‘गाउँमा कछाड बेरेर उभिएको एउटा किसानले तिरेको करबाट हामी राष्ट्रसेवक, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पालिएका छौं’, प्रमुख आयुक्त घिमिरेले भने, ‘हाम्रो क्रियाकलाप त्यो किसानप्रति केन्द्रित छ कि छैन आत्मसमीक्षा र मूल्यांकनको समय पनि हो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जको भवन उद्घाटन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार विरुद्ध अख्तियारले निर्मम प्रहार गर्ने बताएका छन् । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जको भवन उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरले भ्रष्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका हुन् ।
‘भ्रष्टाचार सामाजिक पद्धतिको उपपद्धतिका रुपमा विकास भैराखेको छ’, प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने, ‘यो प्रवृत्ति प्रति राज्यले निर्मम प्रहार गर्ने सामथ्र्य राख्नु पर्छ ।’, अख्तियार त्यही दिशामा क्रियाशिल भएको उनले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख आयुक्त घिमिरेले राष्ट्रसेवक जनता र राष्ट्रप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे । ‘गाउँमा कछाड बेरेर उभिएको एउटा किसानले तिरेको करबाट हामी राष्ट्रसेवक, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पालिएका छौं’, प्रमुख आयुक्त घिमिरेले भने, ‘हाम्रो क्रियाकलाप त्यो किसानप्रति केन्द्रित छ कि छैन आत्मसमीक्षा र मूल्यांकनको समय पनि हो ।’
मुलुक संघीयतामा गएपछि स्थानीय तह र प्रदेश सरकारले कुनै पनि बहानामा भ्रष्टाचारलाई बढावा दिने काम गर्न नहुने प्रमुख आयुक्त घिमिरेले बताए । उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकारहरु आफ्नो स्थापनाको संक्रमणका क्रममा छन् । स्थानीय र प्रदेश सरकारमा कानुन निर्माण गर्ने अधिकार पनि छ । र, त्यो कानुन निर्माणको बहानामा भ्रष्टाचार गर्ने छुट, त्यसबाट उन्मुक्ति पाउने छुट कसैलाई पनि प्राप्त छैन ।’ आयोगमा परेका उजुरीमा सबैभन्दा बढी स्थानीय तहका हुने गरेको बताउँदै प्रमुख आयुक्त घिमिरेले भने, ‘अनुगमन गर्ने निकाय विरुद्ध पर्ने उजुरीहरुले स्थानीय सरकारलाई बलियो बनाउन सक्दैन ।’
गाउँमा काम गर्ने एउटा राष्ट्र सेवकको आँखामा गाउँको एउटा सर्वसाधारण किसानले राज्यको उपस्थिति र सरकारको उपस्थिति खोज्ने उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले कर्मचारीको व्यवहारमा अमूल परिवर्तन र रुपान्तरणको खाँचो औंल्याए । उनले अख्तियार, राष्ट्रसेवक कर्मचारी कसैलाई पनि असफल हुने छुट नरहेको बताए ।
बर्दियाको एउटा पुल निर्माण सम्पन्न नहुँदै भासिएको सन्दर्भ उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले अख्तियारले त्यसमा कारवाहीको पहल गरेकै कारण एक जना सांसद निलम्वनमा रहेको जानकारी दिए । ‘आयोग कुनै पनि विषयमा रहरले प्रवेश गर्दैन, बाध्यताले प्रवेश गर्छ’, उनले भने, ‘आयोगको एउटै अपेक्षा भनेको कुनै पनि काम विधि, कानुन र सम्झौता अनुसार हुनुपर्छ भन्ने हो ।’
‘हरेक दिन स्टिङ अपरेसन भैराखेका छन्’, प्रमुख आयुक्त घिमिरेले भने, ‘यो रहरले गरिएको काम होइन, अहिले पनि २२÷२५ जना आयोगको हिरासतमा हुनुहुन्छ, जब कोही एउटा पीडित पीडा लिएर आयोग समक्ष आउँछ, हामीसँग अर्को विकल्प पनि हुँदैन ।’
‘आयोगको प्राथमिकता भनेको भ्रष्टाचार सँग सम्झौता गर्ने होइन भ्रष्टाचार न्यूनिकरणको क्षेत्रमा क्रियाशिल हुने हो’, प्रमुख आयुक्त घिमिरले भने, ‘त्यसका लागि नागरिक समाज, भ्रष्टाचार विरुद्ध क्रियाशिल सम्पूर्ण गैससहरु र सञ्चारकर्मी सँग सहकार्य गर्ने हो ।’ उनले भ्रष्टचार न्यूनीकरणका लागि कार्ययोजना बनाएर सरकार समक्ष पेश गरिसकेको जानकारी दिए । ‘विगतमा जस्तो हामी सार्वजनिक प्रचार गरेर हिड्दैनौं’, उनले भने, ‘तर, सार्वजनिक पद धारण गर्ने व्यक्तिहरु आयोगको निगरानीमा राखेका छौं ।’ ती विषय आगामी दिनमा सार्वजनिक हुँदै जाने घिमिरेले जानकारी दिए ।
ठेक्का होल्ड गरेर राख्ने ठेकेदारहरु आयोगको सुक्ष्म निगरानीमा रहेको प्रमुख आयुक्ति घिमिरेले बताए । ‘७÷८ वटा ठेक्काका विषयहरु आयोगको बिस्तृत अनुसन्धानमा परेको छ’, उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनाहरुको पनि आयोगले प्रत्यक्ष निगरानी गर्नेछ ।’ भेरी बबई ड्राइभर्सन अनुगमन गरिसकेको जानकारी दिंदै घिमिरेले काम उत्साहजनक रुपमा भैरहेको भन्दै सन्तोष व्यक्त गरे । उनले अन्य निर्माण कम्पनीले पनि भेरी बबई ड्राइभर्सनको कामबाट पाठ सिक्न सुझाव समेत दिए ।
ठेक्का होल्ड गरेर बस्नेहरुप्रति आयोगले टुलुटुल हेरेर नबस्ने चेतावनी दिंदै प्रमुख आयुक्त घिमिरेले भने, ‘उनीहरुलाई अख्तियारको कारवाही दायरमा ल्याउने छौं ।’ निर्माण कम्पनीहरुलाई सरकारी निकायबाट कुनै अप्ठ्यारो सिर्जना गरिए सहजीकरण गर्न आयोग तयार रहेको उल्लेख गर्दै घिमिरले भने, ‘तर, कञ्चनपुरको उपकरण देखाएर ताप्लेजुङको ठेक्का लिने भन्ने प्रवृत्ति भने प्रोत्साहित हुन सक्दैन ।’
कार्यक्रममा बोल्दै आयोगका सचिव महेश्वर न्यौपानेले अख्तियारले अझ सुदृढ र प्रभावकारी तथा वज्ञौनिक ढंगले काम गर्दै जाने बताए । उनले आयोगलाई सक्षम बनाउन प्राविधिक, विशिष्टिकृत जनशक्ति थपिएको बताउँदै दक्ष जनशक्तिले विज्ञताको आधारमा काम गर्ने बताए । भ्रष्टाचार गर्नेले नयाँ नयाँ विधि अपनाउने गरेको बताउँदै सचिव न्यौपानेले त्यस विरुद्ध अख्तियारले आफुलाई समक्ष बताउँदै लगेको जानकारी दिए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भौतिक पूर्वाधारले कार्य सम्पादनमा उत्साह थप्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश ५ का सचिव डा. तिर्थराज ढकाल, आयोगको बुटवल कार्यालयका प्रमुख, सहसचिव रविलाल पन्थ, आयोगका सहसचिव कालिप्रसाद पराजुली, आयोग सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरे, आयोगका सुर्खेत प्रमुख ज्ञानराज सुवेदी, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
मुलुक संघीयतामा गएपछि आयोगले देशभरी प्रादेशिक स्तरमा कार्यालयहरु स्थापना गरेको छ भने त्यसअघि रहेको नेपालगन्ज बाहेकका सम्पर्क कार्यालयहरु हटाइसकेको छ । दाङ, बाँके र बर्दिया जिल्ला हेर्ने गरी नेपालगन्जमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । कोहलपुरमा रहेको सम्पर्क कार्यालय नेपालगन्जमा ५ करोड २८ लाख लागतमा दुई वटा भवन निर्माण गरी सरेको हो ।