नेपालगन्ज विमानस्थलको अवस्था अध्ययन गर्न अदालतको आदेश

नेपालगन्ज विमानस्थलको समग्र अवस्था अध्ययन गर्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले समिति गठन गर्न आदेश दिएको हो
नेपालगन्ज विमानस्थलको स्तरोन्नती, सेवा, सुविधा र सुरक्षा समेतको माग राख्दै दायर गरिएको एउटा रिट उपर सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर–नेपालगन्ज इजलासले स्थलगत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न अध्ययन समिति गठन गर्न बुधबार आदेश दिएको छ ।

 
न्यायाधीश शान्ति सिंह थापा र खुशी प्रसाद थारुको संयुक्त इजलासले विपक्षी नेपालगन्ज नागरिक उड्डयन कार्यालय, प्रमुख जिल्ला अधिकारी लगायतलाई विपक्षी बनाई अधिवक्ता लोक बहादुर शाह र बल बहादुर चन्दले गत बैशाख ३१ गते नेपालगन्ज विमानस्थलको स्तरोन्नती, सेवा, सुविधा र सुरक्षित समेतको माग राख्दै सार्वजनिक सरोकार सम्बन्धी रिट दायर गरेका थिए । उक्त रिट उपर जेठ १ गते कारण देखाउ आदेश जारी हुँदा सरोकारवालाले माग, मुद्दा सुनुवाई भैसकेको भन्ने जवाफ पठाएपछि सोको अध्ययनका लागि बुधबार समिति गठन आदेश भएको हो ।

 
अदालतले नेपालगन्ज इजलासका निमित्त रजिष्टारको संयोजकत्वमा नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत र नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष सदस्य रहने गरी अध्ययन समिति गठन आदेश दिएको छ । ‘निवेदनमा उठाइएका विषयहरुको सम्बोधन भैसकेको भन्ने लिखित जवाफ रहेको सम्बन्धमा सो विषयमा स्थलगत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न’ अध्ययन समिति गठन आदेश भएको रिट निवेदक अधिवक्ता लोक बहादुर शाहले जानकारी दिए ।

 
‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ र नागरिक उड्डयन सम्वन्धी अन्र्तराष्ट्रिय मापदण्ड बमोजिम नेपालगन्ज विमानस्थमा यात्रुको सेवा, सुविधा र सुरक्षा प्रयाप्त मात्रामा उपलब्ध छ छैन ?’, रिट निवेदनमा भनिएको छ । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्ने चर्चा चलिरहँदा त्यसबारे कुनै अध्ययन, पहल र प्रयास भएको छ कि छैन भन्नेबारे पनि निवेदकले जानकारी माग गरेका छन् ।

 
विविध कारणले हुन सक्ने हवाई दुर्घटना र प्राकृतिक विपद (आगलागि, बाढी, भुकम्प आदि) बाट विमानस्थलमा हुन सक्ने मानवीय क्षतिलाई दृष्टिगत गरी तत्काल उपचार र उद्दारको लागि आवश्यक पर्ने एम्बुलेन्स लगायतका आवश्यकताहरुको व्यवस्थापन गर्न निवेदकले सरोकारवालासँग माग गरेका छन् । उनीहरुले चिकित्सक र औषधी सहितको स्वास्थ्यचौकी, दमकल, बारुणयन्त्र, बम डिस्पोजल टिम, उद्दार टिम लगायत सो कार्यका लागि आवश्यक पर्ने आवश्यक अन्य सामग्रीहरु २४ औ घण्टा विमानस्थल परिसरमा तत्काल उपलब्ध हुने गरी उचित व्यवस्थापन गर्नु गराउनु पनि निवेदनमा माग गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया