पूर्व उपसभामुख पूर्णकुमारी सुवेदीले २०५९ सालमा बुहारी बनेर भित्रिएकी मालती शर्मालाई शनिवार छोरी सरह अन्माएकी छन् । नेकपाका नेता प्रकाश सुवेदी र सांसद पूर्णकुमारी सुवेदीले संयुक्त रुपमा बुहारी मालतीलाई ‘कन्यादान’ गरेर बिदाई गरेका हुन् ।
संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति रहेकी पूर्ण कुमारी र नेकपाका नेता प्रकाशले आफ्नै घरबाट जेठी बुहारी मालतीलाई छोरीको रुपमा विवाह गरेर पठाएका हुन् । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भुकम्पमा गम्भीर घाइते छोरा अच्युत सुवेदीलाई गुमाएकी नेता सुवेदीले बुहारीलाई अन्माएर पठाइन् । छोराको मृत्यु पछि एकल जीवन बिताउँदै आएकी मालतीले ‘समाजको गलत रीति फेर्न बगावत गरेको’ प्रतिक्रिया दिइन् । बुहारीलाई अपहेलना गर्ने हाम्रो समाजमा नेता सुवेदीले छोरी सहर बुहारीको विवाह गरिदिएकोमा उदाहरणीय काम गरेको भन्दै सराहना गरिएको छ ।
२०५९ सालमा छोरा अच्युतसँग विवाह गरेर बुहारी बनेर घरमा भित्रिंदा सुवेदी दम्पत्ति घरमा थिएनन् । तत्कालीन माओवादी नेता उनीहरु दुवैजना भूमिगत थिए । भूमिगत भएकाले न बुहारी भित्र्याउन पाए न त छोरी अन्माउननै । ‘आज मालतीले छोरी बनेर अन्माउने अवसर दिइन्’, बुहारी भन्दा छोरी ठानेर बिदाई गरेको प्रतिक्रिया दिंदै सांसद सुवेदीले दैनिक नेपालगन्जसँग भनिन्, ‘उनको इच्छा अनुसारको जीवनसाथीलाई सुम्पियौं ।’ ‘समाज परिवर्तनका लागि यति धेरै त्याग गरियो आज यो अवसर पाउँदा सदुपयोग गरेको मात्र हो’, सुवेदीले भनिन्, ‘मालती जस्ता कैयौं एकल महिलाका परिवारलाई यो उदाहरण बन्न सक्छ भन्ने आश गरेकी छु ।’ समाजलाई चुनौती दिदै एकल बुहारीको इच्छा अनुसार विवाह गरी अन्माएका हुन् ।
२०७२ बैशाख १२ को भुकम्पमा गम्भीर घाइते युवा उद्यमी अच्युत राज सुवेदीको उपचारका क्रममा जेठ २९ गते भारतको दिल्ली स्थित अस्पतालमा निधन भएको थियो । निधनपछि सम्पूर्ण कारोबार सम्हाल्दै आएकी मालतीले योगसाधनाको माध्यमबाट सामाजिक गतिविधिमा जोडिंदै आएकी छन् । नेपालगन्ज निवासी सुधिर गौतमसँग शनिबार वैवाहिक सम्बन्धमा गाँसिएकी मालतीले दैनिक नेपालगन्जसँग भनिन्, ‘जीवनलाई परिस्थितिको दास वा परम्पराको सिकार बनाउनु भन्दा नयाँ सोंचका साथ अगाडि बढ्न सक्नुपर्छ ।’ अच्युत राज सुवेदी स्मृति प्रतिष्ठान मार्फत सामाजिक सेवामा समेत मालती समर्पित छन् ।
सुवेदी निवास कोहलपुरमा सामान्य औपचारिकतामा आयोजित वैवाहिक कार्यक्रममा परिवारका सदस्यसँगै प्रदेशसभा सदस्य कृष्णा केसी, नेकपाका नेता संकल्प, प्रयत्न लगायतका सहभागी थिए । विभिन्न क्षेत्रका सामाजिक अभियन्ता समेतले सुवेदी निवास पुगेर नवविवाहित दम्पत्तिलाई शुभकामना दिएका थिए । वैदिक मन्त्रसँगै टिकाटालो गरेका मालती–सुधिरले एकअर्कालाई माला लगाउनेदेखि अंगुठी साटासाट गरे । त्यसलगत्तै सासु, ससुरा सुवेदी दम्पत्तिले नवविवाहितलाई बिदाई गरिरहँदा अन्मिएर जाँदै गरेकी मालती भावविव्हल भएकी थिइन् ।