सरोज रेग्मी
आहा रारा ! पहाडकी सुन्दरी ! धर्तीको स्वर्ग ! जस्ता उपनामले चिनिने राराताल पुगे पछि सबैले त्यहाँ पुग्ने यात्राको थकान बिर्सने रहेछन । हालै सडक मार्गबाट करिब साढे ३ सय किलो मिटरको यात्रा हुँदै रारा पुगेपछि पंक्तिकारलाई रारा पुग्न भन्दा पुगेपछि रारालाई छोडेर फर्किन गाह्रो रहेछ भन्ने अनुभव भयो ।
रारालाई नेपालको पुग्नै पर्ने पर्यटकीय गन्तब्य मानिन्छ तर त्यहाँ पुगेर फर्किदा रारा पश्चिम नेपालको बिकास र समृद्धिको माध्यम बन्न सक्ने महशुस जो कोहीले गर्ने रहेछ । हालको संघीय व्यवस्था अनुसार कर्णाली प्रदेशको भुगोलमा परेपनि रारा प्रदेश ५ मा पर्ने नेपालगन्जसम्मको समृद्धिको वाहक बन्न सक्नेमा दुईमत नहोला । आन्तरिक पर्यटकहरुको चासो बढ्दै जाँदा रारालाई बिकासको साधन बनाउन सम्भव देखिएको हो ।
संसारै भरबाट पर्यटक जाने भएपनि आन्तरिक तथा बाह्य दुबै पर्यटकले नेपालगन्ज वा कोहलपुरलाई रारा यात्राको शुरुवात मान्छन किनकी यहीबाट रारा यात्राका प्रयाप्त बिकल्प छन । सुबिधा सम्पन्न बिमानस्थल, सार्बजनिक यातायातको नियमित सुबिधा (नेपालगन्जदेखि गमगढीसम्म), भाडामा लिन सकिने हुने आरामदायी निजी सबारी साधन (जीप)हरुको प्रयाप्त उपलब्धता, उल्लेख्य संख्यामा स्तरीय होटलहरुको बिकल्प लगायतले रारालाई नेपालगन्जसँगको आवद्धता (कनेक्टिीभीटी) सघन बनाएको छ । हुन त सुर्खेतबाट समेत मुगुको ताल्चा बिमान स्थल (रारातालबाट ८/९ किमीको दुरी) सम्म हवाई सुबिधा छ । तर, सो नेपालगन्जबाट जत्तिकै भरपर्दो र नियमित नहुने रैछ । त्यसैले आराम साथ राराताल पुगेर आनन्दले फर्किनेहरुले नेपालगन्ज बिमान स्थलबाटै आउ–जाउ गर्न रुचाउँछ ।
त्यसैगरि जुम्लासम्मको हवाई यात्रा र त्यसपछि पैदलमार्ग (ट्रेकिङ्ग) वा सडक मार्ग बाट रारा जाने पर्यटकले पनि नेपालगन्ज बिमानस्थललाई नै पहिलो प्राथमिकता दिइन्छ । त्यसै गरि निजी सबारी साधन भाडामा लिएर रारा जाँदा समेत (नेपालगन्ज भन्दा माथिल्लो भेग जस्तै सुर्खेतबाट शुरुवात गर्नेले बाहेक) नेपालगन्जबाटै सुबिधासम्पन्न सबारी साधन रोजी यात्रा तय गर्न रुचाउने गरेको तथा सार्वजनिक सवारी साधनमा समेत नेपालगन्ज गमगढी रुटको बसहरु समेत नियमित तथा पुर्ण यात्रु क्षमतामा चल्ने गर्दछन ।
त्यस्तै मोटरसाइकलमा रारा जानेको संख्या पनि ठुलो रहेको पाइन्छ जसमा बिशेष गरेर युवा–युवती र विद्यार्थीहरुको बाहुल्यता रहन्छ, साहसिक हुने भए पनि मोटर साईकिलको यात्रा बाटोको भौगोलिक बिकटताको कारणले बढी जोखिमपूर्ण नै लाग्छ । अर्कोतर्फ काठमाण्डौमा रहेर पर्यटन व्यवसाय गर्नेहरुले समेत नेपालगन्ज हुँदै जाने रुटलाई नै प्रस्ताव एवं प्रचार गरिरहेका छन । यस बाहेक त्यस क्षेत्रका व्यापरिक वर्गले समेत नेपालगन्जबाटै बढी खरिददारी गर्ने गरेकोले नेपालगन्ज र राराको कनेक्टिभीटी मजबुत देखिन्छ । यसलाई थप बिस्तारित बनाउन जरुरी छ । रारा यात्राको पुरक यात्राको रुपमा बर्दियाको ठाकुरद्वारा, बाँकेको गाभर, बाँके राष्ट्रिय निकुञ्ज, कैलालीको टीकापुर जस्ता ठाँउ र क्षेत्रलाई जोड्न जरुरी छ । रारामा पर्यटकहरुको आगमन बढेपनि सो अनुरुप होटलहरुको संख्या रहेनछ, त्यसको लागि मुख्य समस्या आवश्यक जग्गाको अभाव देखियो, केही स्थानियको बाहेक बाँकी भु–भाग रारा राष्ट्रिय निकुञ्जको भएकोले जग्गा खरिद र संरचना निर्माण जटिल छ, यो मुद्दाको सुनुवाई राज्यको माथिल्लो स्तरबाटै हुनु जरुरी देखिन्छ ।
यस किसिमको पहल निजी पर्यटन व्यवसायी, पर्यटन सम्बन्धी सरकारी र गैर सरकारी संघसंस्थाहरुले गर्न सक्छन । हालको समयमा धेरै अधिकारहरुमा स्वायत्तता पाएका स्थानिय निकायहरुले आपसी पहलमै यो कामलाई अगाडि बढाई बिकासमा हातेमालो गर्न सक्छन । नेपालगन्ज उपमहानगरपालिकाले नै त्यसको लागि नेतृत्वदायी पहल गरेर रारा राष्ट्रिय निकुञ्ज, छायाँनाथ रारा नगरपालिका लगायतसँग सहकार्य गरेमा मुगु, कालिकोट, जुम्ला र बाँकेको समृद्धि सँगै–सँगै अगाडी बढ्नेमा कुनै शंका छैन । यस्तो पहलमा जुम्लाको चन्दननाथ नगरपालिका, कालिकोटको खाँडाचक्र नगरपालिका, जुम्लाकै सिँजा गाउँपालिका तथा सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाले समेत उत्साही हातहरु बढाउन पक्कै पनि तम्तयार हुनेछन् ।
….