नेपालगन्ज म्याराथनको सन्देश

टीएस ठकुरी

सामान्य चियागफमा गरिएको परिकल्पनाले जन्मिएको नेपालगन्ज म्याराथनले शनिवार चौथो संस्करण पुरा गर्दा केही गहन सन्देश दिन सफल भएको छ । पहिलो सन्देश त राष्ट्रिय स्तरका धावकहरुमा यसले बिश्वास दिलाइसकेको रहेछ । कान्छीमाया कोजु र भुमिराज राइसहितका पदकधारी धावकको उपस्थिति ज्वलन्त उदाहरण हुन् ।
कान्छी र भुमि त राष्ट्रिय च्याम्पियन नै हुन्, जो नेपालगन्ज म्याराथनको चौथो संस्करणमा आआफ्ना विधामा विजेता बनेर ऐतिहासिक सहर नेपालगन्ज उपमहानगरपालिकाको मुख्यद्वार अगाडि तयार पारिएको स्टेजमा पदक र ट्रफी चुमे । उनीहरुमार्फत प्रवाह हुने सकारात्मक सन्देशले ठुलो अर्थ राख्छ, जो नेपालगन्जले आर्जन गर्न सफल भयो । कान्छी र भुमिसहितका धावकहरुलाई नेपालगन्ज म्याराथनप्रति बिशेष आकर्षित गर्न सक्ने केही त्यस्ता आधारहरु देखा परे, जुन जनस्तरबाट भए ।

 

पञ्चेबाजाको स्वागतसँगै दौड सुरु गरेका धावकले दौडलाई पुरा गर्दा पनि सयौंको संख्यामा स्थानीयको तालीको गडगडाहटसँगै पञ्चे बाजाको सम्मान थापे । सिंगो सहरले थाहा पाउने गरी भएको म्याराथनले भोलिका दिनमा तमाम धावक र म्याराथनप्रति चासो राख्नेहरुलाई नेपालगन्ज आउन बाध्य तुल्याउनेछ । जसले यहाँको व्यापार तथा पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्नेछ । प्रोफेसनल धावकलाई प्रभाव पार्ने अर्को अस्त्र हो, धावन मार्ग । सडकदेखि सडकसम्म दौडाइएको नेपालगन्जको रुट सम्भवतः संसारमै सहज रहेको ओलम्पियन रघु वन्तले बताएका छन् । जसका कारण रेकर्ड तोड्ने लोभले पनि धेरैभन्दा धेरै राम्रा धावकहरु नेपालगन्ज आउन चाहन्छन् । बीपी चोकदेखि सुरु भएको म्याराथन कोहलपुर चौराहदेखि उत्तरतर्फ तीन किलोमिटर अघि पुगेर पुनः त्यही रुट भइ बीपी चोक फर्किएको थियो । अर्कोतर्फ नेपालकै पुरानो र नियमित काठमाडौं म्याराथनका टिम लिडर निलेन्द्रराज श्रेष्ठले त कार्यक्रममै भने, ‘यो नेपालकै सर्वोत्कृष्ट म्याराथन बन्न सक्ने आधारहरु देखिएका छन्, सिंगो उपमहानगरपालिकाले यसको अपनत्व र अभिभावकत्व लिन अग्रसर रहोस ।’

 

सिधा सडकमा दौडदा धावकले गर्ने सहज अनुभुति पहिलो आकर्षण हो । दोस्रो हो सुरक्षाको प्रत्याभुति । यसपटक सुरक्षा निकायले मनदेखि सघायो । यो मैले भनेको हैन, म्याराथनको दौरान निरीक्षणमा निस्किएका ओलम्पियन रघु वन्त र निलेन्द्रराज श्रेष्ठको मुखबाट निस्किएको वाक्य हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलको जिम्मेवारपुर्ण कार्य प्रशंसनीय छ । ट्राफिक प्रहरीले यातायात व्यवस्थापनमा नमुनायोग्य काम गरेर देखायो । ट्राफिक प्रहरी निरीक्षक हिरेन्द्र रोकाय र स्थलगत कमान्डर प्रहरी नायब निरीक्षक भिम ओलीको भुमिकालाई पनि सलाम । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जसरी समन्वय गर्यो, आयोजकलाई यसले थप उर्जा प्राप्त भएको छ । सेना, रेडक्रस र सिद्धार्थ अस्पतालले एम्बुलेन्स तथा स्वास्थ्यकर्मी परिचालन गरेर सडकमा एकसुरले दौडिरहेका धावकलाई आश्वस्त तुल्याए । सेनाकी मेडिकल अफिसर सुम्निमा राइको गाम्भिर्यताले पनि मन छोयो । सुम्निमा साँच्चिकै कर्तव्यनिष्ठ र जिम्मेवार सिपाही नै रैछिन् । पुर्व फुटबलर मेजर दीपबाबु श्रेष्ठले नागरिक र सेनाबीच पुलको काम गरिदिए । कुनैपनि निकायमा खेलकुद बुझेका अफिसर हुँदाको फाइदा यस्तो हुँदोरहेछ ।

 
त्यसैगरी अझ महत्वपुर्ण काम नेपालगन्ज साइक्लिङ क्लबका सदस्यहरुले गरेको स्कर्टिङ झन् लोभलाग्दो देखियो । ध्वनिरहित र प्रदुषणरहित माहोलमा दौडनुको मजा सायद बेग्लै हुन्छ । कान्छी र भुमिसहितका धावकले त्यो अनुभुति गरेको हुनुपर्छ । र, त म्याराथनपश्चात अपलोड गरिएको साइक्लिष्टको फोटोमा कान्छीले कमेन्ट लेखिन्–‘तपाईहरुले धेरै राम्रो गर्नुभयो ।’

 
बिभिन्न पेशा र व्यवसायमा संलग्न व्यवसायिक व्यक्तिहरुको समुह हो नेपालगन्ज साइक्लिङ क्लब । पुर्व ब्रिटीस सेना केसरबहादुर आले यो क्लबको नेतृत्व गर्छन् । क्लबका सबै सदस्यहरु आआफ्ना पेशा र व्यवसायका अब्बल छन् । स्वार्थरहित भावनाका यी सहकर्मीहरुले गरेको सहकार्य, साझेदारी र सहयोग अर्को लोभलाग्दो पक्ष हो । पुरा धावकको स्कर्टिङ साइक्लिष्टले गर्नु नेपालमै पहिलो हो, सम्भवतः संसारमै । जुन साँच्चिकै तारिफयोग्य पनि रह्यो । आसन र भाषणमा आयोजकले कतैपनि जोड दिएन । नगरप्रमुखले स्वागत गर्नुभएको म्याराथन नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदका कार्यकारी प्रमुख सदस्यसचिव केशव बिष्टको शुभकामना मन्तव्यसँगै सुरु भयो । म्याराथनका शीर्ष आठ धावकको आगमनसँगै सुरु भएको पुरस्कार वितरण कार्यक्रम १५मिनेटमै सम्पन्न भयो । यसले कसैलाई पनि पट्यारलाग्दो अनुभुति भएन ।

 

 
सायद संसारमा हुने प्रतिष्ठित म्याराथनहरुको महत्व र गरिमा बुझेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमसेर राणा पुरा कार्यक्रम अवधिभर भेन्युमै रहे । र, कार्यक्रमपश्चात उनले अफिसियल पेजमा लेखे –‘यो म्याराथनले नेपालगन्जलाई थप खेलप्रेमीहरुको सहरका रुपमा चिनाएको छ, गौरव लागेको छ, यसले निरन्तरता पाओस । हाम्रो सधैं सहयोग र सदभाव रहिरहनेछ ।’ पक्कै नगर प्रमुखलाई यस म्याराथनको सफलताले छोएको हो भने यसले लिने गति, आकार र उचाइ हामीले परिकल्पना गरेकै जस्तो हुनसक्छ आगामी संस्करणमा । किनकी हामीले बर्लिन म्याराथन र बोस्टन म्याराथन पढेर नेपालगन्ज म्याराथनको यात्रा प्रारम्भ गरेका थियौं चार बर्षअघि । पत्रकार जनक नेपालसहितको चियागफले जन्माएको नेपालगन्ज म्याराथन अब त सबैलाई लोभ्याउने भइसकेको छ । हामी सहकार्य र साझेदारीका लागि बर्षेनी हात अघि बढाइरहेका छौं । काम र परिणाममा मात्र बिश्वास गर्ने क्रियटिभरको सानो टिम हो यसको आयोजक । जो नेपालगन्जलाई समृद्धिको बाटोमा लैजान बृहत चिन्तन गर्दछ । कुनै व्यक्तिका अनुहार मन परोस, नपरोस । आउनुस सबै मिलेर नेपालगन्जलाई आकर्षणको केन्द्र बनाऔं ।

 
यो म्याराथन बिलकुल दौड मात्र हैन, यो दुई सहर जोड्ने पुल पनि हो । तीन पालिका जोड्ने लामो पुल । नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका र कोहलपुर नगरपालिका जोड्ने एउटा सदभावको पुल बन्न सक्छ यो म्याराथन । एउटा ऐतिहासिक सहर र अर्को उदाउँदो सहर जोड्ने म्याराथन संसारमा सायद बिरलै छ । अर्को यो रुटमा पर्ने बिभिन्न जातीय क्लष्टरलाई जोड्ने सेतु पनि बनेको छ यो म्याराथन ।

 
त्यसैपनि नेपालगन्ज आफैंमा सदभावको सहर हो । जातीय, धार्मिक, साम्प्रदायिक तथा सांस्कृतिक विविधता यहाँ पाइन्छ । सिंगो नेपालको तस्वीर नेपालगन्जमा पाइन्छ । किनकी पृथ्वीनारायण शाहले भनेका छन् –‘नेपाल चार वर्ण छत्तीस जातको फूलवारी हो ।’ तसर्थ यो जातीय तथा धार्मिक समिश्रण यहाँ पाइन्छ । र, यो नेपालगन्ज कोहलपुर सडक खण्डले यो विविधतालाई जोडेको छ, तसर्थ हामी भन्छौं यो म्याराथन दुई सहर जोड्ने सेतु हो । अर्कोतर्फ मंसिर ५ गतेको अवसरमा हुने म्याराथन हुनुका नाताले पनि यसको आफ्नै पहिचान छ । दशक लामो सशस्त्र द्वन्द्धको विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा सुरु गरिएको नेपालगन्ज म्याराथन इतिहास जीवन्त राख्ने माध्यम पनि बन्नेछ । तसर्थ भन्न सक्छौं,समग्र नेपालगन्ज मंसिर पहिलो साता शान्तिको सन्देश बोकेर दौडन्छ ।

 
अर्को महत्वपुर्ण पक्ष हामी यहाँको सांस्कृतिक विविधतालाई पर्यटकीय ढंगले विकास गर्नसक्छौं, म्याराथनमार्फत प्रचारप्रसार गर्न सक्छौं । वृत्तचित्र ‘नेपालगन्ज ः खेलाडीको सहर’ हेरिसकेपछि क्रियटिभ फिल्म निर्देशकले भनेका थिए –‘नेपालगन्ज आफैंमा जीवन्त स्टुडियो रहेछ ।’ तसर्थ अब हामीले म्याराथनमार्फत देश विदेशमा नेपालगन्ज चिनाउन सक्छौं । लामो समय मध्य र सुदुरपश्चिमको प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिएको नेपालगन्ज पछिल्लो समय शिक्षा र स्वास्थ्यको हबका रुपमा रह्यो । पर्यटकीय गेटवे, ट्रान्जिट प्वाइन्ट र प्रमुखमध्येको नाका भनेर चिनिएको नेपालगन्जले अब नयाँ ढंगले सोच्ने बेला आइसकेको छ । किनकी यो प्रादेशिक राजधानीबाट टाढिइसकेको छ । तैपनि ठुला ठुला इभेन्टहरुले प्रदेश ५, ६ र ७ को केन्द्रका रुपमा स्थापित गरिरहने सम्भावना ज्युकात्युँ छ । जुन जनस्तरबाट पनि सम्भव छ । पत्रकार जनक नेपाल भन्छन्–‘एउटा सहरको सबैभन्दा ठुलो सामथ्र्य भनेको त्यहाँका बासिन्दाको जागरुकता र संकल्प हो, अनिमात्र नेतृत्वको कुरा आउँछ।’ तसर्थ नेपालगन्ज अब हामीले बनाउने हो । सिनेमा, साहित्य र खेलकुदका विविध उत्सवले नेपालगन्जलाई उत्सवको सहरको चिनारी दिनसक्छ । जसमा नेपालगन्जले नयाँ नयाँ अभ्यास गरिसकेको छ । तसर्थ आउनुहोस, सबै मिलेर नेपालगन्जलाई समृद्धिको बाटोमा लैजाऔं, सबैको आकर्षणको थलो बनाऔं । सबैको जय होस ।

प्रतिक्रिया

प्रतिक्रिया