सार्वजनिक जग्गा संरक्षण गर्दै नेपालगन्ज

फेला परेका सार्वजनिक तथा ऐलानी जग्गामा विभिन्न योजना बनाउँदै वडा

 

रुपा गहतराज


नेपालगन्ज उपमहानगरपालिका रहेको सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण गर्दै उपमहानगरपालिकाले विभिन्न कार्यका लागि प्रयोग गर्ने प्रक्रिया अगाडि बढाएको छ । उपमहानगरपालिकाले खाली तथा कब्जा गरिएका सार्वजनिक जग्गालाई खाली गराएर संरक्षण गर्ने कार्य अगाडि बढाएको हो ।

 
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ले सार्वजनिक जग्गामा सभाहल, चिल्डे«नपार्क, फुटसलको योजना बनाएको छ । वडाले बाटो ग्राभेल समेत गरिरहेको वडा नं. १२ का वडाध्यक्ष बुद्धि सागर सुवेदीले जानकारी दिए । उनले सार्वजनिक तलाउ, मन्दिर तथा खाली जग्गाहरुलाई संरक्षण गर्दै योजना सुरु गरिएको जानकारी दिए ।
उपमहानगरपालिकाको बोर्ड बैठकले नगर क्षेत्रमा रहेका ऐलानी जग्गा पहिचान गरी संरक्षण गर्ने निर्णय गरेको थियो । पहिचान भएको जगााहरुलाई तारबार गरेर संरक्षण गरिएको वडा नं १८ का वडाध्यक्ष दिपक बर्माले जानकारी दिए । उनले चिल्ड्रन पार्क लगायतका उपमहानगरको सुझावका अनुसार काम भइरहेको भन्दै पोखरी तलाउका जग्गाहरु संरक्षणको काम भएको बताए । खाली जग्गामा संरक्षण गर्न चुनौती नभएपनि कब्जा गरी बसेका जग्गालाई संरक्षण गर्नु चुनौती रहेको बर्माको भनाइ छ ।

 
‘पहिचान भएका ऐलानी जग्गा तारबार गरि संरक्षण गरिएको छ’, नेपालगन्ज उपमहानगरपालिका वडा नं १०का अध्यक्ष बिन्दु भुषण बस्नेतले भने । नेपालगन्ज–२० मनिकापुरस्थित आदर्श उच्च माविको जग्गामा एक बिगा जग्गा संरक्षण गरिएको वडा नं २० का अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । उनले भने, ‘राँझा चोकमा रहेको एक बिगा जग्गामा प्रादेशिक क्षयरोग अस्पताल बनाउने योजना रहेको छ ।’

 
‘सार्बजनिक जग्गा तथा वास्तविक जग्गा कति थियो र हाल कति व्यक्तिले उक्त जग्गा कब्जा गरेर बसिरहेका छन् भन्ने तथ्यांक निकाल्ने तयारी भइरहेको छ’, उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले भने, ‘संरक्षणको काम तिव्र रुपमा अगाडि बढेको छ ।’ ‘ऐलानी जग्गा कब्जा गरेर बसेकालाई खाली गराइयो,’ संरक्षण पश्चात वडाको आवश्यकतालाई ध्यानमा राखेर पूर्वाधार बनाइने नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर बताइन् ।

उपमहानगर–पालिकाका नापी शाखाका पवनदेब अर्यालले सुरुमा जग्गा पहिचान गरी भूमि अतिक्रमण गर्नेलाई हटाउने काम भएको तथा दोस्रो चरणमा भौतिक संमरचना निर्माण कार्य सुरु भएको जानकारी दिए ।
वडा नं १४ को भवानियापुरमा संरक्षणको काम भएको तथा वडा नं २२ मा कान्जि हाउस निर्माण, वडा नं २० मा विद्यालयको जग्गा संरक्षण गरेर पहल भइरहेको छ । सल्यानीबागमा रहेको सार्वजनिक जग्गामा चिल्ड्रन पार्क निर्माण गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया