केराउ भारत तर्फ तस्करी !

तेस्रो मुलुकबाट आयात हुने गरेको केराउको भारततर्फ तस्करी हुने क्रम रोकिएको छैन । भन्सारसँग जोडिएका तराईका नाकाहरुबाट भारत तर्फ केराउ तस्करी हुने गरेको हो ।

 
साइकलदेखि ट्याक्टरसम्म भित्री नाकाहरुको प्रयोग गरेर तस्करहरुले केराउ भारततर्फ लैजाने गरेका छन् । तेस्रो मुलुकबाट भारतीय बाटो भित्रिने केराउ नेपालभन्दा भारतमै प्रतिकेजी १५ रुपैयाँसम्म बढीमा बिक्री हुने गरेपछि तस्करी मौलाएको हो । नेपालबाट मरिच, दाल तथा भारतीय बजारमा मूल्य बढीको रहेको अवस्थामा पेट्रोलियम पदार्थ समेत तस्करी हुने गरेको छ ।

 
अवैध रुपमा केराउ भारततर्फ जान थालेपछि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार तस्करीको आशंकामा नेपालगन्ज–२२ पुरैनीबाट १२ हजार किलो केराउ नियन्त्रणमा लिएको छ । नेपालगन्जबाट सीमावर्ती गाउँ नरैनापुर त्यति ठूलो परिणाममा लग्न थालेको पाएपछि प्रहरीले दुई वटा ट्याक्टर, दुई वटा चालक र केराउ धनीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद केराउको मूल्य ८ लाख १६ हजार रुपैयाँ रहेको अनुमान गरेको छ ।

 
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, केराउ ढुवानीका लागि प्रयोग गरिएको भे १ त ६७५४ र भे १ त ५०२८ नम्बरको ट्याक्टर, चालकहरु नरैनापुरका जाकिर खाँ, बाजु खाँ र केराउ धनी नरैनापुरकै बाबे खाँलाई नियन्त्रणमा लिइएको हो । ‘नियन्त्रणमा लिइएको केराउ, सवारी साधन र व्यक्तिहरुलाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अर्यालले भने, ‘सीमापारी बढी मूल्यमा बिक्री हुने भएपछि यहाँबाट अवैध नाका प्रयोग गरी केराउ लग्न खोजिएको हो ।’

 
नेपाल केराउमा आत्म निर्भर छैन । केराउ क्यानाडा, अष्ट्रेलिया, युक्रेन, बेलारुसलगायत देशबाट आयात गरिन्छ । नेपालमा प्रतिकेजी ७२ रुपैयाँसम्म पर्ने केराउ भारतमा पुगेपछि ८५ देखि ९० रुपैयाँमा बिक्री हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया