महानगर गाथा

विसं. १९९२ सालमैं स्थापना भइकन पनि विविध कारणले बन्द हुन पुगेको नारायण स्कुल १०३ बर्षे निरंकुश राणा शासनको अन्त्यसँगै २००७ सालमा पुनः खुलेको थियो । विसं. २००८ सालमा प्राथमिक तहको स्वीकृति पाएको नारायण स्कुलले २००९मा निमावि र २०१०मा मावि तहको मान्यता पायो ।
नारायण स्कुलले मावि तहको स्वीकृति पाएसँगै ४,५ जना थप शिक्षकको आवश्यता पर्ने भयो । एकैपटक ५ जना शिक्षक नियुक्त गर्नुपर्ने भो । नेपालमा शैक्षिक दक्ष जनशक्तिको अभाव नै थियो । किनकि नेपालमा भर्खरै राणा शासन अन्त्य भएर प्रजातन्त्रले खुट्टा टेक्दै थियो । नेपालमा पढेलेखेका जनशक्ति उत्पादन भइसकेको थिएन । भारतबाट शिक्षक आयात गर्नुपर्ने बाध्यता थियो । यसैक्रममा भारतको बंगालबाट शिक्षणका लागि रामनाथ धिर नेपालगन्ज आएका थिए । उनी प्राय सबै खेलमा निपुण जस्तै थिए । एकहिसाबले अलराउन्डर थिए । तसर्थ उनलाई खेल शिक्षकका रुपमा नियुक्त गरियो । अध्यापनमा त्यत्तिकै प्रभावशाली, सबै खेलका जानकार थिए ।
महानगर गाथाका लागि कुरा गर्ने क्रममा मैले पहिलो पुस्ताका एक खेलाडी सच्चिनान्द चौवेलाई सोधें –‘यहाँको पहिलो आधिकारिक खेल कुन हो र कहिलेदेखि सुरु भयो?’ उमेरमा असीको दशक टेक्दै गरेका चौवेले भने –‘आधिकारिक यही हो भन्न सक्दिन । कुस्ती खेलिन्थ्यो, दौड हुन्थ्यो । भाला, छेलो, डिस्कस, ह्यामर थ्रो हुन्थ्यो र छोटो दौड हुन्थे । अनि भलिबल हुन्थ्यो ।’
त्रिभुवनचोक पुर्वतिर रहेको महेन्द्र पुस्तकालयमा गफिंदै उनले सुनाए –‘राजा महेन्द्रको राज्याभिषेकका अवसरमा हामीले पहिलो पल्ट भेरी अञ्चलको तर्फदेखि प्रतिनिधित्व गर्दै भलिबलमा सहभागिता जनाएका थियौं । आधिकारिक रुपमा खेलिएको माथिल्लो तहको खेल सायद यही नै हो ।’
त्यस प्रतियोगितामा उनले भेरी टिमको नेतृत्व गरेका रहेछन् । विसं. २०१२ साल तिरको कुरा हो । यसअर्थमा नेपालगन्जले यसअघि नै खेलको परिचय पाइसकेको थाहा पाउन सकिन्छ । ‘हामीले २०१० सालमा नारायण स्कुलमा भलिबल खेलेका हौं, एथ्लेटिक्स पनि हुन्थ्यो । बिस्तारै फुटबल, हक्की पनि भित्रिंदै गयो । क्रिकेट पनि त्यतिबेलै भित्रियो ।’–उनले भने–‘नारायण स्कुलमा एक जना खेलशिक्षक हुनुहुन्थ्यो रामनाथ धिर । उहाले नै नेपालगन्जमा खेलकोे परिचय दिनुभएको हो ।’
साढे चार दशक शिक्षण पेशामा बिताएर २०५५ सालमा सेवानिवृत्त भएका चौवे नेपालगन्जमा खेल भित्रयाउने श्रेय रामनाथ धिरलाई दिन्छन् । ‘हामी सबैलाई उहाँले नै सिकाउनु भएको थियो ।’ चौवे भन्छन् –‘त्यसअघि यहाँ कुनै खेल हुन्थ्यो भन्ने मलाई लाग्दैन ।’
नेपालगन्जको खेलकुदमा पहिलो पुस्ताका खेलाडी विश्वनाथ चौवे कक्षा नौ मा पढ्थे । अहिले त ८० को दशकमा टेक्दैछन् । ‘हामीलाई खेलकुद भनेको के हो? केही थाहा थिएन ।’ उनी भन्छन् –‘धिर बाबुले क्रमशः सबै खेल सिकाउँदै जानुभो, पछि त नारायण स्कुल खेलकुदको हब नै बन्यो, बिशेष गरी भलिबलको ।’ चौवेकै भनाइ मान्ने हो भने खेलशिक्षक रामनाथ धिरलाई सबैजना सम्मान भावले ‘धिर बाबु’ भन्थे । यसैक्रममा चौवे समकालीन राम्रा खेलाडीलाई सम्झन्छन् –‘केशव थापा, अंगत खरेल, मधुसुदन श्रेष्ठ, दयानन्द शर्मा, जगदीश श्रीवास्तव, भुवनेश्वर नेपाली ।’
चौवेले २०११ सालमा एसएलसी तह उत्तीर्ण गरे । उनी नारायण माविका पहिलो ब्याचका विद्यार्थी हुन् । नारायण स्कुलले २०१२ सालमा इन्टर कलेजको मान्यता पायो । पछि नारायण डिग्री कलेजसम्म पनि भयो । यस स्कुलले पढाई, खेलकुदलगायत सबै विधामा राम्रो गरिरहेको थियो । झण्डै एक दशकसम्म नारायण डिग्री कलेज चल्यो । यत्तिकैमा यसलाई तत्कालीन शासकले नाम परिवर्तन गरी महेन्द्र डिग्री कलेज नामाकरण गर्ने निर्णय गरे । र, हालको महेन्द्र बहुमुखी क्याम्पस बन्न पुगेको हो, जुन क्याम्पसलाई मध्य तथा सुदुरपश्चिमकै पुरानो क्याम्पसका रुपमा चित्रण गरिन्छ । ‘उच्च शिक्षाका लागि महेन्द्र बहुमुखी क्याम्पस भयोे, तर स्थानीयले खाली ठाउँमा नारायण हाइस्कुललाई निरन्तरता दिए, ती शिक्षकहरुले पढाइरहे ।’– चौवे भन्छन् । पढाउनेमा चौवे स्वयं पर्छन् ।
चौवे स्वयं २०११ सालमा हाइस्कुल उत्तीर्ण गरेपछि २०१२ सालमा नारायणमा शिक्षक नियुक्ति भएका थिए । ‘समय त्यस्तै थियो, पढेलेखेका मानिसको कमी थियो ।’ उनी भन्छन् –‘हाइस्कुल उत्तीर्ण गर्ने बित्तिकै जागिर पाइन्थ्यो, मैले शिक्षकको नियुक्ति पाएँ ।’ समय त्यस्तै थियो, शिक्षण पेशासँगसँगै खेलाडी कर्मलाई अगाडि बढाउनुपथ्र्यो । अरुले पनि अन्य जागिरसँगसँगै खेलाडी पनि हुन्थे ।
पहिलो पटक माथिल्लो तहको प्रतियोगिता राजा महेन्द्रको राज्याभिषेकका अवसरमा काठमाडौं पुगेर भलिबल खेलेको उनी स्मरण गर्छन् । यसमा ठोकुवा गर्नुपर्ने चौवेसँग एउटै कारण छ । खजुरास्थित हवाई अड्डा उद्घाटन गर्न राजा महेन्द्र हवाईजहाज चढेर सेतो पहिरनमा आएको चौवे सम्झन्छन् । ‘उनी सेतो पहिरनमा रहेको झलझली सम्झन्छु । उनले सायद बुवाको बर्खी बारेका थिए ।’ उनी भन्छन् –‘भेरी अञ्चल अस्पतालको उद्घाटन गर्न पनि त्यही दिन राजा नेपालगन्ज आएका थिए ।’ यसैसन्दर्भमा चौवेले एउटा रोचक प्रसंग पनि सुनाए ।–‘राजा मोटर चढेर बागेश्वरी मन्दिर पारिको पुलसम्म आए, त्यहाँबाट पैदल जानुपर्ने भयो, बाटो साँघुरो थियो । राजालाई भुईंमा हिंडाउन हुँदैन भनेर भुवनेश्वर शर्मा (समाजसेवी नर्वदा शर्माका बुवा)ले रातो कार्पेट बिछ्याईदिए, पछि त सबै ब्यापारीले आफ्नो पसलअगाडि तुल बिछ्याउँदै गए, भेरी अञ्चल अस्पतालको उद्घाटन भयो, भव्य सभा नै भयो, त्यतिबेला राज्याभिषेकमा काठमाडौं खेल्न आउनका लागि राजा महेन्द्रले निमन्त्रणा दिएका थिए ।’
खेल शिक्षक धिरबाबुले भारतबाट खेल सामग्री ल्याउँथे र सबैलाई सिकाउँथे । ‘यसरी हामी सबैजनाले खेल्न सिक्यौं । राजाको राज्याभिषेकमा काठमाडौं जानपर्ने भयो । मेरा नेतृत्वमा टिम गयो ।’ उनले भने –‘खेल्ने क्रममा मेरो खुट्टा नै भाँचियो । नेट तल लाइनमा खनेर चुना भरिएको रहेछ, त्यसमा अड्किएर खुट्टामा चोट भयो ।’ त्यतिबेला नारायणी अञ्चल प्रथम भएको थियो ।
यता नेपालगन्जमा खेलगतिविधि बढाउन नारायण स्कुल, मंगलप्रसाद मावि लगायत शैक्षिक संस्था क्रियाशील थिए । टण्डन परिवार ब्यापार व्यवसायमा अगाडि थिए । उनीहरुले आफ्ना सन्तानलाई उच्च शिक्षाका लागि भारत पठाउँथे । त्यसैकारण टण्डन परिवारका सदस्यहरुले पनि खेल भित्रयाउन र यहाँ संस्थागत गर्न योगदान पुर्याएको साहित्यमा समेत त्यत्तिकै सक्रिय चौवेको भनाई छ । राजा महेन्द्र खजुरास्थित हवाई अड्डा उद्घाटन गर्न आउँदा राजाको लागि कृष्णगोपाल टण्डनले मुम्बईस्थित होटल ताजबाट खाना पकाउने कालीगढ र सामग्री उतैबाट झिकाएका थिए ।
मध्यपश्चिमाञ्चल क्षेत्रमा खेलकुद इतिहासको जेठो संस्था नारायण स्कुल नै भएको उनी दाबी गर्छन् । शिक्षाको ज्योति छर्ने हिसाबले मंगलप्रसाद स्कुलको योगदान अग्रणी भएपनि संस्थागत संरचना र खेलकुद विकासक्रमका हिसाबले नारायण नै जेठो भएको उनको भनाई छ । ‘मंगल माडसापले घरमा पढाउनुहुन्थ्यो, मलाई पनि सुरुमा पढाउनुभयो ।’ चौवे भन्छन्–‘सरकारी भवन र संस्थागत रुप धेरै पछि मात्र भएको हो । किनकी मंगल माडसापको कसैसँग हात नफैलाउने बानी थियो, आफ्नै घरमा कसैको सहयोग नलिई शिक्षा बाँड्न पाउँदा उहाँ सन्तुष्ट हुनुहुन्थ्यो ।’ विसं.२०१२ सालतिर मंगलप्रसाद माविमा नर्वदा शर्माहरुले कबड्डी खेलेको आफुले देखेको उनी बताउँछन् । ‘पछि त मंगलबाट राम्रा खेलाडी निस्कन थाले, बिशेषगरी फुटबलका राम्रा खेलाडी मंगलले जन्माउँथ्यो, भलिबलका स्टार नारायणले ।’ नारायण माविका उत्पादन राकेश श्रीवास्तव, तीर्थमान श्रेष्ठ, दीपक सापकोटा र राजुराज शाहीले एशियाडसम्म खेले । निकै तहल्का पिटे । अजित शर्मा, रतन टण्डन पनि राष्टिय स्तरमा नाम चलेका खेलाडी भए । मंगलप्रसादबाट पनि सुरेन्द्र हमाल जस्ता अब्बल दर्जाका खेलाडी जन्मिए । जो बिश्व खेलकुदकै बृहत मेला ओलम्पिकसम्म पुग्न सफल भए ।

प्रतिक्रिया

प्रतिक्रिया