शनिबार नेपालगन्जमा आयोजना गरिएको नेपालगन्ज पीस म्याराथनको उपाधि नेपाल प्रहरीका भुमिराज राईले हात पारेका छन् ।
प्रतियोगितामा उपाधि हात पारेका राईले ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पार गरेका थिए । उनले ६० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।
त्यसैगरी दोस्रो र तेस्रो स्थानमा सशस्त्र प्रहरीका क्रमश खिमबहादुर खत्रीले ३० हजार र गणेशसिंह ठकुरीले २० हजार प्राप्त गरे । महिला हाफ म्याराथनमा प्रथम स्थानमा कान्छीमाया कोजी, दोस्रो स्थानमा बृन्दा श्रेष्ठ, र तेस्रो कृष्णाश्वरी सिन्तकला भइन् । उनीहरु तीनै जना सशस्त्र प्रहरीका हुन् ।
यसैगरी ५ किलोमिटर दौडमा छात्रातर्फ कालिकोटकी मंगला बुढा पहिलो, दाङका अनिशा चौधरी दोस्रो र दाङकै सुमित्रा चौधरी तेस्रो भएका थिए । छात्रतर्फ जुम्लाका नरेश बुढा पहिलो, बर्दियाका माधव चौधरी दोस्रो र कालिकोटका सन्तोषनाथ योगी तेस्रो हुन सफल भएका छन् ।
क्रियटिभ ह्यान्ड्सको आयोजनामा भएको पिस म्याराथनको यो चौथो संस्करण हो । म्याराथनका उपाधि विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणा, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बाँके जिल्ला तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षक र कर्मचारीले गिनीज बुकमा नाम लेखाउन सफल किर्तिमानी धावक हरिबहादुर रोकायलाई आर्थिक सहयोग पनि गरेका थिए ।
(सबै फोटो भिडियो कविर अन्सारी)