आन्तरिक राजश्व कार्यालय नेपालगन्जको घट्यो कार्यक्षेत्र

मध्य र सुदूरपश्चिमा १० जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जको कार्यक्षेत्र घटेको छ । नेपालगन्ज मातहत सुर्खेतमा रहेको करदाता सेवा कार्यालयलाई सरकारले स्तरोन्नती गरी आन्तरिक राजश्व कार्यालय स्थापना गरेपछि नेपालगन्जको कार्यक्षेत्र घटेको हो । कर संकलनमा सहजता र करदाताको पनि सहज पहुँच होेस् भन्ने उद्देश्यले सुर्खेतको करदाता सेवा कार्यालयलाई स्तरोन्नती गर्ने निर्णय सरकारले गत आ.व.मा नै गरेको थियो । गत असोज १७ गते सुर्खेतमा औपचारिक रुपमा आन्तरिक राजश्व कार्यालयको उद्घाटन गरिएको थियो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले सुर्खेतमा नै आन्तरिक राजश्व कार्यालय स्थापना भएपछि ३१ हजार करदाता सुर्खेत मातहत गएको जानकारी दिए । ‘अब हाम्रो कार्यक्षेत्र बाँके र बर्दिया मात्रै हो’, प्रमुख कर अधिकृत पौडेलले भने ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जले यस बर्षका लागि निर्धारण गरिएको कर लक्ष्य एक अर्ब बढी घटाइएको छ । चालु आ.व. ०७५÷०७६ का लागि ४ अर्ब ५७ करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । ‘कार्य क्षेत्र घटेसँगै अब ३ अर्ब ५१ करोड ३९ लाख ७८ हजार संकलनको लक्ष्य निर्धारण भएको छ’, प्रमुख कर अधिकृत पौडेलले भने, ‘संख्यात्मक रुपमा करदाता घटेपनि ठूला करदाता रहेकाले लक्ष्य त्यो अनुपातमा नघटेको हो ।’
आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा चालु आ.व.को तीन महिनामा १ हजार बढी करदाता थपिएका छन् । कार्यालयका कर अधिकृत दिपक पौडेलका अनुसार, १ हजार ३ सय ५७ करदाता थपिएका हुन् । जसमध्ये आयकर दर्ता १ हजार ६०, पान ३ सय ९७ रहेका छन् । कर अधिकृत पौडेलले करमा दर्ता भएर व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएको जानकारी दिए ।

मासिक झण्डै २९ करोड राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय नेपालगन्जले मासिक झण्डै २९ करोड राजश्व संकलन गरेको छ । चालु आ.व. ०७५÷०७६ को तीन महिनामा राजश्वले ८६ करोड ४६ लाख ६५ हजार राजश्व संकलन गर्न सफल भएको हो । यस अवधीमा राजश्वले लक्ष्य भने ९१ करोड २६ लाख ८१ हजार निर्धारण गरेको थियो । बार्षिक लक्ष्य प्राप्तिका लागि राजश्वले हरेक महिनाका लागि राजश्व संकलनको योजना बनाउने गरेको छ ।
असोजसम्म राजश्वले आयकर ३० करोड ४८ लाख ६९ हजार, बहालकर २ करोड ५७ लाख ४९ हजार, व्याजकर १ करोड ४६ लाख २३ हजार, मूल्य अभिवृद्धि कर २३ करोड, २० लाख ३ हजार, अन्त शुल्क २७ करोड ८६ लाख ५७ हजार रुपैयाँ संकलन गरेको छ । गत आ.व. भन्दा यस आ.व.मा आयकर १९४.८६ प्रतिशत, बहालकर २४६.१२ प्रतिशत, मूल्य अभिवृद्धि कर १५६.३८ प्रतिशत, अन्तशुल्क १११ प्रतिशतले वृद्धि भएको छ ।

विद्यार्थीसँग अन्तरक्रिया

आन्तरिक राजश्व कार्यालय नेपालगन्जले कर सप्ताह मनाउने क्रममा आइतबार क्याम्पसका विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ । विद्यार्थीहरुलाई कर सम्बन्धी सचेतना जगाउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको कार्यालयका कर अधिकृत दिपक पौडेलले जानकारी दिए ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आयोजित अन्तरक्रियामा बिबिए, एमबिए अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा करबारे कर अधिकृत दिपक पौडेल र नवराज पराजुलीले सहजीकरण गरेका थिए भने विद्यार्थीहरुले आफ्ना जिज्ञासा राखेका थिए ।
आज सोमबार बाँसगढी उद्योग वाणिज्य संघसँगको समन्वयमा व्यवसायीहरुसँग अन्तरक्रिया राखिएको कर अधिकृत पौडेलले जानकारी दिए । बासँगढीमा कर अधिकृत नवराज पराजुली र सुशिल महतराले सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया