नेपालगन्ज म्याराथनको चौथो संस्करणसम्म आइपुग्दा स्तरोन्नती गर्दै प्रतियोगितालाई राष्ट्रिय स्तरमा पुर्याइएको आयोजक क्रियटिभ ह्याण्डस नेपालगन्जले जनाएको छ । प्रतियोगिता तयारी पूरा भएको जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्रियटिभ ह्याण्डसका कार्यकारी अध्यक्ष टीएस ठकुरीले भने, ‘नेपालगन्ज म्याराथनको स्तर, सहभागिता र आकर्षण बढ्दै गएको छ ।’
आज शनिबार विहान विपीचोकबाट सुरु हुने नेपालगन्ज म्याराथनको गन्तव्य कोहलपुर, चिसापानीको कौशिल्यानगर नजिक हुनेछ । ‘यसपालीको दौड रोड टु रोड हुनेछ’, कार्यकारी अध्यक्ष ठकुरीले नेपालगन्जलाई विश्वस्तरमा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको प्रतियोगिताले राष्ट्रिय पहिचान र आकर्षण बनाइसकेको जानकारी दिंदै भने, ‘यसपालीको प्रतियोगिताबाट नेपालगन्ज म्याराथन प्रतिको आकर्षण अझ बढ्ने विश्वस्त छौं ।’
नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले राष्ट्रिय स्तरका धावकहरु नेपालगन्ज पुगिसकेको जानकारी दिए । जुम्ला, रुकुम, सल्यान, दाङ लगायतका जिल्लाहरुबाट समेत प्रतियोगीहरु नेपालगन्ज आइसकेको डाइरेक्टर गुरुङले बताए । कार्यक्रम संयोजक यमनारायण महतोले यसपटक धावकहरुलाई साइकिलिष्टहरुले स्कटिङ गर्ने जानकारी दिंदै नेपालगन्ज साइकिलिङ क्लबले त्यसको नेतृत्व लिएको बताए ।
कार्यक्रम बीच कृतिमानी धावक ओलम्पियन हरि बहादुर रोकायलाई क्रियटिभ ह्याण्डसले सम्मान गर्ने भएको छ । एभरेष्ट म्याराथनमा कृतिमान कायम गरी गिनिज बुकमा नाम लेखाउन सफल रोकायलाई सम्मान गर्न लागिएको अध्यक्ष ठकुरीले जानकारी दिए । पत्रकार सम्मेलनमा आयोजकले सम्पूर्ण तयारी सकिएको जानकारी दिंदै नेपालगन्जदेखि कोहलपुरसम्मको ४२ किलोमिटर बढी दौड लगाउने म्याराथनका सहभागीहरुलाई हौशला प्रदान गर्न आव्हान गरिएको थियो ।
आयोजक क्रियटिभ ह्याण्डसका अनुसार, आठौं राष्ट्रिय खेलकुद २०७५ लाई लक्षित गरी यसपटकको आयोजनालाई थप भव्यता दिने कोशिश गरिएको छ । फुल म्याराथन, हाफ म्याराथन, पाँच किलोमिटर स्कुल स्तरीय दौड, ह्विल चियर दौड र वाकाथन आयोजना हुने नेपालगन्ज म्याराथनलाई भव्यता दिन पञ्चेबाजादेखि नेपाल प्रहरीको ब्याड बाजा समेतको प्रस्तुति हुने बताइएको छ ।
दश बर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा गरिंदै आएको नेपालगन्ज म्याराथन यसबर्ष आज शनिवार आयोजना गर्न लागिएको हो । ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथनको यो चौथो संस्करण हो ।
यस वर्षपनि नेपालगन्ज म्याराथनमा खुल्ला पुरुषतर्फ ४२ किलोमिटर दौड, महिला खुल्लातर्फ २१ किलोमिटर हाफ म्याराथन रहेका छन् । म्याराथनमा प्रथम हुनेलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैठौंलाई ७ हजार, सातौंलाई ६ हजार नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ । हाफ म्याराथनमा प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार, चौथोलाई ५ हजार, पाँचौंलाई ४ हजार, छैठौंलाई ३ हजारबाट पुरस्कृत गरिने बताइएको छ ।
आयोजकले दिएको जानकारी अनुसार, विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड यस पटक पनि समावेश गरिएको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि खुला दुई किलोमिटर ट्राइसाइकल दौड राखिएको छ । यी तीन विधामा शीर्ष चार जनालाई पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद दिइनेछ ।