आजबाट ‘समुदाय–प्रहरी साझेदारी’

नेपाल प्रहरीले आज आइतबारबाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरु समेतको बृहत भेला गरिएको छ । ‘आजबाट देशभर समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले आइतबार आयोजित कार्यक्रममा भने ।

 
नेपाल प्रहरीको सेवा प्रभावकारिताका लागि सामुदायिक प्रहरीको अवधारणा अघि सारिएको यसअघिको अभ्यासलाई अर्को चरणमा लैजाँदै नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अघि सारेको हो । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा नयाँ अभ्यास अगाडि बढ्नेछ । ‘टोलदेखि विद्यालय, स्थानीय तह, प्रदेश, केन्द्रसम्म एकसाथ अभियान अगाडि बढ्नेछ’, प्रहरी उपरीक्षक पौडेलले कार्यक्रम लन्च गर्न लागिएको जानकारी दिंदै भने, ‘कार्यक्रम कार्यान्वयनका लागि गाउँ तहसम्म नै साझेदारी संरचना निर्माण गरिनेछन् ।’ त्यसका लागि सामुदायिक प्रहरीमा यसअघि सक्रिय सबैलाई जोडिनेछ ।

 
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावल, साहिल अन्सारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया