समाचारदाता/वसन्त गौतम
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल सम्शेर राणाले बिभिन्न धार्मिक मठ मन्दिरबाट जोड जोडले निस्कने आवाजले आफ्नो निद हराम गर्ने गरेको खुलासा गरे । त्यस्तै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले ध्वनि प्रदुषणका आरामले सुत्न सक्ने अवस्था नभएका कारण रातीमा कोहलपुरमा सुत्न जाने साेंचमा रहेको बताए । जिल्ला प्रशासन कार्यालय अगाडिको खाली जमिनमा गरिने धार्मिक कार्य र विवाह उत्सवमा कारण कोठा बन्द गरेर फोन गर्नु परेको र दैनिक कार्यमा समेत असर पार्ने गरेको भन्दै प्रजिअले आफ्नो पीडा सुनाए ।
ध्वनि प्रदुषण नियन्त्रणका लागि सामुहिक पहल थाल्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको सर्वदलिय बैठकमा प्रजिअ भुजेल, मेयर धवल समशेर राणाका साथै धार्मिक तथा समाजिक सद्भाव समितिका उपाध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरी, राजनैतिक दल, नागरिक समाजका प्रतिनिधिले ध्वनि प्रदुषणले विद्यार्थी, बिरामी, लगायत आम नागरिकलाई निकै असर पारेको भन्दै यसको नियन्त्रण हुनु पर्नेमा जोड दिएका थिए ।
नेपालगन्जमा धार्मिक, सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, समारोह, सम्मेलन, विभिन्न कार्यक्रम, उत्सव लगायतका नाममा डिजे, साउण्ड बक्स समेतको प्रयोग गरी छर छिमेकका नागरिकहरुको स्वच्छ वातावरण सम्वन्धी अधिकारमा प्रतिकूल असर पार्ने भैरहेको पनि त्यसको रोकथाम हुन सकेको छैन ।
धार्मिक, सांस्कृतिक र अन्य समारोह तथा उत्सवहरुमा कति मात्रामा कति समयसम्म ध्वनि, बाजाको प्रयोग गर्न पाइने हो ? सो विषयमा कुनै निश्चित मापदण्ड नतोकिएका कारण ध्वनि प्रयोगकर्ताहरुले आफूखुशी ध्वनीको प्रयोग गर्ने गरेका छन् । विहानदेखि रातभरीसम्म पनि नागरिकहरु ध्वनी प्रदूषणको मारमा परिरहेका छन् । ध्वनि प्रयोगकर्ताले ध्वनि प्रदूषणलाई प्रतिष्पर्धा र धार्मिक आस्था र अधिकारको रुपमा लिने गरेका कारण आमसर्वधारणलाई त्यसले ज्यादै मर्का गएको छ ।
व्यापक ध्वनि प्रदूषणका कारण आम नागरिकहरुको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने स्वास्थ्य सम्वन्धी अधिकार बाट वञ्चित हुनु परेको छ । नियम बिपरित जथाभावी माईकिङ्ग गर्दा, सडकै अतिक्रमण हुने गरि टेन्ट लगाएको डिजे लगाएर ध्वनि प्रदुषण हुँदा समेत प्रशासनले अहिलेसम्म कुनै कारवाही गरेको छैन ।
दिनभरी काम गरेका मजदुर रातमिा आरामले निदाउन पाएका छैनन् । विद्यार्थीको पढाई लेखाइमा डिस्टर्व भैरहेको छ । अस्पतालका बिरामी, अदालती काम काज सबै क्षेत्रमा ध्वनी प्रदुषणले असर पारिरहेको छ । यसरी कानूनहरुको ठाडै उल्लघंन भई दण्डहिनताले प्रश्रय पाएको, अध्ययन अध्यापन गर्ने कार्यमा अवरोध भएको, स्वस्थ रहनको लागि आवश्यक पर्ने निन्द्रामा समस्या भएको आम नागरिक हैरानी ब्यहोरिरहनु परेको छ ।
ठूलो बाजाको आवाजले मानवको सुन्ने शक्तिमा प्रत्यक्ष असर परिरहेको छ । मानसिक विकासमा असर परेका छ । साना बालबालिकाको स्वभाविक रुपमा हुर्किने कार्यमा प्रतिकूल असर परीरहे पनि आम नागरिक चुपचाप सहिसहनु अर्को बिडम्बना भएको छ ।
तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले ध्वनि प्रदुषण सम्बन्धि निषेधाज्ञा परमादेश मुद्दामा ध्वनि प्रदुषणको नियन्त्रणको कार्यलाई परिणमामुखि र प्रभावकारी बनाउन विपक्षीहरु नेपालगन्ज नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयका नाममा २ बर्ष अगाडि निर्देशनात्मक आदेश दिएको भएता पनि त्यसको पालना हुन सकेको छैन ।
अधिवक्ताहरु सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह लगायतले संयुक्त रुपमा मिति २०७३ जेष्ठ २ गते दायर गरिएको निषेधाज्ञा तथा परमादेशको रिट निवेदन उपर सुनुवाई गर्दै पुनरावेदन अदालत नेपालगन्जका तत्कालीन मुख्य न्यायाधीश बम कुमार श्रेष्ठ र बिर बहादुर डाँगीको संयुक्त इजलासले ध्वनि प्रदुषण नियन्त्रण गर्ने आदेश दिइएता पनि आदेश भएको २ बर्षसम्म पनि ध्वनि नियन्त्रण हुनुको साटो झन् बढिरहेको छ ।
विपक्षीहरुद्वारा लिखित जवाफमा उल्लेखित प्रतिवद्धता पुरा गर्ने तर्फ समन्वय र सद्भाव कायम गर्दै ध्वनि प्रदुषणलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? सो बिषयमा समयानुकुलको जनचेतना फैलाउने, विज्ञापन सन्देशमुलक कार्य प्रकाशन गर्ने, प्रचार गर्ने तर्फ परिणाममूखि र प्रभावकारी कार्य अगाडी बढाउनु’ भनी अदालतले आदेश दिएको थियो ।
आवश्यक कदम चालेर ध्वनि नियत्रण गर्न’ तत्काललिन पुनरावेदन अदालत नेपालगन्जले बिपक्षीहरु जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला जन स्वास्थ्य कार्यालय र नेपालगन्ज उपमहानगरपालिका नाममा ४ जेष्ठ २०७३ मा अदालतले आदेश समेत दिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई ध्वनि प्रदुषण मुक्त बनाउने अभियानमा लाग्नु पर्ने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । पहिले हामी सार्वजनिक अपिल गर्छौ । अपिल गर्दा पनि नटेरे कानूनी कारवाही गर्छाै प्रजिअ भुजेलले भने ।
बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मोहम्मद अयुव सिद्धिकीले धर्मका नाममा ध्वनी प्रदुषर्ण गर्ने छुट कसैलाई नभएको भन्दै ध्वनि प्रदुषण गर्नु कानूनी अपराध भएकोले यसको प्रतिकूल कार्यलाई कानूनी कारवाही गर्नु पर्नेमा जोड दिए ।
धार्मिक तथा सामाजिक सद्भाव समिति उपाध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरीले ध्वनी प्रदुषणको शिकार आफु पनि भएको र सबै मिलेर यसको नियन्त्रण गर्नु पर्नेमा जोड दिए । अव सबै धर्म गुरुहरुको बैठक बोलाई धार्मिक मठ मन्दिरबाट निस्कने ध्वनी प्रदुषण नियन्त्रण गर्न पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्दै अरुलाई असर पार्ने गरि धार्मिक मठ मन्दिरबाट ठुल ठुलो स्वरमा ध्वनि ननिकाल्न उनले आग्रह गरे ।