(सबै तस्विरर भिडियो कविर अन्सारी)
नेपालसहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज बुधबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती (मोहम्मद डे) मनाए ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । नेपालगन्जमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्यालीको आयोजना गरेका छन् ।
सबै धर्मप्रति सम्मानको वातावरण तयार
रुपन्देही, ५ मङ्सिर (रासस) ः प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सबै धर्मप्रति सम्मान हुने वातावरण मुलुकमा तयार भएको बताउनुभएको छ ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४४०औ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संस्कृति र धर्म अरु समुदायका लागि साझा भएको बताउनुभयो । धर्म र संस्कृति सबैको साझा हुनुले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाउने उहाको भनाइ छ ।
नेपालको संविधानले अल्पसङ्ख्यक मुसलमान समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको उल्लेख गर्दै उहाँले संवैधानिकरुपमै मुस्लिम आयोगको गठन गर्ने व्यवस्था गरेर मुसलमान समुदायप्रति सम्मान व्यक्त गरेको बताउनुभयो । यतिखेर मुलुक तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेको छ, संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिकरुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् उहाँले भन्नुभयो ।