भुक्तानी नपाए काम अगाडि बढाउन सकिंदैन ः ठेकेदार
समयमै हुलाकी सडक सकिनेमा आशंका देखिएको छ । राप्तीपारीको विकास सँग जोडिएको हुलाकी सडक निर्माण सम्पन्न गर्ने समयसीमा अब ८ महिना मात्रै बाँकी छ । तर, बजेट अभावले सुस्त रहेको हुलाकी सडक निर्माण कम्पनीले मंसिरसम्म भुक्तानी नपाए काम अगाडि बढाउन नसक्ने बताएको छ ।
नेपालगन्जको पुष्पलाल चोक देखि कटकुईंया गाबिसको सुईयासम्म ४४ दशमलव ६ किलोमिटर रहेको हुलाकी सडकको बाँके खण्ड निर्माणका लागि २०७३ फाल्गुन ४ गते सम्झौता भई काम अगाडि बढेको थियो । पप्पु लुम्बिनी जेभीको नाममा ठेक्का सम्झौता भएपनि फिल्डमा भने गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नं. ७ फत्तेपुरबाट दुवै तर्फ निर्माण सुरु गरेको गणपतिले गतबर्ष जेठदेखि भुक्तानी पाउन नसकेको जानकारी दिएको छ । ‘१० करोड जति भुक्तानी रोकिएको छ’, कम्पनीका प्रमुख तुलसीराम भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘अब थप लगानी गरेर काम अगाडि बढाउन सक्ने अवस्थामा छैनौं ।’
पप्पु लुम्बनी जेभीले कमला नदीमा पुल बनाउन लिएको ठेक्का पुरा नगरेको र बैंक ग्यारेन्टि समेत रिनो नगराएपछि आयोजनाले उनीहरुको ज्वाइन्ट रहेको अर्को ठेक्काबाट भुक्तानी गर्ने प्रक्रिया अगाडि बढायो । सोही अनुसार बाँकेमा पप्पु लुम्बीनी जेभीले सम्झौता गरेको हुलाकी सडकको बाँके खण्डको भुक्तानी गर्नुपर्ने रकमबाट असुल्न प्रक्रियामा छ । तर, फिल्डमा सबै निर्माणको काम गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनी गरिरहेको छ । यसैले गणपतिले गरेको कामको भुक्तानी पप्पु लुम्बीनी जेभीका नाममा काटिनेछ ।
‘हाम्रो कामको भुक्तानी हामीलाई नै हुनुपर्छ’, भुक्तानीमा समस्या देखिएपछि विभागदेखि मन्त्रीसम्म धाएका गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनीका भण्डारी भन्छन्, ‘छिट्टै प्रक्रिया मिलाएर भुक्तानी गरिने भनेपछि महिनौ बितिसक्दा पनि हुन सकेको छैन ।’ उनी भुक्तानी नपाएपछि काम भने जारी राखेको दाबी गर्छन् ।
हुलाकी सडक निर्माण पूरा गर्नका लागि समस्या ठकेदारको रकम भुक्तानी मात्रै होइन । बाँकेमा ढुंगा, गिट्टीको टेण्डर नहुँदा पनि निर्माण सामाग्रीको अभाव हुने समस्या निर्माण कम्पनीलाई छ । हुलाकी सडक बन्ने स्थानमा रहेका विद्युत पोल अझै हटिसकेका छैनन् भने कतिपय ठाउँमा अझै मुआब्जा वितरण र लगत कट्टा काम सकिएको छैन ।
हुलाकी सडक निर्माण २२ महिनामा ५० प्रतिशत पनि नभएको अनुमान छ । तर, गणपति ग्रुप अफ कन्स्ट्रक्सन कम्पनीका भण्डारी ६० प्रतिशत काम सकिसकेको दाबी गर्छन् । ‘आर्थिक हिसाबले ४० प्रतिशत काम देखिएपनि हामीले फिल्डमा ६० प्रतिशत काम सकिसकेका छौं’, भण्डारीको दाबी थियो ।
सडक निर्माणमा रहेका सबै अवरोध हट्ने हो भने निर्धारित समयमै काम सम्पन्न गर्ने दाबी भण्डारी गर्छन् । तर, भण्डारीले भनेजस्तो सबै अवरोध तत्कालै हट्ने स्थिति भने देखिंदैन । राप्तीपारीको विद्युतीकरणमा चासो देखाउँदैं दशकदेखि रोकिएको काम अगाडि बढाउन पहल गरेका बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले हुलाकी सडकमा पनि चासो देखाएका छन् । उनले भुक्तानीका समस्याले हुलाकी सडक निर्माण जारी रहनेमा समस्या देखेपछि पहल समेत सुरु गरेका छन् । हालै प्रतिनिधिसभा सदस्य गहतराजले नेकपा अध्यक्ष प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटेर तत्कालै हुलाकी सडकको बाँके खण्डको भुक्तानी प्रक्रिया मिलाउन आग्रह गरेका थिए ।
निर्माण सामाग्री अभाव
बाँकेका निर्माण व्यवसायीहरुले निर्माण सामाग्री अभाव भएको बताएका छन् । यसअघि जिल्ला विकास समितिले आव्हान गर्ने नदीजन्य वस्तु उत्खननको टेण्डर गर्ने अधिकार सम्बन्धित स्थानीय तहमा आएको छ ।
बाँकेमा आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा ठूलो परिणाममा हालको राप्तीसोनारी गाउँपालिकाबाट पूर्ति हुने गर्दछ । साउनमै हुनुपर्ने नदीजन्य वस्तुको टेण्डर ढिलोगरी हुँदा विकास निर्माणका काममा समेत असर पर्ने निर्माण व्यवसायीहरुले बताएका छन् । त्यसअघि गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सूचना राप्तीसोनारी गाउँपालिकाले मंसिर ५ गते मात्रै सार्वजनिक गरेको छ ।
साउनमा नै नदीजन्य टेण्डर प्रक्रियाको सुरु गर्नुपर्नेमा राप्तीसोनारी गाउँपालिकाले मंसिर ५ गते मात्रै प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन सम्बन्धी सूचना सार्वजनिक गरेको छ । राप्ती सेनारी गाउँपालिकाले वडा नं. २ को खैरी खोला, वडा नं. ८ को परुवा खोला, वडा नं. ८ र ९ को झिझरी खोलामा औसत प्रतिखोला ३ सय घनमिटर उत्खननका लागि प्रारम्भिक वातावरणीय प्रारम्भिक परीक्षणका लागि सूचना जारी गरेको हो ।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरीले प्रक्रिया पुरा गरेर उत्खननसम्म पुग्दा कम्तिमा ४५ दिन लाग्ने बताएका छन् । उनले ढिलोगरी अधिकार प्राप्त गर्दा नदीजन्य वस्तु टेण्डरको प्रक्रिया ढिलाई भएको बताएका छन् ।