नेपालगन्जमा दुई क्वीन्टल गुणस्तरहीन मिठाई नष्ट

वसन्त गौतम
तपाई मिठाई किन्दै हुनुहुन्छ भने ख्याल गर्नुस्, नत्र तपाई पनि गुणस्तरहिन मिठाईको शिकार बन्न सक्नु हुनेछ । बागेश्वरी मन्दिर वरिपरिका पसलहरुले पुराना र कुहिएका मिठाईलाई ताजा मिठाईसंग मिसाएर गुणस्तरहिन मिठाई बेच्ने गरेको तथ्य फेला परे पछि उपभोक्ताहरु सचेत बन्नु पर्ने भएको हो ।

 
संयुक्त बजार अनुगमन टोलीले विक्री वितरणका लागि राखिएका पुराना कुहिएका गुणस्तरहिन दुई क्वीन्टल मिठाई बरामद गरि नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । पटक–पटक प्रयोग गरिएको ५ लिटर तेल समेत जफत गरि नष्ट गरिएको पौड्यालले बताए । बागेश्वरी मन्दिर अगाडिका पुजा सामाग्री बेच्ने पसलमा खुल्ला रुपमा बेच्न राखिएका पुराना कुहिएका गुणस्तरहिन मिठाइहरु बिक्री वितरणका लागि राखिएको, मिठाई पसलका गोदाम (कारखाना)मा ताजा मिठाईमा कुहिएका पुराना गुणस्तरहीन मिठाई मिलाई पुन प्रशोधन गरि बिक्री वितरणका लागि तयार पारेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

 

 
यसैगरी अनुगमनका टोलीले अनुगमन गर्दै गर्दा नजिकका मिठाई पसलेले बेच्न राखिएका गुणस्तरहिन मिठाईलाई हतार–हतार बोरामा राखी लुकाउने प्रयास गरेको, मिठाई बनाउने ठाउँको सरसफाईको स्तर कमजोर रहेको अनुगमन टोलीले जनाएको छ । मिठाई पसलको अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता विनै संचालन भएको, पसलमा मुल्य सुचि नराखिएको, बिक्री वितरणका लागि राखिएको मिठाइमा अखाद्य रंगको प्रयोग गरेको, पकाई सकेको तेललाई पटक पटक प्रयोग गरिएको पाइएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत विवेक सुवेदीले जानकारी दिए ।

 

 
यस अघि बजार अनुगमनमा क्रममा ल्याव टेष्ट बिनै पानी उद्योग संचालन भएको पाइए पछि अनुगमन टोलीले ३ वटा पानी उद्योग बन्द गरि दिएको छ । अनुगमन गरिएका ३ पानी उद्योगले बजारमा पानी पठाउनु अघि ल्याव परिक्षण गरि पानीको गुणस्तर एकिन गरेर पठाउनु पर्नेमा त्यसो नगरि बजारमा पठाउने गरेको पाइएकाले पानी उद्योग बन्द गरी दिनु परेको अनुगमन टोलीले जनाएको छ ।

 

 
नेपालगन्जका मासु बजारमा खसीको मासु भनी बाख्रीको मासु समेत विक्री वितरण गरेकोले अनुगमन टोलीले दशै अघि जफत गरि नष्ट गरि दिएको थियो । यसैगरी नेपालगन्ज बजारमा दर्ता बिनै ब्यवसाय संचालन भएको, मुल्य सुचि नराखेको, म्याद नाघेका बस्तुहरु बेचबिखन गरिएको, लेवलिङ्ग र प्याकेजिङ्ग नगरिएका गुस्तरहिन बस्तुहरु पनि विक्री वितरण गर्ने गरेको, गुणस्तरहिन मिसावटयुस्त घिउ विक्री वितरण गरिएको, केही पसलले एमआरपी मुल्य भन्दा फरक पर्ने गरि आफुखुसी मुल्य राखी बेच्ने गरेको पाइएको अनुगमन टोलीले फेला पारेको जनाएको थियो ।
विहीवारको संयुक्त बजार अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्याल, नासु तिर्थ कठायत, जिल्ला प्रशासन कार्यालयका कालिका केसी, खाद्य प्रबिधि तथा गुणनियन्त्रण कार्यालय नेपालगंजका खाद्य अनुसन्धान अधिकृत बिवेक सुवेदी र खाद्य निरिक्षक नेत्रा बोगटी, वडा प्रहरी कार्यालयका नेपालगन्जका प्रहरी नायव निरिक्षक भिम बहादुर खड्का लगायतको सहभागिता थियो ।
यस्तो छ कानूनी ब्यवस्था
खाद्य ऐन २०२३ अनुसार कुनै खाद्य पदार्थको स्वाभाविक गुणभन्दा कमसल हुने गरि प्रमुख अंगको परिणाम घटाएको वा अर्को कुनै पदार्थ मिश्रण गरिएको खाद्य पदार्थलाई न्यून स्तरको खाद्य पदार्थ भनिन्छ ।
स्वास्थलाई हानी हुने गरि सडेको गलेको वा फोहर, मैला वा बिषाक्त अवस्थामा राखिएका वा तयार गरिएको खाद्य पदार्थ दुषित खाद्य पदार्थ हो । यसैगरी मानिसको उपभोगको लागी अनुपयुक्त हुने गरि केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशु पंक्षी वा हानिकारक पशु पंक्षी वा हानिकारक बनस्पतिबाट बनेको खाद्य पदार्थलाई लाई पनि कानूनले दुषित खाद्य पदार्थ मानेको छ । तोकिएको अधिकतम सीमा भन्दा बढी किटनासक औषधीको प्रयोग गरि स्वास्थ्यमा हानी हुन सक्ने खाद्य पदार्थलाई दुषित खाद्य पदार्थ ऐनले भनेको छ । र, यस्तो दुषित र न्यन गुणस्तरको खाद्य पदार्थ बिक्रि बितरण गर्न कानूनले मनाही गरेको छ ।
कानूनले ढाँटी झुक्याई खाद्य पदार्थ विक्री वितरण गर्न, अनुज्ञापत्र लिएर मात्र खाद्य पदार्थको विक्री वितरण गर्नु पर्ने ब्यवस्था कानूनले गरेको छ । न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, विक्री वितरण, निकासी वा पैठारी गर्ने ब्यक्तिलाई पहिलो पटक १ हजार देखि २ हजारसम्म जरिवाना, दोश्रो पटकदेखि प्रत्येक पटक २ हजार देखि ५ हजारसम्म जरिवाना र ६ महिना देखि १ बर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने कानूनी ब्यवस्था रहेको छ ।
त्यस्तै, दुषित खाद्य पदार्थको उत्पादन विक्री वितरण, निकासी पैठारी गर्ने ब्यक्तिलाई रु ५ हजार देखि १० हजारसम्म जरिवाना वा १ बर्ष देखि २ बर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था खाद्य ऐनले गरेको छ । कुनै दुषित खाद्य पदार्थ खानाले कुनै ब्यक्तिको मृत्यु हुने सम्भावना भएमा वा मृत्यु भएमा वा शरिरलाई अपुरणिय क्षति भएमा वा हुने सम्भावना भएमा त्यस्तो दुषित खाद्य पदार्थ उत्पादन वा विक्री वितरण गर्ने ब्यक्तिलाई रु १० हजार देखि २५ हजार सम्म जरिवाना र ३ बर्षसम्म कैद हुन सक्ने छ । दुषित खाद्य पदार्थबाट प्रभावित पीडितलाई १ लाखसम्म क्षतिपूर्ति दिनु पर्ने कानूनी ब्यवस्था रहेको छ ।

 

यी कुरामा सचेत बनौ
उपभोक्ता प्याकेजिङ्ग गरिएका खाद्य बस्तु खरिद गर्दा उत्पादन कम्पनी, उत्पादन मिति, उपभोग्य मिति र बस्तुको गुणस्तरका बारेमा बुझेर मात्र खरिद गर्ने गरेमा उपभोक्ता ठगिन बाट बच्न सकिन्छ । त्यसै गरि समान खरिद गर्दा खरिद मुल्य हेर्ने र समानको बिल लिने बानी बसाउनाले उपभोक्ता ठगिनबाट बच्न सकिने बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए ।
बाँकेमा गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हनन हुने गरि ब्यवसाय संचालन भैरहेको तथ्यहरु एक पछि अर्को गरि सार्वजनिक भए पछि आम उपभोक्ता सचेत बन्नु पर्ने भएको छ । चाडपाडका बेला खाद्य बस्तुहरुको खरिद विक्री ज्यादा हुने र यसै बेला उपभोक्ता ठगिने सम्भावना भएकाले बस्तु खरिद गर्दा उपभोक्ता सचेत बन्नु पर्ने जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया