गत महिनामा मेरो जानकारी आएका ३ घटनाहरुले मलाई अहिलेको युवा पुस्ताले व्यहोरिरहेका अनेक मानसिक स्वास्थ्य जटिलताको अवस्थाका बारेमा ध्यानाकर्षित गरायो । होस्टेलमा बस्दा आफ्ना शिक्षकहरुबाट प्राप्त शारीरिक एंव मानसिक यातनाका कारण प्रतिशोधपुर्ण भावना सहित ज्यानै जोखिममा पार्ने गरी गरिएको प्रयास, प्रेम संबन्धमा उतारचढाव आए पछि जीवन बैराग मानेका कम्प्युटर इन्जिनियरको भोगाई र नेपालगन्ज बजारक्षेत्रको पासाङल्यामु मार्गमा किशोरबाट भएको बलात्कारको घटना । यी घटनाहरुले अहिलेको समयमा युवाहरुमा परेका मनोविकृतिलाई सहज रुपमा चित्रण गर्दछ । पछिल्लो समयमा भएका बलात्कारका अनेंकौ घटना वा आत्महत्या झन् त्यसका प्रतिबिम्वीत चित्रहरुलाई नजरअन्दाज गर्न सकिदैंन ।
यी प्रतिनिधिमूलक घटनाहरु मात्रै हुन् । यस्ता अनेकौ कारणले अहिलेका युवा वर्गमा विभिन्न खालका मनोवैज्ञानिक समस्याहरु देखिएका छन् । फलस्वरुप युवाहरु विभिन्न खालका ‘एन्टी सोसियल विहेभियर’ (गैर सामाजिक व्यवहार) हरु देखाएका पाइन्छ । यस्ता घटनाहरु घट्नुमा अनेकौं कारणहरु लुकेका छन् । जसमा बाल्यकाल, पारिवारिक, सामाजिक अवस्था, बदलिँदो इन्टरनेट दुरुपयोग, घरेलु हिंसा आदी आदी । र यस भन्दा पनि लुकेको कुरा युवाहरुमा भएको ‘मानसिक विचलन’ हो भन्नु पर्दछ । तर यसको मुल जड (कारण) मा हामी परिवार, अभिभावक, समाज र राज्यको ध्यान नजाँदा धेरै ‘दुर्घटना’हरुको अनुभव हामीले गरिरहेका छौं । समयमै यसमा हाम्रो ध्यानाकर्षण गर्न नसकें अझै हामी यस्ता कति–कति ‘दुर्घटना’को साक्षी बन्ने निश्चित प्रायः छ ।
आज विश्व मानसिक स्वास्थ्य दिवस हो । विश्व मानसिक स्वास्थ्य महासंघले सन् १९९२ देखि हरेक वर्ष अक्टोवर १० का दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाउँदै आएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न विषय वा यस क्षेत्रलाई समेट्दै मूलनारा तय गरी मानसिक स्वास्थ्यको क्षेत्रमा जनचेतना जगाउनुका साथै यसको प्रबद्र्धनात्मक क्रियाकलापका र विभिन्न पैरवी÷बहस समेत गर्दै आइरहेको छ । यस वर्ष मनाइने २६ औं विश्व मानसिक स्वास्थ्य दिवसको मूलनारा ‘बदलिदो विश्व परिस्थतिमा युवा र मानसिक स्वास्थ्य’तय गरिएको छ । विश्वभर मनाइने यस दिवसलाई नेपाल सरकार एंव सरोकारवाला निकायले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने गर्दछन् ।
विश्व मानसिक स्वास्थ्य महासंघले यस वर्ष युवा केन्द्रित नारा तय गर्नुमा पक्कै पनि युवाहरुलाई प्राथमिकता दिनुका धेरै कारण छ । किन भने हरेक ५ जना युवा मध्ये १ जनामा अर्थात कुल युवा जनसंख्याको २०% मा मानसिक स्वास्थ्य समस्या हुने गरेको पाईएको छ । तर विश्वको कुल स्वास्थ्य बजेटको ४% बजेट मात्र युवाहरुको मानसिक सुस्वास्थ्यको लागि खर्च गर्ने गरिएको छ । विभिन्न अध्ययनहरुका अनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षदेखि सुरु हुन्छ र २४ वर्षको उमेर सम्म ७५% मानसिक स्वास्थ्य समस्या देखिसकेको हुन्छ ।
माथि उल्लेखित विभिन्न प्रतिनिधिमूलक घटनामा कुनै पनि पात्रलाई यो ‘मानसिक विचलन’का कारणले आएको हो र मानसिक स्वास्थ्य उपचार वा मनोपरामर्श सेवा लिनुपर्र्दछ भन्नेमा गम्भिरता देखिएको पाइएन्् । उनीहरुलाई मानसिक स्वास्थ्य समस्या भनेको केवल ‘सडकमा हिड्ने अवस्था’ भन्ने बुझाइ छ । उनीहरुको पनि दोष रहेन्, चेतनाको अभावले त्यस्तो हुन पुग्यो । सुझावका बावजुद पनि यसलाई उनका परिवार र नजिकका समाजले नकारेको महसुस मैले गरेको छु ।
आत्महत्याको अवस्था नेपालमा विकराल नै देखिन्छ, यसमा पनि नेपालको अवस्था हेर्ने हो भनें नेपाल प्रहरीको आर्थिक वर्ष २०६१÷०६२ देखि २०७१÷०७२ सम्म गरि १० वर्षको तथ्यांक हेर्दा २९ हजार ९ सय ५ जनाले आत्महत्या गरेको पाईएको छ । आत्महत्याको दर बढदै गएर आ.व. २०७३÷०७४ मा ५ हजार १ सय २४ र आ.व. २०७४÷०७५ मा ५ हजार ३ सय ४६ जना व्यक्तिहरुले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक भएको छ । जस अनुसार १ दिनमा लगभग १२ देखि १४ जना मानिसहरुले आफ्नो जीवन आफैले समाप्त पारिरहेका छन् । विभिन्न तथ्य र खोजहरुले के कुरालाई स्पष्ट देखाएको छ भने विश्वभरिमा प्रत्येक १० मिनेटमा यौनजन्य, लैङ्गिक तथा अन्य खालको हिंसाको कारणले १ जना किशोरीको मृत्यू हुने गरेको छ । तथ्याङ्कका अनुसार १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोश्रो कारण आत्महत्या पाईएको छ । जुन कुल आत्महत्याको ७५% आत्महत्या निम्न तथा मध्यम आयस्तर भएका देशहरुमा हुने गरेको छ ।
वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु ४० प्रतिशत रहेका छन् । किशोर–किशोरी अवस्था र त्यसमा पनि १४ देखि २८ वर्ष उमेर समूह भनेको जीवनको महत्वपूर्ण समयको रुपमा लिइन्छ । तर आफ्नो जीवनमा भोगिएका विभन्न अप्रत्यासित नमिठा अनुभुतिहरु, आघातजन्य घटना, लैङ्गिक हिंसा, समाजिक विभेद, साथीहरुबाट खिसीट्यूरी, शारीरिक परिवर्तन, घर, समाज, विद्यालय र कलेजको बातावरण, अरुको हाइफाइको सिको गर्ने बानी, आर्थिक विपन्नता आदि जस्ता कारणले युवाहरुले निरन्तरको तनाव तथा चूनौतीहरुको सामना गर्नु परिरहेको हुन्छ । विद्यालय परिवर्तन हुँदा, नयाँ कलेजमा भर्ना हुँदा, घर छोडेर बाहिर जाँदा, नयाँ कामको थालनी गर्दा आवश्यक समायोजन सम्वन्धी सीपको अनुभव नहुँदा र तनाव व्यवस्थापन संबन्धी ज्ञानको अभावले उनीहरुले अप्ठ्यारो महशुस गरिरहेका हुन्छन् । धेरैले यस्ता परिवर्तनलाई सजिलै स्वीकार गर्न सक्छन् र रमाइलो पनि मान्छन् । तर जो कोहीले यस्ता परिवर्तित अवस्थालाई आत्मसात् गर्न सक्दैनन् र फलस्वरुप विभन्न मानसिक विचलनको सिकार बन्न पुग्दछन् । जसले गर्दा उनीहरुको उनीहरुको भावना, व्यवहार, सोचाईमा फरक खालको अनुभूति तथा परिवर्तन हुने गर्छ र आफ्नो दैनिक क्रियाकलापमा समेत यस्ता कुराले समस्या ल्याउन गर्दछ । परिणामस्वरुप उनीहरुमा मानसिक तथा मनोसामाजिक समस्या देखापर्दछ ।
नेपालमा युवाहरु मानसिक स्वास्थ्य समस्याका बारेमा यकिन अनुसन्धान नभए पनि लगभग २२ लाख बढि युवाहरु यस्तो खालको समस्याबाट प्रभावित छन् भनेर आँकलन गरिएको पाइन्छ । विद्यालय वा कलेज जान नमान्ने, बिचैमा पढाइ छाड्ने, सिक्न मन नगर्ने, सानो तनावलाई पनि व्यवस्थापन गर्न नसक्ने, वेहोस हुने समस्या देखिने, डिप्रेशन, निराशाजन्य समस्या बढ्दै जादा आत्माहत्याको प्रयास गर्ने, कुलतमा फस्ने, अपराधिक क्रियाकलाप संलग्न र वा दुरुपयोग हुने लगायतका विभन्न समस्याहरु युवाहरुमा बढ्दै गइरहेको पाइन्छ । युवाहरुमा महत्वकाक्षी हुनुका साथै छिट्टै प्रगतिको शिखरमा पुग्ने सपना देख्ने स्वभाव हुन्छ । उनीहरुमा विभिन्न त्यसका प्राप्तिका लागि लागि पर्ने स्वभावले सकरात्मक नभएमा, प्राप्त गर्न नसकेमा मानसिक विचलन आइ अनेक दुर्घटनाहरुका सिकार बन्दछन् । जसको सजाय उनीहरुले प्रत्यक्ष पाए पनि अप्रत्यक्ष रुपमा घर, परिवार र राज्यले पाएको हुन्छ । भविष्यका रुपमा सोंचिएका ती युवाहरुले सजायको भागिदार हुँदा घर, परिवार र राज्यले जुन झन् ठुलो सजाय पाइरहेका छन् ।
अझै पनि मानसिक स्वास्थ्य समस्या आएमा अधिकांश युवाहरुले त्यसको समाधानको लागि मनोचिकित्सक, चिकित्सा मनोविद्, मनोविद्, मनोपरामर्शकर्ता वा सो संबन्धि अन्य विज्ञको सहयोग लिएको पाईदैन । उनीहरु आफ्नो मानसिक सुस्वास्थ्यको प्रबद्र्धन गर्ने तथा मानसिक स्वास्थ्य समस्या आएमा त्यसको समाधानको लागि यी विज्ञको सहयोग लिने गरेको पाईदैन । विद्यालय वा कलेजमा मनोपरामर्श ईकाई स्थापना गरी किशोरकिशोरी तथा युवाहरुलाई मनोपरामर्शको माध्यमबाट उनीहरुको सिकाइ, व्यतिmगत तथा सामाजिक क्षेत्रको विकास एवं व्यावसायिक विषय छनौटमा सहयोगलाई केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको छ । त्यसैगरी जीवनउपयोगी सीपहरु जस्तैः आत्मबल कसरी बढाउने, निर्णय क्षमताको विकास गर्ने, समायोजन सीपको विकास गर्ने, जीवनका सामान्य तनाव तथा संवेगलाई कसरी व्यवस्थापन गर्ने, समस्या आएमा त्यसको समाधानको लागि कसरी सहयोग लिने, व्यक्तिगत सुरक्षा सम्बन्धि सीप कसरी विकास गर्ने भन्ने हामी वयस्क भनिएकाहरु, घर, परिवार र राज्यले सिकाउन जरुरी छ ।
किशोर किशोरी तथा युवाहरुको मनको अलमल, अप्ठ्याराहरु एवं पीर, चिन्ता र तनावलाई समानुभुतिपूर्वक सुन्ने संस्कारको विकास घरपरिवार, विद्यालय, कलेज र कार्यालयमा गर्ने, सकारात्मक अनुशासनका विकल्पहरुको प्रयोग गरी शारीरिक तथा मनोवैज्ञानिक सबै खालका दण्डको अन्त्य गर्ने, साथै अभिभावकहरुलाई उनीहरुका छोराछोरीहरुको असल बानी ब्यवहारको विकास गर्न उनीहरुलाई मनोशिक्षा प्रदान गर्न सकियो भने मात्र उनीहरुको मानसिक सुस्वास्थ्यमा प्रबद्र्धन गर्न सकिन्छ र यसले मानसिक स्वास्थ्य समस्याको रोकथाम गर्न सहयोग पुर्याउँदछ ।
परिवार र नजिकका मानिसहरुबाट उनीहरुको मनमा चलिरहेको कुरा सुन्ने तत्परता र सामथ्र्यको विकास गर्नु अर्को पाटो हो । युवाहरुसंग वयस्कहरुले खुलेर कुरा नगर्नु, आफ्ना भावनात्मक एंव संवेगात्मक अभिव्यक्तहरु व्यक्त गर्न नपाई आफु भित्रै दबाएर राख्नु, यौनजिज्ञासा बारेको कुण्ठा वा आफ्नो बच्चा भएका पछिल्ला परिवर्तनहरुका बारेमा चासो नदेखाइदा उर्जावान युवाहरुको मानसिकता नै फरक रुपमा अझ भनौं नकरात्मक रुपमा गइरहेको छ ।
युवा अवस्था, निकै उत्साहपुर्वंक र उर्जावान समय मानिन्छ । भनिन्छ युवा अवस्था एक पटक मात्रै हुने हो तर राम्रो संग कार्य गरे यो एक पटक नै काफि छ । तर यो अवस्था समालिन नसक्दा नै पुरै जिन्दगी ‘तवाही’ भएका धेरै उदाहरणहरु हाम्रै छर छिमेकमा धेरै छन् । यस अर्थमा पनि बेलायतका पूर्व प्रधानमन्त्री विन्जामिन डिज्राइलीले भने झैं “राज्यका युवाहरु समृद्धिका जिम्मेवार मानिस हुन् ।” अतः समृद्धिका लागि युवाको मानसिक सुस्वास्थ्यको अपरिहार्यता महत्वपूर्र्ण छ । यस बारे स्थानिय सरकारलाई झक्झकाउँदै उनीहरु भन्दा पनि एक कदम अघि सरेर हामी युवाहरुको भावनालाई सम्मान गर्दै उनीहरुलाई सुनौं, सम्मान गरौं र राम्रा कुराको खुलेर प्रशंसा गरौं । खराबलाई पनि सकरात्मक रुपले चिरेर उनीहरुको उर्जावान समयलाई ‘सीनर्जि एफेक्ट’ बनाउन सके मात्रै राज्यले सोंचेको सम्वृद्धि सम्भव छ ।