खरिददारी गर्दै हो ? होशियार ! म्याद नाघेका बस्तु पर्लान्

बजारमा म्याद नाघेका र लेवल नभएका बस्तुको बिगबिगी भएपछि अनुगमनमा निस्किएको सरकारी टोलीले कतिपय पसलमा ताला लगाइदिएको छ ।

 

नजिकिंदो चाडपर्वको बेला बजारमा तपाई कुनै सामान खरिद गर्दै हुनुहुन्छ भने होस् पु¥याउनु होला । नत्र तपाई म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन वस्तुहरुको मारमा पर्न पनि सक्नुहुनेछ । तपाईले घर ल्याएको अखाद्य हुन पनि सक्छ ।

 
संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा म्याद नाघेका र लेवल नभएका गुणस्तरहीन वस्तुहरु पनि पसलमा बिक्री वितरणका लागि राखेको पाइएकोले उपभोक्ताहरु सचेत हुनु पर्ने देखिएको हो । नेपालगन्जका बजारमा म्याद नाघेका र गुणस्तरहीन बस्तुहरु पनि बिक्री बितरणका लागि राखेको पाइएको अनुगमनमा संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

 
अनुगमन गरिएका बसपार्क लाइनका प्रायजसो सबै किराना पसलमा म्याद नाघेका सामाग्रीहरु भेटिएको गौतमले जानकारी दिए । अनुगमन गरिएका केही पसलमा म्याद नाघेका बस्तुका साथै उत्पादन र उपभोग्य मिति उल्लेख नभएका गुणस्तरहीन बस्तु पनि बिक्री बितरणका लागि राखेको पाइएको गौतमले बताए । एकै किराना पसलमा नियम बिपरित खाद्य बस्तुका साथै मदिराजन्य र सुतिजन्य पदार्थ पनि बिक्री बितरण गरेको फेला परेको उनले बताए ।

 
संयुक्त बजार अनुगमन टोलीले आइतबार गरेको अनुगमनका क्रममा बसपार्क लाइनका किराना पसलहरुमा गरेको अनुगमनमा क्रममा मदिराको पसलमा समेत खाद्य बस्तुको विक्री बितरण भएको, होटलमा अनुमति बेगर मदिराको बिक्री बितरण गरिएको पाएको जनाएको छ । नेपालगन्जको बसपार्क लाइनमा दर्ता नगरि गैर कानूनी रुपमा ब्यवसाय सञ्चालन गरिहेका दुई किराना पसललाई कानून सम्मत रुपमा दर्ता नगरेसम्म ब्यवसाय संचालन नगर्न आदेश दिई पसल बन्द गराइएको अनुगमनमा संलग्न वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।

 
अनुगमन टोलीले पुष्पलाल चोक आसपासका पसलमा अनुगमन गर्दा समेत म्याद नाघेका, लेवल नभएका गुणस्तरहीन बस्तुहरु बिक्री बितरण गरेको पाएको जनाएको छ । किराना पसलमा गैर कानूनी रुपमा सुतिजन्य पदार्थ बिक्री बितरण गरेको, आफुखुसी मुल्य राखी खाद्य बस्तुहरुको बिक्री बितरण गरेको अनुगममा टोलीले जानकारी दिएको छ ।

 
अनुगमन टोलीले म्याद नाघेका र लेवल नभएका सबै खाद्य तथा पेय पदार्थको नष्ट गरि आइन्दा म्याद नाघेका बस्तुहरु बिक्री बितरण नगर्न, बढी मुल्य लिएर सामानको बिक्री बितरण नगर्न, पसलमा मुल्य सुचि राख्न, पसलमा साइन बोर्ड लगाउन, एकै सपलमा खाद्य सामाग्री र मदिरा र सुतिजन्य पदार्थको बिक्री बितरण नगर्न, सम्बन्धित निकायमा दर्ता गरि कानून सम्मत रुपमा ब्यापार ब्यवसाय संचालन गर्न समेत आदेश दिएको वाणिज्य आपुर्ति तथा उपभोत्ता संरक्षण कार्यालयका निमिक्त कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

 
अनुगमन टोलीमा वाणिज्य आपुर्ति तथा उपभोत्ता संरक्षण कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता बसन्त गौतम, सचिव प्रभात कुमार ठकुरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत बिवेक सुवेदी र खाद्य निरिक्षक नेत्र बोगटी, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अम्मरराज सिजवाल र वडा प्रहरी कार्यालय नेपालगन्जका असई राम बहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।

 
नजिकिदो चाडवाड संगै कालोबजारी हुने, म्याद नाघेका र गुणस्तरहिन बस्तुको बिक्री बितरण हुन सक्ने भएकाले उपभोक्ता सचेत भई बस्तु तथा सेवाको गुणस्तरियता, मुल्य र लेवलका बारेमा राम्रो संग बुझेर मात्र सामान खरिद गर्न उपभोक्ता अधिकारकर्मी बसन्त गौतमले आम उपभोक्तामा आग्रह गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया