महान दार्शनिक अरस्तुले नारी र सुन्दरताका बारेमा कतै भनेका छन्– ‘सुन्दर रुप, तरुण अवस्था र मधुरता यी तीन रुप नारी जातिको ठूलो बल हो ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाका सवालमा पनि अरस्तुका यी पंक्ति कतै लागु हुन्छन् कि? पंक्तिकारलाई भने सरसर्ती नियाल्दा उनी यी तीन रुपकी त्रिवेणी मान्न करै लाग्यो । उनका यी गुणले नै उनको लामो यात्रालाई सहज, सफल र सार्थक बनाइरहेको सहजै बुझ्न सकिन्छ । उनीसँग रुप छ, तरुण जोश अटुट छ अनि मधुरता पनि । सारा देशभरिका उद्योगी, व्यापारीहरुको नेतृत्व चानचुने कुरा हैन, त्यो पनि नेपाली समाज अनि त्यसमा पनि महिला । तर, यी सबका अघि भवानी अटल रहिन् र, अहिले त्यो नेतृत्व चुम्न सफल भइन् ।
देशकै एउटा विशाल संस्थाको नेतृत्वसम्म पुगेका भवानीका पाइला भने नेपालगन्जकै माटोमा पहिलो छाप छोडी अघि बढेका थिए । नारीमा हुनुपर्ने तीन गुणकै कारण जातीय, धार्मीक र साम्प्रदायिक सदभावको उत्कृष्ट दृष्टान्त बनेको नेपालगन्जको पवित्र माटोले उनका पदचापलाई शिखरमा पुराइदियो ।
बुवा अञ्चलाधीश थिए । त्यसैले बुवाको जागिरका सिलसिलामा उनले पनि देशदर्शन गर्ने मौका पाइन् । देश र समाज बुझ्ने अवसर प्राप्त गरिन् । नेपाली जनजीवन र गाउँबस्तीका कथालाई नजिकबाट नियाल्ने मौका पाइन् ।
जागिरे बुवासँगै बिभिन्न जिल्ला पुग्दा सर्वसाधारण मानिसको संगत उस्तै बाक्लो भयो । अध्ययनका सिलसिलामा बिभिन्न वर्गका सन्ततिसँग पनि सामीप्य भइन् । काठमाडौंको सेन्ट मेरीमा स्कूले जीवन बिताएकी उनले भारतको लखनउ विश्वविद्यालयबाट स्नातक तह पूरा गरेकी हुन् ।
जीवनको दोस्रो इनिङले नै उनको खास व्यावसायिक यात्रा तय गरिदियो । किनकी उनका पति असितशमसेर राणा होटल व्यवस्थापनको उच्च शिक्षा पुरा गरेर नेपालगन्जमा होटल स्नेह चलाइरहेका थिए । यो २०५० सालतिरको कुरा हो । होटल स्नेह १० कोठासहित सञ्चालनमा थियो । यद्यपि यो तत्कालीन अवस्थामा उच्च कोटीकै होटल थियो । होटल व्यवसायमा हात हाल्नुअघि उनी फेसन उद्योगमा थिइन् । होटल स्नेहले नै भवानी राणाको पहिचान स्थापित गरिदियो । उनी स्थानीय तहमा यति राम्रोसँग घुलमिल हुन सफल भइन् कि बिभिन्न सामाजिक संघसंस्थामा सहजै आवद्ध हुन पुगिन्, र करिअरलाई अगाडि बढाउँदै गइन् । उनलाई सामाजिक हैसियतको उचाइमा पुराउने राम्रो माध्यम बन्यो गैरसरकारी संस्था साथी । साथीको जिल्ला तहको नेतृत्वले उनलाई समाजमा स्थापित गरिदियो । हस्पिटालिटी क्षेत्रमा ‘स्नेह’ र सामाजिक संस्थाको भिंडमा ‘साथी’ एक हिसाबले ब्रान्ड जस्तै थिए त्यो बेला । समय यस्तो पनि थियो साथी संस्था केन्द्र र नेपालगन्जमा समानान्तर जस्तै थिए । साथीले सामाजिक न्यायका क्षेत्रमा साँच्चिकै उल्लेखनीय काम गर्यो । उनले सुनाइन् –‘साथी सबैको साथी बन्न सफल भयो ।’
भवानीको व्यक्तित्व र नेतृत्व क्षमताले साथी संस्थालाई नेपालगन्जमा साँच्चिकै सबैको साथी बनाइदियो । साथीको प्रभाव र बिस्तार यति भयो कि केन्द्रले मुल्यांकन नगरी धरै पाएन । प्रतिफल भवानीलाई साथीको केन्द्रीय नेतृत्वमा पुराइदियो । उनी साथीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा उक्लिइन् ।
उता व्यावसायिक यात्रामा पनि उनका पाइला अघि बढ्न सुरु गरे । प्रारम्भमा उनी महिला उद्यमी संघमा आवद्ध भइन् । महिला उद्यमीहरुलाई एकत्रित गर्दै अघि बढ्ने क्रममा उनले जिल्ला तहको कुशल नेतृत्व गर्न सफल भइन् । उनको योग्यता र क्षमताले महिला उद्यमी महासंघको केन्द्रीय नेतृत्वमा समेत पुराइदियो । यसले उनलाई समग्र उद्योगी व्यापारीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ढोका खोलिदियो । मनोनीत केन्द्रीय सदस्यबाट प्रवेश गरेको यात्रा निर्वाचित केन्द्रीय सदस्य र उपाध्यक्ष हुँदै अध्यक्षसम्म पुगिसकेको छ । यसमा उनको नयाँ इतिहास बनेको छ । निर्वाचनबाट चुनिने उनी नै पहिलो महिला हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष हुने उनी पहिलो महिला हुन् । महासंघको नेतृत्वदायी यात्रामा निर्वाचित भएर कार्यसमितिमा जाने पनि पहिलो महिला नै हुन् । उनी स्नेह ग्रुप अफ कम्पनीकी अध्यक्ष तथा नेपालगन्जस्थित चार तारे होटल स्नेहकी संचालिका हुन् । जुन मध्य र सुदूरपश्चिमकै पहिलो ठूलो होटल हो । जहाँ सरकार र विद्रोही माओवादीबीच पहिलो औपचारिक वार्ता भएको थियो । त्यतिबेला समाचारको शिर्षक नै थियो –‘जंगलका बिचमा अवस्थित होटलमा सरकार माओवादी वार्ता’ । यसले नेपालगन्जमात्र हैन, होटल स्नेहको चर्चा पनि एकाएक चुलिएको थियो । नेपालका वनजंगलमा पाइने रुख बिरुवाहरु चारैतिर रोपिएको हुदा पनि यसको आकर्षण र सौन्दर्यता अलिक फरक महसुस हुनेगर्दछ ।
अध्यक्ष राणाकै भनाइ मान्ने हो भने पनि तारे होटलका सबै सुविधा प्रदान गर्ने सम्भवतः नेपालगन्जका हकमा होटल स्नेह नै हालसम्म एकमात्र होटल हो । जहाँ पाहुनाका लागि कसिनोदेखि मसाज, स्पालगायत विविध सुविधाहरु उपलब्ध छन् । नेपालगन्जमा यी सबै सुविधा प्रदान गर्ने होटल स्नेह नै पहिलो हो ।
होटल स्नेहले पर्यटनको प्रचुर सम्भावना खोलिदिएको उनी बताउँछिन् । ‘अब त नेपालगन्ज हस्पिटालिटीको शहर भन्न लायक भइसकेको छ’– उनी भन्छिन् । हुनपनि आधा दर्जन बढी चार तारे स्तरका होटल नै खुलिसकेका छन् । कुनै समय मध्य र सुदुरपश्चिमको व्यापारिक केन्द्रबिन्दु देश संघीयतामा प्रवेश गरेसँगै कताकता सुनसान जस्तै देखिएको छ । यसले सर्वसाधारणमा केही नैराश्यता जगाएको छ । तर राणा भने कोइ निराश हुन नहुने धारणा राख्छिन् । उनी नेपालगन्जलाई तीनवटा प्रदेशकै केन्द्र मान्छिन् । ‘नेपालगन्ज भौतिक पुर्वाधार र सुविधाका हिसाबले प्रदेश नं. ५, ६ र ७ को केन्द्र हो ।’ उनी भन्छिन्–‘आन्तरिक तथा बाह्य पर्यटकका लागि ट्रान्जिट प्वाइन्ट हो ।’ संघियता भनेको आर्थिक विकेन्द्रिकरण र विकासको विकेन्द्रिकरण हो । यसको व्यस्थापन राम्रोसँग गर्न सके राजधानी जहाँकहीं हुनुले खासै फरक नपार्ने उनको तर्क छ । संघीयता लागु भएको सुरुवाती चरणमा केही झमेला र झन्झटिला प्रक्रिया देखिएको भएपनि कालान्तरमा सबैलाई प्राकृतिक न्यायको सिद्धान्त लागु हुने उनी बताउँछिन् । ‘करप्रणाली एकिकृत हुन सकेको छैन । सबैतिर कन्फ्युजन छ । एकद्धार प्रणालीबाट काम हुन सकेको छैन ।’ उनी थप्छिन् ।
उता छिमेकी राष्ट्र भारतकै ठुलो मध्ये उत्तर प्रदेशसँग प्रत्यक्ष सिमा नाका जोडिएको हुँदा नेपालगन्जले भने प्रचुर लाभ उठाउन सक्ने धेरै आधार छन् । देशकै प्रमुख नाकामध्ये एक नेपालगन्जसँग हुनु पनि प्रमुख फाइदा हो भने अन्तर्राष्ट्रिय स्तरको विमानस्थल अर्को आधार । यसबाट नेपालगन्जले धेरै फाइदा लिनसक्ने उनको धारणा छ । मध्य र सुदुरका पर्यटकीय गन्तव्यका लागि नेपालगन्ज प्रवेशद्धार हुनु अर्को आकर्षण छ । प्रख्यात कैलाश मानसरोवर, रारा, शेफोक्सुन्डो, खप्तड लगायत गन्तव्यमा पुग्नेहरुलाई नेपालगन्जले आतिथ्यता दिनैपर्ने अवस्था छ ।
महानगर यात्राका क्रममा नीजि क्षेत्रको सहभागिता र सम्भावनाका बारेमा सम्वाद गर्ने हेतुले अध्यक्ष राणालाई सम्पर्क गर्दा निर्धारित समयमा नै भेट भयो । संघीय राजधानीको टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको बिशिष्ट कक्षमा अर्गानिक चियाको चुस्कीसँगै भएको सम्वादमा अध्यक्ष राणाले नेपालगन्जको प्रचुर सम्भावना औंल्याइन् ।
अध्यक्ष राणाकै भनाइमा त्यो बेलाको नेपालगन्ज र अहिलेको नेपालगन्ज धेरै फरक भइसकेको छ । बीस, बाइस बर्षअगाडिको नेपालगन्ज र अहिले हेर्दा अनुलनीय विकास भएको छ । उनको अनुभव छ, त्यो बेला नेपालगन्ज भर्खर विकासको पथमा बामे सर्दै थियो । मध्य र सुदुरपश्चिमको केन्द्र थियो र, यो त अहिले पनि छ ।
त्यतिबेला पनि मानसरोवरको निकै सम्भावना भएको हुँदा स्नेह ग्रुपको पहलमा रुट खुलाइयो । कैलाश मानसरोवर जानेको संख्या निकै बढ्यो, आइएनजिओकर्मीको तुलनामा । होटल भरिभराउ हुन थाले । जसका कारण नेपालगन्जमा स्तरीय होटल खुल्ने क्रम ह्वात्तै बढ्यो ।
पूर्वको तुलनामा पश्चिम विकसित नभएको क्षेत्र थियो । नेपालकै पुरानो शहरमध्येको नेपालगन्जले पनि त्यही नियति भोग्दै आउको थियो । यद्यपी मध्य र सुदुरको केन्द्र हुनुका नाताले बिभिन्न संघसंस्थाले काम गरिरहेका थिए । प्लान, युएन जस्ता बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले सामाजिक र आर्थिक विकासका लागि काम गरिरहेका थिए । उनले पनि होटल र पर्यटन व्यवसायका क्षेत्रमा काम थालिन् । त्यो बेला होटेल सानै थियो । बजारमा होटेलहरुको संख्या पनि थोरै थियो, स्नेह, बाटिका र भेरी मात्र थिए । तर, सम्भावना भने निकै थिए । पर्यटकले कोठा नै नपाउने अवस्था थियो । त्यो बेला दुई किसिमका अतिथि हुन्थे । एक किसिमका आइएनजिओकर्मी हुन्थे । सबैले गोष्ठी, सेमिनार र वर्कसप गर्थे । आवासीय वर्कसप गर्नेभएको हुँदा होटल निकै चल्थे । अर्कोतर्फ भारतीय पर्यटक आउँथे सामान किन्न । किनकी चाइनिज सामान सस्तो पाइन्थ्यो नेपाली बजारमा । चहलपहल बढेकै बेला द्धन्द्ध सुरु भयो । देशको राजनीति त त्यसअघि नै अस्थिर थियो । बिवाहको ३,४ वर्षमा नै देशमा सशस्त्र युद्ध सुरु भयो । व्यवसाय गर्न चाहनेहरुको इच्छामा तुषारापात भयो । धेरै व्यवसायलाई अप्ठ्यारो भयो । होटल बन्द हुने अवस्था सिर्जना भयो । बर्दियामा उनको कृषि फार्म समेत थियो । त्यो नि सोचेजसरी अगाडि बढाउन सकिएन । त्यतिबेला कतिपय व्यवसायी पलायन नै भए । तर, उनी भने नेपालगन्ज सेन्टर प्वाइन्ट नै हो भन्नेमा दृढ थिइन् ।
यसैबीच सामाजिक विकासमा साथी संस्थासँगको आवद्धता नै करिअरको टर्निङ प्वाइन्ट बन्यो । यसले नेतृत्वदायी भुमिका निर्वाह गर्ने चाहले डेरा जमाउँदै लग्यो । यसले उनलाई नेतृत्वमा पुग्ने आकांक्षा पलायो । सफलताको चुचुरोतर्फ पनि अघि बढायो ।
यतिबेला एकातर्फ समग्र नीजि क्षेत्रको बागडोर हातमा छ, अर्कोतर्फ नेपालगन्जको विकासमा गर्नुपर्ने जिम्मेवारी । यद्यपी उनी अविरल लागिपरेको बताउँछिन् । ‘अन्तर्राष्टिय एयरपोर्ट बनाउने अभियानमा जुटेका छौं ।’– उनले भनिन्–‘पर्यटनको अति सम्भावना भएको ठाउँ हो, नेपालगन्ज दिल्ली उडानले यहाँको पर्यटन कायापलट हुनेछ ।’ त्यसैगरी बाँके र बर्दिया कृषिमा उर्वरभुमि हो । पहिले निर्यात गथ्यौं, अहिले आयात गर्छौं । यसले व्यापार घाटा न्युनिकरण गर्न सकिएको छैन । चाहेजति विकासको पथमा अघि बढ्न नसक्नुको कारण भवानीलाई प्रष्टै छ । व्यापार घाटा घटाउन उत्पादनमुलक क्षेत्रमा सरकारले नै प्रेरित गरिरहेको छ । ‘रेलवे कनेक्टिभिटी, रोडवे कनेक्टिभिटी हुँदैछ । तीनवटा मुख्य नाका खुल्नुपर्छ ।’ उनी भन्छिन्–‘ वीरगञ्ज, भैरहवासँगै मुख्य नाका नेपालगन्जमा पनि हुने क्रममा छ, यसको लाभ नेपालगन्जले उठाउन सक्छ ।’ सुख्खा बन्दरगाह पनि चाँडै सुरु हुने प्रक्रियामा रहेको उनले बताइन् । यसले पनि यहाँको विकास राम्रो हुनेछ । आर्थिक विकाससँगसँगै सामाजिक विकास हुन्छ । नौबस्तामा औद्योगिक क्षेत्रले पुर्ण आकार लिइसकेपछि त्यसले पनि यहाँको व्यापारमा तरंग ल्याइदिनेछ । उनकै भनाइमा यसपछि यो ठाउँ औद्योगिक करिडोर र पर्यटन करिडोरका रुपमा विकास हुनेछ ।
त्यतिमात्र हैन, सम्भावना धेरै छ नेपालगन्जसँग । उनले देखेकी छिन्, कृषीको सम्भावना, जडीबुटी प्रशोधन केन्द्र, भौतिक पूर्वाधार, अन्तर्राष्टिय हवाइ मैदान, सिमेन्ट उद्योग सबैको सम्भावना निकै छ । मुख्य नाका भएको हुँदा पर्यटन विकासका साथै व्यापार प्रवद्र्धन हुने सम्भावना निकै छ । त्यो सबै सम्भावना देखेर नै सशस्त्र द्वन्द्धका बेला कतिपय मान्छे आशावादी भएर नेपालगन्जमा नै बसे, उनीपनि त्यही आशावादीहरुको लाइनमा एक थिइन् । दुखसुखमा अगाडि बढिरह्यो, होटेलको ब्यावसायिक जीवन ।
यद्यपी नेपालगन्जलाई केन्द्र बनाएर काम गर्ने हो भने समग्र पश्चिमको पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना छ । अहिले शहर कोलाहल छ, भिंड छ । द्धन्द्धका कारण धेरै मान्छे आएका छन् बाहिरबाट । यद्यपी समग्र विकासका लागि सबैपक्ष उत्तिकै लाग्नुपर्ने उनले बताइरहिन् । पदीय दायित्व र जिम्मेवारीबाट बाहिर रहेकाहरु पनि ठाउँ बिशेषको समृद्धिका लागि त्यत्तिकै लाग्नुपर्ने निस्कर्ष सुनाइन् ।
एउटा शिखरमा पुग्दासम्म पाइलाहरु लर्बराउँछन्, पाइलाहरु थर्रथराउँछन् पनि । तर, पनि भवानीका पाइलाहरु कहिल्यै धरमराएन् । कहिल्यै बिचलित भएनन् । नेपाली समाज अझैँ उदार भइसकेको छैन । शिक्षा र चेतना बढेपनि विवेचनाको पाटो अझैँ उही गतिमा छ । त्यसैले उनको यात्रा सहज थिएन, अझैँ आम नेपाली महिलाहरुको जस्तै । र, पनि उनी अहिले त्यो शिखरसम्म पुगेकी छन् । उनकै अनुभवमा – नेतृत्वसम्म पुग्नका लागि पुरुषसँग प्रतिस्पर्धा गर्नु फाइदा र बेफाइदा दुवै छन्, कसैले महिला भएकै कारण सहयोग गर्नेवाला छैन ।
देशकै उच्च संस्थामा पुगेर पनि नेपालगन्जको विकासमा खासै चासो नदिएको उनका आलोचकहरुको भनाइ अस्वभाविक मान्न सकिन्न । यद्यपि नेपालगन्जसँगबाट सारिएको एउटा पाइला आज यो शिखरसम्म पुगेको छ । र, पनि अझैँ उनका पाइला रोकिने छैनन्, व्यावसायिक शिखरमा अझ धेरै नारी पाइलाहरु पुराउनका लागि । शुभकामना ।