भारतबाट दशैं मनाउन फर्किएका ५ जना नेपालीको मनालीमा हिउँले हात, खुट्टा खाइदिएपनि अहिले अस्पतालको शैय्यामा छटपटाइरहेका छन् ।
दशैं मनाउने उल्लास बोकेर भारतबाट फर्किएको एउटा परिवार नै अस्पतालको शैय्यामा पुगेको छ । जाजरकोट नलगाढका यादवराज चनारा सहितका ५ जना भारत कमाउनका लागि गत जेठमा कारगिल पुगेका थिए । डेढ साता अघि दशैं मनाउन फर्किएका उनीहरुको खुशीमा तब बादल लाग्यो जब भारतको मनाली भन्ने ठाउँमा हिउँले हात, खुट्टा चलाउन नै नसक्ने गरी खायो ।
‘पहिरोले बाटो बाटो बन्द थियो । बसमा यात्रा सम्भव थिएन । बाटो भरी हिउँ नै हिउँ थियो तर, हिड्नु विकल्प थिएन’, भेरी अञ्चल अस्पतालको आपत्कालीन कक्षमा उपचारका क्रममा भेटिएका यादवराज चनाराले भने, ‘हिड्दा हिड्दै हिउँले खुट्टा नचल्ने गरी खाइँदियो ।’ यादव गत जेठमा जीविकोपार्जनका लागि श्रीमति अस्मिता, आफ्ना ससुरा शशीराम विक, सालाहरु राजिव, अविलाल तथा आफ्ना दुई सन्तान सहित कारगिल पुगेको थिए । यादवराज दुई सन्तान बाहेक सबैको शरीरमा हिउँले असर पुर्याएको छ । उनीहरु सबै भेरी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । काखका सन्तानलाई आमाले आफु जोखिममै रहेर जोगाएकी छन् ।
यादवराजको परिवारले कमाएर ल्याएको पैसा एक साता भारतमा उपचार गर्दा सकिएको छ । ‘दशैं हाम्रा लागि रहेन, तर उपचार कसरी गराउने भन्ने पिरलो छ’, अस्पतालको शैयाबाट यादवराज भने, ‘कमाएर खानका लागि पनि यो खुट्टाले काम गर्ने हो कि होइन चिन्ता लागि रहन्छ ।’
भारतमा चिकित्सकहरुले दुई महिना उपचार पछि खुट्टाको शल्यक्रिया गर्नुपर्ने बताएको यादवराजले जानकारी दिए । यादवराज मात्रै होइन उनका ससुरा र सालाहरु पनि बेडबाट उठ्न सक्ने अवस्थामा छैनन् । उनीहरु सबैको अवस्था गम्भीर देखिन्छ । ‘भारतमा उपचारका क्रममा पैसा सकियो, सबै बिरामी भएपछि हेरविचार गर्ने पनि कोही भएन’, नेपालसम्म आउन भाडा समेत अरुले तिरिदिएको यादवराजले जानकारी दिए । भारतीय अस्पतालमा उपचारका क्रममा पैसा सकिएपछि डिस्चार्च गरिएका उनीहरु जसोतसो नेपालगन्ज आइपुगेका हुन् ।
अस्पतालमा भेटिएका यादवराजका नातेदार देविलाल चनारा पनि चिन्तित देखिन्थे । ‘कसरी उपचारका लागि पैसा जोहो होला ?’, देविलालले भने, ‘उपचार पछि पनि हात खुट्टा काम गर्न सक्ने अवस्थामा रहला कि नरहला ?’
यादवराजले उपचारका लागि सहयोग अपिल पनि गरेका छन् । ‘कसैले सहयोग गरिदिए हुन्थ्यो’, यादवराजले भने, ‘पैसा छैन, हामी गर्न सक्ने अवस्थामा रहेनौं ।’ उपचार मात्रै होइन अस्पतालमा बस्दा पनि खानका लागि समस्या हुनेमा यादवराज चिन्तित थिए । देविलालले पनि उपचारका पहल गरिदिन आग्रह गरेका छन् । ‘तत्काल उपचारको लागि आर्थिक समस्या हो’, देविलालले भने ।
कारगीलको अति विकट पहाडी भूभागमा ईंटा बोक्ने, बनाउने, घरगोठ बनाउने ठाउँमा मजुदूरी गरेर दैनिक ५ सय रुपिया ज्याला पाउने उनीहरु २१ जनाको समूह दशैं मनाउन घर फर्किंदै थियो । ‘सामान्य अवस्थाकाहरु सबै घर तिर लागे, हामी अस्पताल पुग्यौ,’ हातका सै औंला हिउँमा परेर गुमाएका ५५ वर्षीय शशीरामले दैनिक नेपालगन्जसँग भने, ‘हिंड्न नसकेर हातले टेक्दा हातका औंला पुरै हिउँले खाएको छ ।’ नेपाली मेठ (ठेकेदार) प्रदीप चनाराले उनीहरुलाई जोखिमपूर्ण अवस्थामा कामका लागि कारगील पु¥याएको थियो । ‘हामीसँग त्यसबापत दैनिक ५० रुपिया प्रतिव्यक्ति लिन गरिन्छ,’ हिउँले खाइदिएको खुट्टा देखाउँदै शशीरामले भने । शशीराम ४ महिना काम गरेर दशैं मनाउन घर फर्किएका हुन् ।
भेरी अञ्चल अस्पतालका अनुसार, सबैभन्दा बढी जोखिममा शशीराम छन् । ‘उहाँका दुबै हातका औंला बारे केही भन्न सकिन्न सबै हिउँका कारण मरिसकेको छ,’ डा. अस्मिता गौतमले दैनिक नेपालगन्ज सँग भनिन्, ‘त्यैपनि औंला जोगिन सक्ने वा नसक्ने सिनियरहरुनै भन्न सक्नुहुन्छ ।’ डा. गौतमका अनुसार, समयमा न्यानो पाउन नसक्दा भएको क्षति रोक्न बेलैमा उपचार हुन नसक्दा औंला गुम्ने अवस्था आएको हो । सबैजसोका हातखुट्टामा हिउँले क्षति पु¥याएको अस्पतालले जनाएको छ ।