आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गरिने राखेपको प्रतिबद्धता

‘उद्घाटन अहिलेसम्मकै भव्य’

आगामी माघ अन्तिम साता नेपालगन्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने कुरामा कुनै शंका नगर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले विश्वस्त पारेका छन् । समयमै प्रतियोगिता आयोजना हुने प्रतिबद्धता जनाउँदै सदस्य सचिव विष्टले शुक्रबार नेपालगन्जमा पत्रकारहरु माझ भने, ‘प्रतियोगिता अहिलेसम्मकै ऐतिहासिक र भव्य हुनेछ ।’

 
प्रदेश ५ का विभिन्न जिल्लामा आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर निर्माणाधिन भौतिक पूर्वाधारको स्थलगत अध्ययन, अनुगमनका लागि नेपालगन्ज आइपुगेका सदस्य सचिव विष्टले पत्रकारहरुसँग भने, ‘निर्मार्णाधिन काम सकेर समयमै प्रतियोगिता हुनेछ ।’

 
सदस्य सचिव बिष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी माघ २५ देखि फागुन ३ गतेसम्मको निर्धारित मितिमै प्रतियोगिता हुने बताएका थिए । ‘माघदेखि पछाडि सार्नुपर्ने कुनै कारण नै छैन, धेरै पर जाने सुविधा पनि हामीलाई छैन’, उनले भने, ‘भौतिक पूर्वाधार र तयारीको अभाव हुनेछैन निर्धारित मितिमा नै आफ्नै पूर्वाधारमा प्रतियोगिता हुनेछ ।’

 
सदस्य सचिव बिष्टले पूर्वाधार निर्माणका आधारमा ६० प्रतिशत काम सम्पन्न भए पनि पुस मसान्तसम्म धेरैजसो पूर्वाधार निर्माणका काम सकिने दाबी गरे । प्रतियोगिता उद्घाटनस्थल नेपालगन्ज रङ्गशालाको निर्माण कार्य माघको पहिलो साता पूरा हुने जानकारी दिंदै सदस्य सचिव विष्टले भने, ‘पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा गरिसकिएकाले समयमा नै काम नसके निर्माण व्यवसायी कार्वाहीको भागिदार हुनेछन् ।’

 
प्रतियोगिताका लागि नेपालगन्ज रङ्गशालासहित प्रदेश ५ का बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र पाल्पामा भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । मंसिरको तेस्रो साता आयोजना हुने पूर्व निर्धारित प्रतियोगिता सर्नुका विभिन्न कारणहरु अघि सार्दै सदस्य सचिव विष्टले अब प्रतियोगिता सर्ने कुरा नसोच्न आग्रह गरे । ‘एकाध दिन अगाडि पछाडि हुनुलाई ठूलो महत्वको विषय नबनाउ’, तिथिमितिको बारेमा प्रष्ट हुन आग्रह गर्दै विष्टले पत्रकारहरुसँग भने, ‘भौतिक पूर्वाधारहरु बन्दै गर्छन्, निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुन्छ ।’ उनको भनाइ थियो, ‘स्थानीय मौसमका आधारमा केही दिन पछाडि सर्ने कुरालाई स्वभाविक मानिएपनि धेरै पछाडि जाँदा प्रतियोगिता नै नहुने जोखिम भएकाले त्यसरी सोंच्न सकिन्न ।’

 
राखेपका अनुसार, जिल्ला स्तरीय छनोट प्रतियोगिताका लागि आवश्यक प्रक्रिया सुरु भैसकेको छ । ‘जिल्लामा प्रशिक्षण परिचालन भैसक्यो’, १४–२१ मंसिरमा छनोट कार्य अगाडि बढाइ व्यवस्थित प्रशिक्षण सुरु हुनेछ’, सदस्य सचिव विष्टले त्यसलगत्तै प्रदेश र त्यसपछि राष्ट्रिय खेलकुदका लागि छनोट भएकाहरुको बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।’ झण्डै एक अर्बको भौतिक पूर्वाधार निर्माण कार्य चलिरहेको जानकारी दिंदै सदस्य सचिव विष्टले आठौं राष्ट्रिय खेलकुदको सेरोफेरोमा खेलकुदका भौतिक पूर्वाधारमा ऐतिहासिक फड्को मार्ने बताए ।
भौतिक पूर्वाधारका लागि बजेट अभाव हुन नदिन निरन्तर सरकारसँग बजेट माग गरिरहेको जानकारी पनि सदस्य सचिव विष्टले दिएका छन् । उनका अनुसार, प्रतियोगिताका लागि ४२ करोड अपुग मध्ये १८ करोड प्राप्त भैसकेको छ । ‘बाँकी रकम पनि आउनेमा हामी विश्वस्त छौं’, विष्टले भने । भौतिक पूर्वाधारका लागि ७५ करोड रकम अपुग देखिएको छ । ‘प्रतियोगितापछि पनि कतिपय पूर्वाधारका कामहरु निरन्तर अगाडि बढ्ने भएकाले उक्त रकम पनि प्राप्त हुनेमा विश्वस्त छौं’, उनले भने ।

 
पत्रकार सम्मेलनमा क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले तोकिएकै मितिमा प्रतियोगिता गर्ने कुरामा राखेप प्रतिबद्ध भएकाले ढुक्क हुन आग्रह गरे ।

प्रतिक्रिया

प्रतिक्रिया