औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले बाँके आर्थिक राजधानीको रुपमा विकास गर्ने योजनामा रहेको बताएका छन् । बुधबार बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले बाँकेलाई औद्योगिक राजधानीको रुपमा विकास गर्ने योजना अनुरुप औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको बताएका हुन् ।
अध्यक्ष बस्नेतले औद्योगिक क्षेत्र स्थापनाले बाँकेलाई प्रदेश नं. ५, ६ र ७ को आर्थिक राजधानीका रुपमा बिकास सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि बस्नेतले नौबस्तामा निर्माण हुने औद्योगिक क्षेत्र अत्याधुनिक हुने बताए । ‘नौबस्तामा निर्माण हुने औद्योगिक क्षेत्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ’, अध्यक्ष बस्नेतले भने, ‘औद्योगिक क्षेत्र एकिकृत चेकपोष्ट सहितको हुनेछ ।
अध्यक्ष बस्नेतले निर्माण हुन लागेको औद्योगिक क्षेत्रमा बसोवास गर्दै आइरहेका बासिन्दाप्रति परियोजना गम्भीर रहेको उल्लेख गर्दै उनीहरुको उचित व्प्यवस्थापन गरिने प्रतिबद्धता जनाए । औद्योगिक क्षेत्र पाँच बर्ष भित्र पूरा गर्न लक्ष्य राखिएको छ । ‘आगामी ५ वर्षभित्रै काम सक्ने गरी निर्माण कार्य अगाडि बढ्नेछ’, अध्यक्ष बस्नेतले भने, ‘त्यसका लागि स्थानीय उद्योगीहरुलाई समेत सहभागी गराइनेछ ।’
कार्यक्रममा नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले औद्योगिक क्षेत्रका लागि तयारी अघि बढिसकेको बताए । उनले ३ सय ३८ बिगाह क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा हालसम्म ३ सय ५० उद्योगीले उद्योग सञ्चालनका लागि आशय पत्र दर्ता गरेको जानकारी दिए ।
नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले औद्योगिक क्षेत्रका लागि डिपिआर भैसकेकाले सबैलाई निर्माणमा सघाउन आग्रह गरे । ‘परियोजनालाई समयमै सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ’, उनले भने । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सातै प्रदेशमा सरकारले औद्योगिक क्षेत्र निर्माण गर्न लागेको जानकारी दिए । उनले नौबस्ता पर्यावरणीय दृष्टिले उद्योगका लागि उपयुक्त रहेको बताए । ‘औद्योगिक क्षेत्रले यहाँको आर्थिक क्रियाकलापलाई बढावा दिनेछ’, केन्द्रीय सदस्य श्रेष्ठले भने, ‘यसले रोजगारीको सिर्जना समेत गर्नेछ ।’
बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले औद्योगिक क्षेत्र स्थापना हुने क्षेत्रका बासिन्दालाई व्यवस्थापन गर्न आग्रह गरे । उनले औद्योगिक क्षेत्रका कारण स्थानीयबासिन्दा डराइरहेको अवस्था रहेकाले पहिले उनीहरुको व्यवस्थापन आवश्यक रहेको बताए । अध्यक्ष रुचालले गाउँपालिका र आफ्नो तर्फबाट औद्योगिक क्षेत्र निर्माणमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष रामशरण थारुको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन लगायतको सहभागिता रहेको थियो ।
हाल नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रमा ३३ वटा ठूला साना उद्योग सञ्चालनमा छन् । २०३० सालमा २ सय ३३ रोपनीमा बनाइएको नेपालगन्ज स्थित औद्योगिक क्षेत्रमा झण्डै १ हजारलाई रोजगारी र ४ सय करोड बार्षिक उत्पादन हुने गरेको तथ्यांक औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।