नेपालगन्जबाट पत्रकारिता थालेर हाल राजधानी काठमाडौंमा सक्रिय पत्रकार सरोजराज अधिकारीले आफ्नो चौथो पुस्तकका रुपमा उपन्यास ‘धम्बोझी’ प्रकाशनमा ल्याएका छन् । सांग्रीला बुक्सले धम्बोजी प्रकाशन गरेको हो । पुस्तकलाई विमोचन बिनै शनिवारबाट बजार पठाइएको छ ।
‘लेखकले पुस्तक विमोचन कार्यक्रम नगरिकनै बजारमा पठाउन भने पछि हामीले बिमोचनमा हुने अनुमानित खर्च बराबरको पुस्तक सामुदायिक बिद्यालयलाई उपलब्ध गराउने निर्णय गरेका हौँ,’ सांग्रीला बुक्सका मणि शर्माले भने ‘धम्बोझी प्रकाशनको अवसर पारेर सांग्रीलाको आफ्नो प्रकाशन र अन्य गरि करिब तीन सय पुस्तक सिन्धुलीको झाँगाझोली, रातामाटास्थित श्री प्रगतिशील मा. बि.का सहायक प्रधान अध्यापक केशब भट्टराईलाई उपलब्ध गराएको छौं ।’
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारीले मधेश राजनीति र पछिल्लो मधेश आन्दोलनको आरोह–अवरोहमाथि लेखिएको उपन्यास ‘धम्बोझी’ उपन्यासमा आन्चालिक परिवेश र अवधी भाषिकाको प्रयोग सहितको संवादले देहातको मिठासपूर्ण भाव सन्चार गरेको छ । ‘नेपालगन्जको धम्बोझी सेरोफेरोको बिम्बमा लेखिएको यो उपन्यास शैली भैएपनि वास्तवमा यसका कथाबस्तु वास्तविकताका नजिक छन्,’ लेखक अधिकारीले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्ज, बाँकेको सेरोफेरोको प्लटमा लेखिएको यस उपन्यासले मधेशमा राजनीतिक अधिकारको लागि भएको लामो संघर्ष र धोकाधडीलाई आफ्नो बिषयबस्तु बनाएको छ । ‘धम्बोझी उपन्यासलाई चांडै सांग्रीला बुक्स–इन्डिया मार्फत हिन्दी र अंग्रेजी भाषामा ल्याउँदै छ,’ प्रेस विज्ञप्तिमा दिइएको जानकारी अनुसार, अंग्रेजी र हिन्दी भाषामा यसलाई सोमेश बर्माले अनुवाद गर्दै छन् ।
यस अघि पत्रकार अधिकारीकोे गैर आख्यान कृति ‘जासुसीको जालोः बिदेशी गुप्तचरको नेपाल चलखेल’ र ‘चक्रब्यूहमा चन्द्रसूर्यः रास्ट्रिय सुरक्षा र स्वाधिनताका चुनौती’ नामक खोजमूलक पुस्तक प्रकाशन भैसकेको छ भने आख्यान तर्फ ‘रुपबजारकी नोरा’ कथा संग्रह प्रकाशन छ । लेखकका चार वटै पुस्तक अनलाइन किताब बिक्रेता किताबयात्रा डट कम र इ–सेवा पसल मार्फत मात्र नौ सय उनन्सय रुपियामा समेत उपलब्ध रहेको सांग्रीलाका प्रमुख शर्माले जानकारी दिएका छन् ।