बाँकेमा पछिल्लो बर्ष मानवअधिकार हनन्का घटनाहरु मध्ये अधिकांस यौनजन्य हिंसाका घटना भएको एउटा तथ्यले देखाएको छ । मानवअधिकार हनन्का घटना अभिलेखिकरण गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१९ प्रकाशन पूर्व छलफलका लागि प्रस्तुत गरेको तथ्यांकमा कुल ३४ अपराधका घटना मध्ये अधिकांस यौन हिंसाका छन् ।
बिहीबार इन्सेक नेपालगन्जले दिएको जानकारी अनुसार, मानवअधिकार हनन्का ३४ घटना मध्ये सबैभन्दा बढी २२ वटा घटना बलात्कार, यौनजन्य दुव्र्यवहारका छन् । पछिल्ला दिनमा हिंसाका घटनामा न्याय माग्न जाने र अभिलेखिकरण पनि हुने भएकाले तथ्यांकमा यौन हिंसाका घटना वृद्धि भैरहेको इन्सेकका क्षेत्रीय संयोजक भोला महत बताउँछन् । ‘हिंसाका घटनामा न्यायिक निकायमा जाने क्रम बढ्दो छ’, उनी भन्छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला आधिकारी मदन भुजेलले इन्सेकले विगत देखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु सङ्कलन गरी वर्ष पुस्तक मार्फत नेपालको मानव अधिकारको अवस्था प्रस्तुत गर्दै आएको बताए । प्रजिअ भुजेलले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषय वर्ष पुस्तकमा समेटन सुझाव दिए । प्रजिअ भुजेलले पुस्तक प्रकाशन अघि अभिलेखिकरण गरिएका घटनाहरुको ‘अपडेट’ गर्न आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालयका एसपी अरूण पौडेलले मानव अधिकार उल्लङ्घनका घटना सङ्कलन र अनुगमन र प्रलेख कार्य सत्य तथ्य हुनु पर्ने बताए । पौडेलले जिल्ला प्रहरी कार्यालय मानव अधिकारको सङ्रक्षण प्रतिवद्ध रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका अधिकृत टंकप्रसाद खनालले बर्षपुस्तकमा घटना अभिलेखिकरण गर्दा व्यक्तिको गोपनियतासम्बन्धी अधिकार हनन हुन नदिनेप्रति सचेत हुन आग्रह गरे । उनले अदालतबाट फैसला नहुँदासम्म व्यक्तिलाई दोषी भन्ने अवस्था नहुने उनीहरुको वास्तविक नाम प्रयोग गर्न उचित नहुने धारणा राखे ।
उच्च अदालत वार एशोसिएशन नेपालगन्जका अध्यक्ष विकास अचार्यले मानवअधिकार बर्ष पुस्तक निकाल्दा मानव सम्बन्धित निकाय सङ्घ संस्थासँग समन्वय गरी घटनाहरु सङ्कलन गर्न सुझाव दिए । आइएचआरसीका विश्वजीत तिवारीले सार्बजनिक सरोकारका विषयमा परेका रिट निवेदनहरुलाई पनि वर्ष पुस्तकमा समावेश गर्न आग्रह गरे ।
फियानका सुरेश गौतमले खाद्य अधिकार उल्लंघनका घटनाहरु संकलन गरी मानवअधिकार बर्ष पुस्तकमा समेट्न आग्रह गरे । हिमराइट्सका प्रकास उपाध्याय, फियानका सुरेश गौतम, मानव अधिकार एलाइन्सका प्रभात ठकुरी, फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दीकी लगायतले बर्ष पुस्तकका लागि विभिन्न सुझाव दिएका थिए ।
इन्सेक सधारण सदस्य कृष्णमुरारी भट्टको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक नेपालगन्जका कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले पूर्व समीक्षा कार्यक्रमको उद्देश्य माथि प्रकास पारेकी थिइन् । इन्सेक नेपालगन्जका प्रलेख अधिकृत विनोद पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमा धम्की एक, अपहरण तथा शरीर बन्धक एक, बाल अधिकारमा अमानवीय व्यवहार एक, बलात्कार तथा यौन दुव्र्यवहार १२ वटा, महिला अधिकारमा परिवार जनबाट हत्या चार वटा, बलात्कार प्रयासका १० वटा, मानव वेचविखन तथा ओसार पसार तीन वटा घटना समेटिएका थिए ।