षणसमेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको पाइएको छ ।

 
आयोगले आयोजनास्थलको अनुसन्धान गर्दा आयोजनाको विभाग तथा सिक्टा सिँचाइ आयोजनामा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीको संलग्नता देखिएको पाइएको थियो । सरोकारवालासँग गहन छलफल, विस्तृत अध्ययन तथा अनुसन्धान, नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण तथा त्यसको उपयुक्तता र विस्तृत आयोजना प्रतिवेदनको तयारीबिना नै गुणस्तरयुक्त नहर निर्माणको लागि अपरिहार्य रहेका र अनिवार्य ठानिएका गुणस्तर परीक्षणलगायतका प्रावधानसमेत ठेक्का सम्झौताको कागजातमा उल्लेख नभएको पाइएको आयोगको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया