‘छिट्टै नेपालगन्ज–दिल्ली उडान’

मन्त्री अधिकारीले गरे विमान पार्किङ स्थल निर्माण शिलान्यास

खम्ब पुन
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालगन्ज–दिल्ली उडान छिट्टै सुरु हुने बताएका छन् । नेपालगन्ज–दिल्ली उडानको लागि अबको तीन महिना भित्र अस्थायी इमिगे्रशन निर्माण गरेर भएपनि सुरु गर्ने बताउँदै मन्त्री अधिकारीले सरकारको कारणले एक दिन पनि ढिला हुन नदिने प्रतिबद्धता समेत जनाए ।

 

नेपालगन्ज विमानस्थलनमा निर्माण हुन लागेको विमान पार्किङ शिलान्यास गर्न बिहीवार नेपालगन्ज आइपुगेका मन्त्री अधिकारीले नेपालगन्जबाट मानसरोवर, पोखरा मुक्तिनाथ, भैरहवा लम्विनी, रारा लगायत बिभिन्न निकुञ्जसम्म पुग्नका लागि केन्द्र पर्ने भन्दै सोही अनुरुप सरकारले विमान स्थलको स्तरोन्नती गर्न लागेको उल्लेख गरे । पूर्वाधार स्तर उन्नतीको काम प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गर्दै मन्त्री अधिकारीले नेपालगन्ज–दिल्ली मात्र होइन भारतका अन्य सहरमा समेत उडान हुने बताए ।

 

 

कन्स्ट्रक्सन अफ ट्याक्सीवय एण्ड पेभिमेन्ट एप्रोन (पार्किङ) सम्पन्न भएपछि एटिआर ७२ क्षमताका ६ वटा जहाज एकैपटक पार्किङ गर्न सकिने छ । नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले पार्किङ सञ्चालनमा आएपछि जहाजको सुरक्षामा ठूलो टेवा पुग्ने बताए ।

 

 

पार्किङ निर्माणका लागि २०७५ असोज १५ मा २८ करोड ५३ लाख ४० हजार ९ सय ४३ रुपैया (भ्याट सहित) निर्माण गर्नेगरी निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालि मैजुबहाल काठमाडौंसँग सम्झौता भएको हो ।पार्किङ्ग शिलान्यास गर्दै मन्त्री रविन्द्र अधिकारीले नेपालगन्जलाई पश्चिम नेपालकै पर्यटकीय हब बनाउन सरकार लागि परेको बताएका छन् । उनले नेपालगन्ज विमान स्थललाई सेन्टर हवको रुपमा पूर्वाधार विकास गर्न बजेट बिनियोजन गरिएको बताए ।

 

मन्त्री अधिकारीले नेपालगन्जबाट उडान भएर सेवा सञ्चालन हुनका लागि कर्णाली तथा सुदुर पश्चिम प्रदेशका जिल्लाहरुमा अरु एयरलाइन्सहरु संग समन्वय गरी चल्ने अवस्थाको निर्माण गर्न नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमान स्थलका कर्मचारीहरुलाई निर्देशन समेत दिए । दुर्गम पहाडी जिल्लाहरुमा हवाई यातायात सञ्चालन गर्न निजी बिमान कम्पनीका जहाजहरुले पनि सेवा प्रवाह गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

 

सम्झैता भएको मितिदेखि आगामी चैत्र मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीले जनाएको छ । चाँडो भन्दा चाँडो निर्माण गरी नागरिक उड्डयन प्राधिकरण नेपालगन्जलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीका प्रोपराइटर पूणबहादुर तामाङले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया