नेपालगन्ज उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र बनाउने तयारी गरिएको छ । त्यसका लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले पहल सुरु गरेको छ । ‘उपमहानगरपालिका क्षेत्रमा नो हर्नको तयारी गरेका हौं’, बाँकेका ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकायले भने, ‘त्यसका लागि सबै तयारी पूरा गरिसकेका छौं ।’
ट्राफिक प्रहरीले हर्न निषेधित क्षेत्र कार्यान्वयनका लागि सरोकारवालाहरुसँग यसअघि नै छलफल गरिसकेको छ । ‘नेपालगन्ज उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग बाणिज्य संघ नेपालगन्ज, विभिन्न यातायात ब्यवसायी संघ समिति, ट्रेकटर समिति लगायत सरोकारवालाहरुसँग छलफल गरी कार्यान्वयनका लागि सहमति लिइसकेका छौं’, ट्राफिक प्रहरी प्रमुख रोकायले भने ।
नगरमा यातायातका साधनहरुले जथाभावी चर्को आवाजका हर्न बजाउँदा ध्वनि प्रदुषण निकै बढेको अवस्था छ । सडक छेउ रहेका विद्यालय, अस्पताल, यात्रुहरु चर्को हर्नबाट प्रभावित छन् । यसअघि ध्वनि प्रदुषण विरुद्ध पुनरावेदन अदालतमा सार्वजनिक सरोकारको रिट दायर भई सो सम्बन्धमा फैसला समेत भएको थियो । ट्राफिक प्रहरीले हर्न निषेधलाई बिस्तारै कडाई गर्दै लैजाने जनाएको छ ।
मंसिर १ गतेदेखि नगर हर्न निषेधित गरिनेछ । ‘त्यसको प्रभावकारी कार्यान्वनका लागि मंसिर महिनाभरी सचेतनामूलक गतिविधिहरु पनि गर्नेछौं’, का ट्राफिक प्रहरी प्रमुख रोकायले भने, ‘उपमहानगरको सीमामा सचेतनामूलक होर्डिङ बोर्ड राख्ने, नो हर्नका बार्डहरु नगर क्षेत्रमा लगाउने, चालकहरुलाई सम्झाउने लगायतका काम गरिनेछ ।’ उनले अब जथाभावी हर्न बजाउन नपाइने उल्लेख गर्दै भने, ‘सचेतनासँगै कार्यान्वयनमा बिस्तारै कडाई अपनाइनेछ ।’ नगरमा नो हर्न आवश्यक रहेका सरकारी तथा विभिन्न संघ, संस्थासँग समन्वय गरेर अगाडि बढ्ने रोकायले बताए ।