नेपालगन्जमा ‘गोल प्रोजेक्ट’को आश

‘आधारभूत भौतिक पूर्वाधारहरु जुटाउन सक्यौ भने फिफा गोल प्रोजेक्ट आकर्षित गर्न सक्नेछौं’, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले शनिबार साँझ दैनिक नेपालगन्जसँग भने, ‘त्यसो भयो भने यो नेपालगन्जको मात्र होइन देशकै गौरव हुनेछ ।’ संघका अध्यक्ष शाहीले त्यसो भनिरहँदा उनका अगाडि दर्जनौं बालबालिकाहरु फुटबल छोप्न कुदिंरहेका देखिन्थ्ये ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ अध्यक्ष प्रमोद रिजालको विशेष पहलकदमीमा नेपालगन्जमा मिनि फुटबल एकेडेमीको पहल अगाडि बढेको छ । वडाध्यक्ष रिजालले धम्बोझी स्थित श्री गोकुलेश्वर रामजानकी महादेव मन्दिरको २३ कठ्ठा जग्गामा बालबालिकाहरुलाई फुटबल एकेडेमी स्थापनाका लागि उपलब्ध गराउन पहल गरेपछि दुई महिनायता दर्जनौं बालबालिकाहरु प्रत्येक साता शुक्रबार र शनिबार फुटबलसँग रमाउन थालेका छन् । ‘यो देखेपछि राम्रै काम गरिएछ भन्ने लागिरहेको छ’, वडाध्यक्ष रिजालले दैनिक नेपालगन्जसँग भने । शनिबार साँझ प्रस्तावित मिनि फुटबल एकेडेमी निर्माण स्थलमा पुगेका वडाध्यक्ष रिजालसँगै रहेका धम्बोझी युवा क्लबका अध्यक्ष देबेन्द्र खड्का पनि उत्साहित देखिए । उनको भनाइ थियो, ‘कुनै बेला धम्बोझी र फुटबल पर्याय थिए ।’

 


बाँके जिल्ला फुटबल संघले वडाध्यक्ष रिजालको विशेष पहलकदमीमा धम्बोझी युवा क्लबको सहयोग समेत लिएर मिनि फुटबल एकेडेमी सञ्चालनको योजना अगाडि बढाएको छ । त्यसका लागि प्रत्येक शुक्रबार र शनिबार ५० बढी बालबालिकाहरु नियमित फुटबल प्रशिक्षणमा आउने गरेका छन् । ‘अभिभावकहरु सँग पुगेर बालिकाहरुलाई मैदानमा ल्याउनका लागि अझै कसरत बाँकी छ’, संघका अध्यक्ष शाहीले भने, ‘त्यसले गर्दा बालकहरुको संख्या मात्र मैदानमा देखिएको छ ।’


बाँके जिल्ला फुटबल संघले मिनी फुटबल एकेडेमीको विभिन्न चरणका योजना अगाडि बढाएको छ । अध्यक्ष शाहीका अनुसार, पहिलो चरणमा एन्फाको पाँच लाख र स्थानीय स्रोत व्यवस्थापन गरी पाँच लाख जुटाएर प्रारम्भिक मैदान तयार गरिएको छ । मन्दिरको २३ कठ्ठा मध्ये राष्ट्रिय स्तरको प्रशिक्षण सञ्चालनका लागि आवश्यक क्षेत्रफल जग्गामा पर्खाल लगाउने योजना बनाइएको छ । ‘दोस्रो चरणको कामका लागि कम्तिमा १५ लाख रुपैयाँ आवश्यक छ’, अध्यक्ष शाहीले बाउण्ड्रीवाल, शौचालय लगायतका भौतिक पूर्वाधारका लागि तत्काल बजेटको खोजीमा रहेको जानकारी दिंदै भने, ‘विश्वास छ, नेपालगन्ज उपमहानगरपालिका, क्षेत्रीय खेलकुद विकास समितिबाट यो जोहोको सम्बोधन हुनेछ ।’


अध्यक्ष शाहीले त्यसो भनिरहँदा हाम्रो अगाडि मिसन आठौं अर्थात् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघारमा छ । आठांैका लागि खेलकुद प्रतियोगिताका पूर्वाभ्यास गर्ने थलो नेपालगन्जमा छैन । रंगशाला मर्मतमै छ, विकल्पका रुपमा रहेको प्रहरी व्यायामशाला मुस्किलले प्राप्त हुने गरेको छ । बालबालिकालाई फुटबल प्राक्टिस गराइरहेका प्रशिक्षक रविन्द्र श्रेष्ठ भन्छन्, ‘आठौं राष्ट्रिय खेलकुदका लागि फुटबलको उपयुक्त प्राक्टिस भेनु यही हुनसक्छ ।’ उनले त्यसो भनिरहँदा अर्का फुटबल प्रशिक्षक सानु तामांगले शनिबारदेखि आठांै राष्ट्रिय फुटबल प्रतियोगिताका लागि जिल्ला स्तरीय छनोट त्यही ग्राउण्डमा भैरहेको जानकारी दिए ।
एन्फाले नेपालगन्जमा गोल प्रोजेक्टका लागि उपयुक्त स्थान खोजिरहेको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले आधारभूत पूर्वाधार तयार गर्न सक्यौं भने गोल प्रोजेक्ट धम्बोझी स्थित प्रस्तावित मिनि फुटबल एकेडेमीमा आउने कुरामा आशावादी छन् । ‘पहिलो चरणको काम पूरा भएको छ, दोस्रो चरणका लागि १५ लाख रुपैयाँ आवश्यक छ’, अध्यक्ष शाहीले भने, ‘जगेडामा चलेका हामीहरुका लागि दोस्रो चरणको सहयोग जुट्यो भने बाथरुम, चेन्जिङ रुम, अफिस लगायतका काम गर्न सकियो भने गोल प्रोजेक्ट आउने निश्चित छ ।’
प्रत्येक साता शुक्रबार र शनिबार ५० बढी बालबालिकाले फुटबल प्रशिक्षण लिइरहेको धम्बोझी स्थित प्रस्तावित मिनी फुटबल एकेडेमी स्थल नेपालगन्ज–१, जानकीको इन्द्रपुर र नेपालगन्ज–१८ को सीमा क्षेत्रमा पर्छ । दैनिक युवाहरु फुटबल प्रशिक्षण गरिरहेका उक्त मैदानमा एकेडेमी स्थापना भएमा त्यसको व्यवसायिक उपयोगिताबाट आउने शुल्कबाट एकेडेमीको उद्देश्यहरु अनुसार फुटबल प्रशिक्षण गर्ने न्यूनतम शुल्क जुट्ने आशा अध्यक्ष शाहीको छ । ‘सबैको साझा पहल भयो भने फुटबलको एउटा नमूना आयोजना यहाँ सञ्चालनमा ल्याउन सकिनेमा म विश्वस्त छु’, अध्यक्ष शाहीले भने । नियमित प्रशिक्षणमा सहभागी स्थानीयबासी समेत रहेका श्रेष्ठले बालबालिकाहरुको आकर्षण बढ्दै गएको र यसबाट आफु उत्साहित भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

प्रतिक्रिया