बसन्त लामिछाने
संस्थापक अध्यक्ष
महासंघको यहाँसम्मको यात्राः
मैले व्यवसाय सुरु गरेपछि दुई/तीन वटा सामाजिक संस्थामा काम गर्थें । त्यतिखेर मलाई केही अग्रज साथीहरुले व्यवसायिक संगठन बनाउनु पर्छ भन्ने सुझाव दिनुभयो । तत्कालीन अग्रज मुरलीधर शर्मा, विद्या कुटिरका गोपाल उपाध्याय, बागेश्वरी साहित्य भवनका गयाप्रसाद लखेर, नारायण ज्ञवाली, ज्ञानु श्रेष्ठ लगायतसँग बसेर संगठनका लागि प्रस्ताव राखें । अनि साथीहरुलाई सहमतिमा ल्याउँदै २०५१ तिर तदर्थ कमिटी बनायौं । त्यो कमिटीबाट अलिअलि गतिविधि सुरु गर्यौं । हामी निष्क्रिय भएका व्यवसायीहरुलाई सक्रिय पार्न तर्फ लाग्यौं । नेपालगन्ज उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्ने सवालमा पनि हाम्रो संगठन क्रियाशिल र सशक्त भएकाले सहजै वस्तुगत तर्फबाट प्रतिनिधित्व गर्न सफल भयौं । हाम्रो तर्फबाट ज्ञानु श्रेष्ठ प्रतिनिधिका रुपमा संघमा जानु भयो ।
पहिले नेपालगन्ज मध्यपश्चिमका धेरै जिल्लाको मसलन्दको केन्द्र थियो । सामान पुर्याउन हम्मेहम्मे हुन्थ्यो । एउटा सामान्य मसि किन्न पनि खजुराबाट नेपालगन्ज आउनु पथ्र्यो । हामीले बस्ने थलो बनाउन पनि संगठन निर्माण गरेका थियौं । हाम्रो महासंघ भन्दा पहिला हामी जन्मिसकेका थियौं । महासंघको अवधारणा आउने बेला हामी एउटा सशक्त संगठनका रुपमा क्रियाशिल भैसकेका थियौं । ०६१ मा दर्ता भई ०६२ बाट वैधानिक रुपमै संगठनलाई सक्रिय पार्यौं । ०६२ मा महासंघ बनाउने भनेर अभियान चल्यो । हाम्रा केही साथीहरु मेची, महाकालीको दौडमा गइयो । बुटवलबाट सुरु भएको महासंघको दौडलाई हामीले बाँकेबाट साथ दियौं । हाम्रो सक्रियता र सामाजिक अभियानमा विगतमा भएको सहभागिताले हाम्रो एकता बाहिरबाट हेर्नेले पनि महसुस गरेका छन् ।
सामाजिक अभियानकै क्रममा हामीले गतबर्ष नेपालगन्जमा शैक्षिक महोत्सव आयोजना गर्यौं । यो क्षेत्रमा हामी बसिसकेपछि यस क्षेत्रका लागि केही गर्नुपर्छ भन्ने हाम्रो भावना छ । हामी रक्तदान लगायतका कार्यमा पनि सहभागी हुने गरेका छौं । स्थानपनाकाल देखि नै संगठन एकजुट भएर उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेको छ ।
हामी तराईमा बस्छौं । तराईका हरेक जिल्लाले जस्तै हामीलाई पनि सीमापारी भारतीय बजार सँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौति छ । हाम्रो यहाँ थुप्रै साथीहरुले कपि उद्योग सञ्चालन गर्नु भएको छ । त्यसका लागि कच्चा पदार्थ भारतबाटै ल्याउनु पर्ने र उत्पादित कपीले भारतीय बजारसँगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाले प्रतिस्पर्धा गर्न गाह्रो भैरहेको अवस्था छ ।
अर्को अवस्था भनेको हामीले अनुमति लिएर प्रदेश नं. ५, ६ र ७ का लागि यहींबाट पाठ्यपुस्तक उपलब्ध गराइरहेका छौं । एउटा विकास क्रम अगाडि बढ्दै आइरहेको छ । जल्दाबल्दा समस्याहरु जुन सामाजिक हुन्, राष्ट्रिय हुन् वा व्यवसायिक हुन्, करका कुराहरु हुन् हामी एक्यबद्ध भएर आवाज उठाइरहेका छौं ।
बुद्धि प्रसाद अधिकारी
अध्यक्ष
कार्यकालको आत्मसमीक्षाः
मेरो कार्यकाल अब सकिन लागेको छ । मैले आफ्नो कार्यकालमा पर्याप्त सामाजिक उत्तरदायित्वका कामहरु गरेको छु । सुरुवातदेखि नै केन्द्रीय नीति अनुसार, मैले सामाजिक कार्यहरु गरिरहेको छु । प्रत्येक बर्ष हामीले बार्षिकोत्सव, संस्था स्थापना दिवस रक्तदान, असहाय विद्यार्थी तथा विद्यालयलाई प्रत्येक बर्ष निःशुल्क रुपमा शैक्षिक सामाग्री प्रदान गर्दै आइरहेका छौं । सामान्य ज्ञान, डिक्सनेरी, कापी, कलम लगायतका सामाग्री हामीले वितरण गर्दै आएका हौं । ज्येष्ठ नागरिकलाई सहयोग पनि गर्दै आइरहेको छौं ।
गतबर्ष पुसमा हामीले सफलतापूर्वक राष्ट्रिय स्तरको पुस्तक प्रदर्शनी तथा महोत्सव आयोजना गर्यौं । उक्त महोत्सव यसअघि विभिन्न जिल्लामा आयोजित भन्दा फरक रह्यो । हामीले पठन संस्कृतिको विकासको उद्देश्य राखेर आयोजना गरेको महोत्सवमा साहित्यिक तथा कला क्षेत्रलाई पनि महत्वपूर्ण स्थान दियौं । संगठन आर्थिक रुपमा बलियो नभए पनि सफलतापूर्वक महोत्सव आयोजना गरी बाँके शाखालाई देशमै सशक्त रुपमा उभ्याउन सफल भयौं । समग्रमा मेरो कार्यकाल सफल भएको ठान्दछु ।
सुरुवातदेखि नै हामीले व्यवसायिक हितका मुद्दा उठाउँदै आएका छौं । मेरो कार्यकालमा पनि मैले खुला सीमानाका कारण हाम्रा व्यवसायीलाई परेको समस्या समाधानका लागि पहल गरेको छु । हाम्रो छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघमा पनि पटकपटक छलफल गर्यौं, र भन्सारमा यसबारे छलफल पनि भयो । मुद्दा उठाए पनि त्यसले उपलब्धीमूलक प्रतिफल चाहीँ अझै दिन सकेको छैन ।
मन्दिरा पाण्डे
द्वितीय उपाध्यक्ष
व्यवसायमा महिलाः
महिलाहरु अझै पनि नेतृत्वदायी भूमिका अपेक्षा गरे अनुसार पुग्नु भएको छैन । हरेक क्षेत्रमा जस्तै व्यवसायिक क्षेत्रमा पनि महिला अझै पछाडि नै छन् । महिलाहरुले व्यवसाय गर्दा दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । घर पनि सम्हाल्नु पर्छ र व्यवसाय पनि गर्नुपर्छ । तर, पहिला भन्दा महिलाहरु अहिले व्यवसायमा धेरै अगाडि बढिसक्नु भएको छ । पुस्तक व्यवसायमा महिलाहरुको पनि संलग्नता बढ्दै गएको छ । तर, प्रोपराइटर धेरै पुरुष नै हुनुहुन्छ । महिलाहरुले सक्दैनन् भन्ने भ्रमका कारण पनि महिलालाई व्यवसायमा अगाडि बढ्न सकेका छैनन् ।
पुस्तक व्यवसाय सामाजिक सेवाको पेशा पनि हो । बजार प्रतिस्पर्धात्मक छ । तर, पनि हामीले प्रतिस्पर्धालाई सहज रुपमा लिएर व्यवसाय अगाडि बढाइरहेका छौं । हाम्रो कार्यकाल सफलतापूर्वक पूरा भएको छ । हाम्रा समस्याहरुलाई हामीले उठाएका छौं । पोका बोकेर रुपैडिहाबाट आउनेहरु यहाँ मनखुशी सस्तो सामान दिन्छन् । त्यसले यहाँका व्यवसायीलाई चुनौति थपिदिएको छ । खुला सीमानाका समस्या उठाएपनि यसले प्रभावकारी रुपमा रिजल्ट दिन सकेको छैन । स्थानीय बजार फष्टाउनका लागि भन्सारमा कडाई गरिनु आवश्यक छ । हामीले आफ्नो पेशा र संगठन दुवैलाई निरन्तरता दिइरहेका छौं । अन्य व्यवसायिक संगठन भन्दा हाम्रो संगठन धेरै अगाडि बढिसकेको छ ।
महिलाहरुको पहुँच सबै तिर छ अहिले । धेरैका परिवार मिलेर व्यवसाय चलाइरहनु भएको छ । महिला, पुरुष दुवैको सहभागितामा पसल सञ्चालन भैरहेको हामीले देखेका छौं । महिलाहरु पनि पुस्तक व्यवसायमा सक्रिय हुनुहुन्छ । पसल हेर्ने र दायित्व निर्वाह गर्ने क्रममा ५० प्रतिशत महिलाहरुले हेर्नुहुन्छ । मधेसी समुदायमा भने त्यो अलि कम छ । अरु व्यवसायमा भन्दा पुस्तक तथा स्टेशनरी व्यवसायमा महिला सहभागिता बढी छ ।
महिला सदस्य बढाउनका लागि हामी इच्छुक छौं । त्यसका लागि महिलाहरु पनि इच्छुक हुनुपर्यो । महासंघमा सदस्य बन्न चाहनुहुन्छ भने बाटो खुला छ । सदस्यताका लागि कुनै समस्या छैन ।
शालिक सुवेदी
प्रथम उपाध्यक्ष
१८ जनाबाट सुरु भएको संगठन अहिले १ सय ५० बढी पुगिसकेको छ । म सदस्यदेखि संगठनमा आबद्ध हुँदै कार्यसमिति सदस्य, सचिव र उपाध्यक्षको कार्यभार समेत सम्हालिसकेको छु । सामुदायिक विद्यालय तर्फ हामी तीन वटा डिपो बनाएर अगाडि बढेका छौं । नेपालगन्ज, खजुरा र कोहलपुर । त्यसले केही हदसम्म समस्या समाधान भएको छ । त्यसले टाढाका व्यक्तिलाई पनि नजिकै पुस्तक प्राप्त गर्न सहज भएको छ । संस्थागत विद्यालय तर्फ भने हाम्रो पहुँच भन्दा अलि बाहिर गएको स्थिति छ । संस्थागत विद्यालय तर्फ पनि नगरले एउटै खालको पाठ्यपुस्तक लागु गरिदिने हो भने राम्रो हुन्छ । ताकी सबै व्यवसायीहरुलाई सजिलो होस् । एउटै पाठ्यपुस्तक हुने हो भने कारकाँदोको विद्यार्थी त्यही किताब किन्न पाउँछ उसलाई अन्त जानु पर्दैन । गुणस्तरीय किताब प्याब्सन नगर वा जिल्लाले छानोस्, त्यसपछि सबै विद्यालयमा एउटै किताब लागु हुने हो भने सहज हुनेछ । त्यसका लागि हामी पहल गर्नेछौं ।
पठन संस्कृतिको विकासका लागि आठौं राष्ट्रिय पुस्तक प्रदर्शनीको आयोजना गर्यौं । त्यहाँ धेरै पुस्तकहरु राखिएका थिए । जुन हाम्रो पुस्तक पसलमा राख्न सम्भव थिएन । यस्ता महोत्सवहरुले व्यवसायी र पाठक दुवैलाई फाइदा हुन्छ । तर, यस्ता महोत्सव निरन्तर रुपमा जिल्लाबाट गर्न सम्भव हुँदैन । ठूलो बजेट लाग्ने भएकाले ठूला खालका महोत्सव आयोजना सम्भव हुँदैन । तर, सबैपक्षबाटको समन्वय स–साना कार्यक्रमहरु चाही गर्न सकिन्छ । त्यसका लागि हामी पहल गर्दै जानेछौं ।
हाम्रा धेरै विद्यार्थी भारतमा पढ्न जाने गरेका छन् । तीनलाई कसरी यहाँ रोक्न सकिन्छ भन्ने पनि अग्रजहरुसँग छलफल गरी अगाडि बढ्ने योजना छ । सबै पाठ्यक्रम पहिला भारतबाट ल्याउनु पर्ने अवस्था थियो । अहिले त्यस्तो छैन । अहिले नेपालमै गर्न सकिन्छ । हामीले यहीबाट किताब निकाल्ने प्रयास पनि गरेका थियौं । उर्दु भाषामा शिक्षाका लागि मौलानाहरुसँग छलफल पनि गर्यौं । जुन बीचमा केही समस्याका कारण रोकियो । खासमा छपाईको समस्याले गर्दा रोकिएको हो । पाण्डुलिपि पनि तयार गरिसकेका छौं । स्थानीय भाषामा किताब यहीबाट प्रकाशन गर्ने योजना बनाएका थियौं । भारतीय किताबका कारण यहाँ मुस्लिम विद्यार्थीले त्यहीको बारेमा पढ्छन्, हामी चाहन्छौं हाम्रै देशका विषयहरु समेटेर उनीहरुले बुझ्ने भाषामा प्रकाशित गर्न सकियोस् ।
सागर ज्ञवाली
सचिव
साना व्यवसायिक समस्यालाई कसरी ?
हामी थोरै जनाबाट संगठित भएर बिस्तारिंदै गएका हौं । र, संगठित १ सय ५० जना पुर्याउने क्रममा भौगोलिक रुपमा समस्या झेल्नु परेको थियो । बाँके राप्तीपारी विकट ठाउँका व्यवसायीलाई पनि हामीले संगठनमा आबद्ध गरेका छौं । अझै पनि केही साथीहरु संगठनमा आबद्ध हुनुभएको छैन । उहाँहरुलाई संगठनको महत्व बुझाएर समेट्ने प्रयास गरिरहेका छौं । हामीले साना व्यवसायी मर्कामा पर्नुहुँदैन भन्नका लागि त्यसैअनुसारको योजना बनाएका छौं । व्यवसायी, प्रकाशन बीचको नाफा दर स्थीर गरेका छौं ।
व्यवसायी धेरै गाउँपालिकामा नरहेकाले अहिले जिल्लाकै रुपमा संगठनलाई अगाडि बढाइनेछ । अहिले शिक्षा सम्बन्धी अधिकार स्थानीय तहमा छ । त्यसैले अब स्थानीय तहले निर्माण गर्ने नीतिमा हाम्रो पनि सहभागिता हुन आवश्यक छ । पहल गरिरहेका पनि छौं । तर, जिल्लाका कुनै पनि स्थानीय तहमा शिक्षा नीति बनाउँदा हामीलाई सहभागी गराइएको छैन ।
नजिकको पुस्तक पसललाई हरेक स्कुलको व्यवस्थापन समितिमा राख्ने भन्ने नीति छ । शिक्षा समितिमा राख्नु पर्ने नीति छ । तर, कार्यान्वयन भने भएको छैन । जिल्ला शिक्षा समन्वय समितिमा पनि हामीले प्रतिनिधित्व खोजेका छौं । त्यो आवश्यक पनि छ ।
राज्यले हामीलाई हेर्ने दृष्टिकोण पोजेटिभ हुनुपर्यो । हामीले आफ्नो पहल मात्र गरेर हुँदैन । शिक्षा क्षेत्रमा रहेका खाडलहरु देखाउन सक्थ्यौं, नीति निर्माण गर्दा हामीले आवश्यक सुझावहरु दिन सक्थ्यौं । त्यसका लागि हाम्रो सहभागिता शिक्षासँग सम्बन्धित समितिहरुमा हुन आवश्यक छ ।
संस्थागत विद्यालय र पुस्तक व्यवसायी बीच सामाजिक रुपमा विकृत रुपमा चर्चा हुने गरेको छ किन ?
राज्यको नीति नहुनु प्रमुख कारण हो अस्वस्थ प्रतिस्पर्धाको । सबैले पब्लिकेशन खोल्न सक्छन् । तर, त्यसका लागि केके व्यवस्था छन्, के मापदण्ड पुर्याएपछि खोल्न सकिन्छ, बौद्धिक व्यक्तित्व कति हुनुपर्छ ? कस्तो मान्छे मात्रै राख्न सक्ने भन्ने नीति राज्यले बनाउनु पर्ने हो । त्यसो भएको छैन । पुस्तक नीति नहुँदा अस्वस्थ प्रतिस्पर्धा बढेको हो । मूल्य भन्दा पनि कमिसनका भरमा विद्यालयमा किताब लाग्ने भए । त्यसैले हाम्रो केन्द्रीय महासंघले अहिले १० प्रतिशत मात्रै कमिशन दिनुस्, हामी अरुलाई कमिसन दिंदैनौं, तर, किताबको मूल्य ८ सयबाट ३ सय बनाउनु पर्यो भन्ने माग गरिरहेको छ । एउटा पानाको कति पैसा भन्ने सम्मको नीति बनाउन सरकारी प्रतिनिधि, हाम्रो महासंघ सम्मिलित एउटा समिति बनाइएको थियो । तर, सरकार परिवर्तन भएपछि त्यो नीति बनाउन पाएन । केन्द्रदेखि जिल्लासम्मको हाम्रो माग नै पुस्तक नीति ल्याउनु पर्यो भन्ने हो । पुस्तक नीति आउने हो भने अस्वस्थ प्रतिस्पर्धा आफ्नै हट्दै जान्छ । सामुदाय र संस्थागत विद्यालय हेर्ने शिक्षाको निकाय अलग हुनुपर्छ । नत्र गन्जागोल हुन्छ ।
जिल्ला तहबाट पुस्तक नीतिका लागि दबाब दिएर मात्रै सम्भव हुँदैन । त्यो काम केन्द्रबाट नै हुन आवश्यक छ । अहिले पब्लिकेशन र विद्यालय दुवै बढिरहेका छन् । जस्तै गणित भनेपछि १ देखि १० सम्म लागु हुन्छ । ५० वटा पब्लिकेशनले गणित विषयको पुस्तक निकाल्छन् । आउने मार्केट यही हो । उनीहरुले विभिन्न ठाउँमा आफ्ना पुस्तक लगाउन प्रयास गर्छन्, विभिन्न विद्यालयले आआफ्नै हिसाबले किताब छान्छन् । तर, त्यो पुस्तक व्यवसायीको विषय भएन । तर, त्यो जानकारी कम्तिमा १५ दिने अगाडि पुस्तक व्यवसायीलाई जानकारी दिने हो भने राम्रो हुन्थ्यो । यो स्कुलमा यो किताब लागेको छ है भन्ने जानकारी समयमै हुने हो भने पुस्तक अभाव हुँदैन । बैशाख १ गतेबाट स्कुल सुरु हुन्छ, बैशाखको ४÷५ गतेतिर बल्ल यो स्कुलमा यो किताब लगाइएको छ भन्ने जानकारी आउँछ । अनि कसरी समयमै विद्यार्थीलाई पुस्तक दिने । एउटै विषयको १२÷१५ प्रकाशनका किताब आउँछ । सेवा भन्दा बढी व्यापार भयो । पुस्तक नीति नहुनु नै समस्या हो ।
पब्लिकेसनलाई कुनै मापदण्ड छैन । जति मूल्य राखेपनि भो । कमिशनका भरमा किताब लगाउने भए । उनीहरु सिधै स्कुल मार्फत जाने भए । त्यसले गर्दा स्कुल पिच्छे फरक प्रकाशनका किताब लाग्ने भए । सबै प्रकाशनका किताब दिन व्यवसायीलाई पनि समस्या हुने भयो ।
अब शिक्षा स्थानीय तह अन्तर्गत छ । स्थानीय तहले पनि त्यसमा चासो देखाउनु पर्छ । राज्यले पनि पब्लिकेशनका किताबको मूल्य निर्धारण गर्ने वैज्ञानिक संयन्त्र बनाउनु पर्छ । एउटै किताबको मूल्य प्रकाशन अनुसार फरक छ अहिले राज्यले चाहने हो भने एकरुपता कायम हुनसक्छ ।
पब्लिकेशन स्टेशनरी नगएर सिधै बोर्डिङ स्कुलमा जाने र कमिसनको भरमा किताब लाग्ने गर्नाले विकृति देखिएको छ । मनपरी मूल्य राख्ने प्रवृत्ति रोक्न आवश्यक छ । यसले व्यवसायीलाई पनि अप्ठ्यारो परेको छ ।
एउटै विषयका फरक मूल्यका फरक पब्लिकेशनका किताब हुन्छन् । कुनै मापदण्ड छैन । अनि कसलाई राम्रो वा नराम्रो भन्ने शिक्षकले । शिक्षकले पढाउने भनेको स्लेबस हो ।