नेपालगन्ज कारकाँदोका सन्तोष कार्कीमाथि बुधबार साँझ सांघातिक आक्रमण भएको छ । घर गेटभित्र छिरेका कार्कीलाई दुई जनाले तानेर बाहिर ल्याई सांघातिक आक्रमण गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा गम्भीर घाइते कार्कीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरी भनाइ छ । ‘घटना लगत्तै आशंकित व्यक्तिलाई नियन्त्रणमा लिन जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रण बहादुर विष्टले भने, ‘दोषीलाई पक्राउ गर्ने प्रयास जारी छ ।’ उनले घटना हुनुको कारण बारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जानकारी दिए ।
पारिवारिक स्रोत अनुसार, सन्तोषमाथि खुँडा प्रहार भएको हो । प्रहरीले भने सन्तोषको हात भाँचिएको भएपनि खुँडा वा धारिलो हतियार नै प्रहार भएको÷नभएको अनुसन्धानपछि माथि प्रष्ट हुने बताएको छ । ‘के, कति कारणले घटना भएको हो हामी अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक विष्टले भने, ‘दोषी पहिचान भएका छन् पक्राउका लागि टोली परिचालित छ ।’
कार्कीमाथि खुँडा प्रहार गर्ने व्यक्ति कारकाँदोको नै भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अपडेट
प्रहरीले कार्कीमाथि खुँडा प्रहार गर्नेलाई बुधबार राती नै बाँकेको कोहलपुरमा नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । उनीहरुबारे अनुसन्धान भैरहेको बताइएको छ ।