बाँकेमा बढ्दै नदीजन्य पदार्थको अवैध ‘दोहन’, १५ दिनमा समातिए ४२ ट्याक्टर

गत मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जको अग्रसरतामा नन्दीजन्य पदार्थ अवैध रुपमा निकासी गरिरहेको ३८ ट्याक्टरलाई बाँके प्रहरीले नियन्त्रणमा लियो । तर, त्यसपछि पनि अवैध रुपमा नदीको दोहन रोकिन सकेको छैन । बाँके प्रहरीले बिहीबार पनि चार वटा ट्याक्टरलाई राप्तीनदीबाट अवैध रुपमा बालुवा निकालिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

 
राप्ती नदीको नन्दीजन्य पदार्थको ठेक्का दिने जिम्मेवारी राप्तीसोनारी गाउँपालिकामा छ । तर, गाउँपालिकाले चालु आर्थिक बर्षको पाँच महिना बितिसक्दा पनि ठेक्का प्रक्रिया पूरा गर्न सकेको छैन । बाँकेमा हाल हुलाकी सडक, आठौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार, कोहलपुर, खजुरा तथा नेपालगन्जमा दर्जनौं सडक निर्माण भैरहेका छन् । तिनका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवाको नजिकको स्रोत नै राप्ती नदी हो । तर, समयमै ठेक्का प्रक्रिया सुरु नहुँदा यि आयोजनाहरु समेत प्रभावित भएका छन् ।

 
‘राप्ती नदी बाँकेमा निर्माण हुने भौतिक पूर्वाधारका कार्यका लागि ठूलो प्राकृतिक स्रोत हो’, बाँकेका एक निर्माण व्यवसायी भन्छन्, ‘समयमै काम गर्नुपर्ने भएकाले कतिपय ठेकेदार कम्पनी अवैध रुपमा भएपनि उत्खनन गरी निर्माण समयमै सक्न बाध्य छन् ।’ ती ठेकेदारले समातिएमा जरिवाना तिर्ने रिक्समै भएपछि अवैध उत्खननको काम भैरहेको स्वीकार्छन् । ‘कतिपय ट्याक्टरधनीले आफै पनि अवैध उत्खनन् गरी बेच्ने गरेका छन्’, उनी भन्छन् ।

 
राप्तीसोनारी गाउँपालिकाले भने ढिलो गरी अख्तियारी प्राप्त भएकाले ठेक्का प्रक्रियामा ढिलाई भएको बताउँदै आएको छ । नदीजन्य पदार्थको ठेक्का आव्हान गर्नुअघि अनिवार्य रहेको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन सम्बन्धी सूचना समेत गाउँपालिकाले गत मंसिर ५ गते मात्रै गरेको छ । राप्तीसोनारीले वडा नं. २ को खैरी खोला, वडा नं. ८ को परुवा खोला र वडा नं. ८ र ९ को झिझरी खोलाबाट प्रतिदिन प्रतिखोला ३ सय घनमिटर उत्खनन तथा संकलन कार्यका लागि वातावरणीय परीक्षण अध्ययनको सूचना जारी गरेको हो ।

 
बाँकेमा मात्रै होइन दाङमा पनि अवैध खेलाहरुबाट अवैध रुपमा नदीजन्य उत्खनन भैरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बिहीबार विहान डुडुगा गाउँपालिका वडा नं. ३ स्थित राप्ती नदी किनारबाट बालुवा चोरिरहेको अवस्थामा चार वटा ट्याक्टर सहित चार जनालाई नियन्त्रणमा लिइएको छ ।

 
प्रहरीले डुडुवा गाउँपालिका जक्की रमन, सलिम खाँ, नन्कौ सलमानी, कौशल यादवलाई क्रमशः भे १ त ७९२२, भे १ त ६८९२, भे १ त ७६४७ र भे १ त ७३१३ नम्बरको ट्याक्टर सहित नियन्त्रणमा लिएको हो । ‘नियन्त्रणमा लिएको ट्याक्टर र व्यक्तिलाई डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रण बहादुर विष्टले भने । उनले नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका लागि प्रहरीले निगरानी गरिरहेको जानकारी दिएका छन् ।

 
त्यस्तै, बिहीबार दाङको तुलसीपुरका विभिन्न वडामा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गर्ने पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, रा १ त ८६९, रा १ त १८२३, रा १ त ३११२ र रा १ त ३२६९ नम्बरका ट्याक्टरलाई अवैध उत्खनन गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।
काठ बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध रुपमा ओसारपोसार गर्न लागेको सालको काठ नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा काठको ओसारपोसार भैरहेको छ भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलीले बाँकेको डुडुवा गाउँपालिका ६ हल्दिपुरवा भन्ने स्थानबाट सालको काठ नियन्त्रणमा लिएको हो । ‘वेवारिसे अवस्थमा सालको गोलिया ११ थान नियन्त्रणमा लिएका छौं’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रण बहादुर विष्टले भने, ‘बरामद काठ डिभिजन वन कार्यालयमा बुझाइएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया