बुटवल,
अब कुनै किशोरी निर्माला र श्रीया बन्नु नपरोस्, अब कुनै किशोरी सम्झना जस्तो एसिडको तातोबाट पोलिन नपरोस् भन्ने सन्देशका साथ बुटवल स्थित दीप बोर्डिगका विद्यार्थीहरुले स्व स्फूर्त रुपमा सडक नाटक र हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् ।
देशमा बढ्दै गइरहेको बलात्कार र किशोरी हिंसाका विरुद्ध १२ जना विद्यार्थीबाट शुरु भएको यस अभियानमा अभियानको पहिलो दिन नै १२०८ जना मानिसहरुले समर्थन स्वरुप हस्ताक्षर गरेको कुरा अभियानका संयोजक सारांश थापा मगरले बताएका छन् । कात्तिक १४ गतेबाट शुरु भएको यो अभियान कात्तिक १७ गतेसम्म जारी रहनेछ । पाँच नंम्बर प्रदेश लगायत देशभरिका कुनै पनि किशोरी यौन हिंसाको शिकार हुनु नपरोस् भन्ने उद्देश्यका साथ जनचेतना जगाउने र यौन हिंसा विरुद्द एक हुनको लागि यो अभियानको शुरु गरिएको हो । यो अभियानको क्रममा संकलन भएको हस्ताक्षर कार्यक्रम पश्चात पाँच नम्बर प्रदेशका मुख्यमन्त्रिलाई बुझाइने कार्यक्रम रहेको छ ।
बुटवलको सुख्खानगर स्थित बोर्डिङ्ग हाइस्कूलमा कक्षा दशमा अध्ययन गरिरहेका १२ जना विद्यार्र्थीहरुले देशमा किशोरीहरु माथि भइरहेको यौन हिंसाका विरुद्धका जनचेतना जगाउनको लागि सडक नाटक र हस्ताक्षर संकलन अभियानमा सांराश थापा मगर, एलिना शिवाकोटी, संगम खड्का, सुजल के.सी, करुणा भण्डारी, स्नेहा डाला मगर, मधु राणा, सृृष्टि पौड्याल, सुलभ भण्डारी, धिरज चौहान लगायतका विद्यार्थीहरुको सहभागिता रहेको छ । दशैतिहारको विदाको अवसर पारी बुटवलको विभिन्न स्थानहरुमा यौन हिंसा विरुद्धको सडक नाटक प्रदर्शन गर्ने र अयिभानको समर्थनको कक्षा दशका विद्यार्थीहरुले स्वः स्फूर्त रुपमा अभियान संचालन गर्न लागेपछि विद्यालयले उनिहरुको अभियानलाई हौसला प्रदान गरेको अभियानको लागि आवश्यक परेको सामाग्रीहरु सहयोग गरेको जानकारी दीप ज्योती हाइ स्कूलका प्रधानाध्यापक टीकाराम न्यौपानेले दिनुभयो ।